काठमाडौँ, २६ असोज । प्रमुख राजनीतिक दलहरुबीच कुरा नमिल्दा भूकम्प गएको पाँच महिना बितिसक्दा पनि भूकम्पपछिको पुनःनिर्माणको काम अगाडि बढ्न सकेको छैन ।
भूकम्पपछिको पुनःनिर्माणका लागि सरकारले गठन गरेको ‘राष्ट्रिय पुनःनिर्माण प्राधिकरण’ले कानुनी मान्यता नपाउँदा पुनःनिर्माणको कार्य अन्योलमा परेको हो ।
तत्कालीन सरकारले प्रस्तुत गरेको पुनःनिर्माण प्राधिकरणसम्बन्धी विधेयक पारित हुन नसक्दा पुनःनिर्माणको काम प्रभावित हुँदै आएको छ । गत असार १० गते राजधानीमा सम्पन्न पुनःनिर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई लक्षित गरेर तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले गत असार ६ गते प्राधिकरण गठनसम्बन्धी अध्यादेश ल्याएको थियो । पुनःनिर्माण प्राधिकरणसम्बन्धी अध्यादेश जारी भएपछि बसेको संसद्को बैठकले सोसम्बन्धी ऐन नबनाएपछि प्राधिकरणको वैधता सङ्कटमा परेको हो ।
सरकारले भूकम्पपछिको पुनःनिर्माण गर्न प्राधिकरण गठनसम्बन्धी प्रतिस्थापनको प्रस्ताव संसदमा दर्ता गराएपनि प्रमुख राजनीतिक दलबीचमा सहमति हुन नसकेपछि विधेयक पारित हुन नसकेको हो । सो विधेयक संशोधनका लागि नेकपा (एमाले) का तर्फबाट एक दर्जनभन्दा बढी र एकीकृत नेकपा (माओवादी) का तर्फबाट चारवटा संशोधन प्रस्ताव परेपछि विधेयक पारित नभएको हो ।
प्रमुख दलहरुले भूकम्पपछिको पुनःनिर्माण कार्य आफ्नो प्राथमिकतामा परेको र त्यसका लागि प्रमुख दलबीच सहमति हुनुपर्ने रटान लगाएपनि व्यवहारमा त्यो देखिदैन । नेपाली काँग्रेस अध्यादेश यथास्थिति मै छिटो पारित होस् भन्ने चाहन्छ भने एमाले र एमाओवादीले त्यसमा संशोधनको प्रस्ताव दर्ता गराएपछि पारित हुन ढिलाइ भएको हो ।
प्राधिकरण गठनमा ढिलाइ हुने सङ्केत
यसैबीच, सरकार परिवर्तन भएसँगै प्राधिकरण गठनमा झन् ढिलाइ हुने सङ्केत देखिएको छ । कानुनअनुसार अध्यादेश जारी भएपछि बसेको संसद्को पहिलो बैठकले ६० दिनभित्र अध्यादेशलाई प्रतिस्थापन गरी ऐन बनाउनुपर्छ । म्यादभित्र प्रतिस्थापन नभए अध्यादेश स्वतः निष्क्रिय हुन्छ ।
सरकारले अध्यादेशअनुसार नै गत साउन २८ गते राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेललाई प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत र सदस्यका रुपमा डा तारानिधि भट्टराईलाई नियुक्त गरेको थियो । प्रधानमन्त्रीको अध्यक्षतामा रहने सो प्राधिकरणमा गृह, अर्थ, पर्यटन र सहरी विकासमन्त्री सदस्य रहने प्रावधान छ ।
प्रमुख दलबीच प्राधिकरण गठनमा भागवण्डाका लागि लामो हानथाप भएको र त्यसैको परिणाम संसदबाट पारित हुन नसकेको यही असोज २४ गते प्रधानमन्त्रीको निर्वाचनका क्रममा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले संसदमा पोखेको गुनासोबाट थाहा हुन्छ ।
उहाँले पुनःनिर्माण प्राधिकरण विधेयक पारित हुन नदिएर सदनमा असहयोग भएको गुनासो गर्नुभएको थियो । नेपाली काँग्रेसका सभापतिसमेत रहनुभएका कोइरालाले भूकम्पपछिको पुनःनिर्माणका लागि सहमतिका लागि साथ ल्याइएको पुनःनिर्माण प्राधिकरण गठनसम्बन्धी प्रस्तावलाई सत्तापक्षका दलबाटै असफल बनाइएको जानकारी गराउनुभएको थियो ।
गत वैशाख १२ गते गएको ‘गोरखा भूकम्प’का कारण आठ लाखभन्दा बढी घर तथा आवास क्षतिग्रस्त भएका थिए । भूकम्पका कारण आठ हजार ८९० जनाको निधन भएको थियो भने २२ हजारभन्दा बढी व्यक्ति घाइते भएका थिए ।
सरकारले व्यवस्थापिका–संसद्मा गत भदौ १५ गते भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माणसम्बन्धी विधेयक, २०७२ लाई प्रस्तुत गरेको थियो । प्रमुख राजनीतिक दलकाबीच सो विधेयकका सम्बन्धमा सहमति जुट्न नसकेका कारण पारित हुन सकेन ।
सदनमा सो विधेयकमाथि छलफल लम्बिने भन्दै भूकम्पपछिको पुनःनिर्माणको कामलाई प्रभावकारी रुपमा अगाडि बढाउन वैकल्पिक व्यवस्था गर्ने भने पनि सरकारले कुनै पनि काम अगाडि बढाएको छैन । सरकारले गठन गरेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसम्बन्धी अध्यादेश गत भदौ ११ गते नै निष्क्रिय भएको थियो ।
यही असोज २४ गते संसद्मा प्रधानमन्त्रीको निर्वाचनका क्रममा प्रमुख दलका सबै शीर्ष नेताले भूकम्पपछिको पुनःनिर्माण गर्न सहमतिको आवश्यकता पर्ने भन्दै आफ्नो प्राथमिकतामा रहेको उद्घोष गरेका थिए । एमालेका अध्यक्षसमेत रहनुभएका केपी शर्मा ओलीले पनि प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै पुनःनिर्माण कार्य नयाँ सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा