
काठमाडौँ, १० जेठ । स्थापनाको चौथो वार्षिकोत्सव मनाइरहँदा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान भण्डारखालले चिकित्साशास्त्रतर्फ एमबिबिएस र नर्सिङका वार्षिक परीक्षामा अरु प्रतिस्पर्धीलाई पछि पारेको छ ।
उक्त संस्थानमा हाल एमबिबिएसतर्फ पाँच समूहमा गरी ५७८ छात्रछात्रा अध्ययनरत छन् ।
त्यस्तै, प्रमाणपत्र, स्नातक र बिएस्सी नर्सिङमा गरी उक्त संस्थानमा हाल ३४१ जना छात्रा नर्सिङ महाविद्यालयमा अध्ययन गरिरहेको संस्थानले जनाएको छ ।
एमबिबिएस र नर्सिङ विषयमा भर्नाका लागि लिएको प्रारम्भिक परीक्षामा उत्तीण हुनेमध्ये उत्कृष्ट छात्रछात्राको पहिलो रोजाइ नेपाली सेना स्वास्थ्य विज्ञान संस्था नै पर्ने गरेको छ ।
विश्वविद्यालयले लिने वार्षिक परीक्षाको नतिजाले उक्त संस्थानमा अध्ययनरत विद्यार्थीलाई नै अब्बल सावित गरेपछि विद्यार्थीको भर्नाको रोजाइमा पर्दै आएको हो ।
त्यहाँ अध्ययनरत विद्यार्थी वार्षिक परीक्षाको नतिजामा मात्रै होइन, अरु ज्ञान, सीप र अनुशासनमा समेत पहिलो श्रेणीमा प्रथम नै हुने गरेका छन् ।
नेपाली सेनाका बहालवाला, भूपू, गैरसरकारी तथा विदेशी गरी उक्त संस्थानमा हाल ९१९ छात्रछात्रा अध्ययन गरेकामा संस्थानले उनीहरुमध्ये जेहेन्दार तथा आर्थिक स्थिति कमजोर भएका विद्यार्थीलाई झन्डै वार्षिक रुपमा रु छ करोड बराबरको छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ ।
स्वास्थ्य क्षेत्रमा जनताको पहुँच स्थापित गर्न संस्थानले आफ्नो क्षमता अभिवृद्धि गर्दै लैजाने उद्देश्य अघि सारेको छ । सैनिक कल्याणकारी कोषबाट सञ्चालित नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान गैर नाफामूलक संस्थाका रुपमा सञ्चालन हुँदै आएको छ । विश्वविद्यालयबाट हुने गरेको मूल्याङ्कनमा पनि उक्त संस्थानले सबैभन्दा उच्चतम अङ्क प्राप्त गरेको छ ।
वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानसेनापति राजेन्द्र क्षत्रीले विश्वविद्यालयले तोकेका सबै मापदण्ड पूरा गरेर अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धामा गौरव गर्न योग्य जनशक्ति उत्पादनमा ध्यान पुरयाउन संस्थानका पदाधिकारीलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो–“स्वास्थ्य क्षेत्रमा राष्ट्रको आवश्यकतालाई मध्यनजर गर्दै थप कार्यक्रम सञ्चालन गरिनेछ ।”
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा तीर्थ खनियाले छोटो अवधिमै उत्कृष्ट नतिजा हासिल गर्न सफल उक्त संस्थानबाट अब चिकित्साशास्त्रतर्फ एमडी र एमएसका कार्यक्रम सञ्चालन गर्न आवश्यक छ भन्नुभयो ।
संस्थानका कार्यकारी निर्देशक प्राडा प्रकाशराज पाण्डेले संस्थाले प्रमाणपत्र तहमा स्वास्थ्य विज्ञानसहित पाँच विषय, एमएस्सी नर्सिङका कक्षा निकट भविष्यमै सञ्चालन गर्ने लक्ष्य लिइएको जानकारी दिनुभयो ।
संस्थानका सहकार्यकारी निर्देशक अवकाशप्राप्त सहायकरथी भैरवकुमार हमाल, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका निमित्त डिन विमलकुमार सिन्हा, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा धर्मकान्त बास्कोटा, नेपाल नर्सिङ काउन्सिलका अध्यक्ष चन्द्रकला शर्मा र चिकित्साशास्त्र महाविद्यालयका प्रिन्सिपल सहायक रथी गजेन्द्र श्रीवास्तवले वीरताको इतिहास बोकेको तथा अनुशासन र व्यावसायिकताको पहिचान राखेको नेपाली सेनाले सञ्चालन गरेको स्वास्थ्य विज्ञान संस्थानबाट उत्पादन हुने जनशक्ति प्रतिस्पर्धामा कुनै पनि हिसाबले दोस्रो हुने छैनन् भन्नुभयो ।
समारोहमा विश्व विद्यालयद्वारा वार्षिक रुपमा सञ्चालित चिकित्साशास्त्र र नर्सिङ सङ्कायका तर्फका विभिन्न तहका परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने छात्रछात्रालाई नगद पुरस्कार एवम् प्रमाणपत्र प्रदान गरिएको थियो ।
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?