भूकम्पपीडितलाई वर्षायामभित्रै छानामुनि ल्याउँछौँ– प्रधानमन्त्री

1463058440945_RS_KTM_160512_IMG_1588

काठमाडौँ,३० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपीडित जनतालाई सामूहिक आवास बनाएर आउँदो वर्षायामअघि नै छानामुनि ल्याउने प्रतिबद्धता दोहोरयाउनुभएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले तयार पारेको ‘भूकम्पपश्चात्को पुनःनिर्माणसम्बन्धी पञ्चवर्षीय योजना’ (पिडिआरएफ) को खाका आज सार्वजनिकीकरण गर्दै प्रधानमन्त्री ओलीले दुई वर्षभित्र भूकम्पबाट क्षतिग्रस्त सबै निजी घर निर्माण गरिने बताउनुभयो ।

भूकम्प प्रभावित जनतालाई व्यस्थापन गर्ने क्रममा अशक्त, महिला, बालबालिका, वृद्ध, बिरामीलाई प्राथमिकतामा राखिने प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभयो ।

अन्तर्राष्ट्रिय दातृनिकायका प्रतिनिधिको उपस्थितिमा आयोजित उक्त कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पिडिआरएफको खाकाअनुसार पुनःनिर्माण गरिने क्षेत्र र रकमकाबारेमा विस्तृत जानकारी गराउनुभयो ।

पिडिआरएफअनुसार पुनःनिर्माण सन् २०१६ देखि सुरु भई २०२० सम्म सम्पन्न हुने र योजनाअनुसार सामाजिक क्षेत्रमा रु ६ खर्ब ४५ अर्ब, उत्पादक क्षेत्रमा रु एक खर्ब ६ अर्ब, पूर्वाधार क्षेत्रमा रु ६१ अर्ब र सामाजिक सुरक्षामा रु २६ अर्ब गरी जम्मा रु ८ खर्ब ३८ अर्ब रकम विनियोजन गरिने बताउनुभयो ।

योजनाको खाकाले भूकम्पपश्चात्को पुनःनिर्माण तथा पुनःस्र्थापनाका निम्ति सम्बन्धित सरकारी, गैरसरकारी एवम् निजी क्षेत्रका साथै दातृ समुदाय तथा सम्पूर्ण सरोकारवालालाई स्पष्ट मार्ग चित्र प्रदान गर्ने उहाँको धारणा थियो ।

योजनाले मूलतः पुनःनिर्माण तथा पुनःस्थापना कार्यका निम्ति आवश्यक पर्ने नीतिगत एवम् संरचनागत व्यवस्थाका साथै कार्यान्वयन प्रक्रिया तथा वित्तीय व्यवस्थापनका सम्बन्धमा मार्गदर्शन गरेको छ ।

यो योजना पिडिएनएका आधारमा तयार गरिएको हो । पिडिएनए प्रतिवेदन मूलतः क्षतिको अवस्था आँकलन गर्ने र सबैको सहयोग जुटाउन सहयोगी होस् भन्ने उद्देश्यले तयार पारिएको थियो भने यो योजनाको संसद्द्वारा किटान गरिएको समयावधिभित्र के कसरी योजनाको कार्यान्वयन गर्ने भन्ने कुरामा केन्द्रित छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री