
काठमाडौँ। तत्कालीन माओवादी जनयुद्धका क्रममा राज्यद्वारा बेपत्ता पारिएका योद्धाहरूलाई अविलम्ब सार्वजनिक गर्न पीडित परिवार तथा सरोकारवालाले जोड दिएका छन्। बेपत्ता योद्धा परिवार समाजद्वारा आयोजित अन्तर्क्रिया कार्यक्रममा बेपत्ता पारिएका नागरिकको सार्वजनिकीकरणको प्रश्न र सङ्क्रमणकालीन न्यायका विषयमा सहभागीले धारणा राखेका थिए।
कार्यक्रममा नेकपा नेतृ एवम् पूर्वमन्त्री पम्फा भुसालले जुनसुकै सरकार आए पनि बेपत्ता नागरिक सार्वजनिक गर्न र शान्तिप्रक्रियाको काम टुङ्गो लगाउन विलम्ब गर्नु नहुने बताइन्। भुसालले प्रचण्ड प्रधानमन्त्री हुँदा जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गरिए पनि बेपत्ताको काम पूरा गर्न बाँकी रहेको बताइन्।
संविधानसभा सदस्यसमेत रहेका एमाले नेता कृष्णभक्त पोखरेलले बेपत्ता नागरिक सार्वजनिक गर्न असाध्यै ढिलाइ भएको बताए। पोखरेलले शान्तिप्रक्रियाको काम टुङ्गो लगाउन सबै दल एक ठाउँ हुनुपर्ने बताए। कार्यक्रममा बेपत्ता परिवारका तर्फबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारीले शान्ति प्रक्रिया नटुङ्गिए दिगो शान्ति कायम नहुने बताए। भण्डारीले न्याय नपाउन्जेलसम्म सबै पीडितहरू न्यायका लागि एक हुनुपर्ने बताए।
नागरिक अगुवा सुन्दरमणि दीक्षितले सङ्क्रमणकालीन न्यायका विषयमा अहिलेको सरकार र मुख्य सरोकारवाला दलहरू नै बेखबर रहेको बताए। दीक्षितले बेपत्ता योद्धाहरूको योगदानलाई राज्यले सदैव स्मरण गर्नुपर्ने बताए।
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सचिव ध्रुवकुमार चौहानले आयोग पदाधिकारीविहीनताबाट गुज्रिरहेको हुनाले कामको गतिमा व्यवधान आएको बताए। आयोगले जेठ ७ गतेलाई राज्यको तर्फबाट ‘बेपत्ता राष्ट्रिय स्मृति दिवस’ घोषणा गर्न सिफारिस गरेको चौहानले बताए। राष्ट्रिय मानव अधिकार आयोगका वरिष्ठ मानव अधिकार अधिकृत खिमानन्द बस्यालले बेपत्ता नागरिकको स्थिति सार्वजनिक गर्न राज्य थप गम्भीर हुनुपर्ने बताए।
त्यसैगरी बेपत्ता योद्धा पुष्पराज बस्नेत र धीरेन्द्र बस्नेतका परिवारका सदस्य सुरेन्द्र बस्नेतले अहिलेसम्म राज्यले बेपत्ता योद्धाको सास र लास दुवै नदिएको बताए। बस्नेतले भने- ‘जसको बलिदानले आज मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र बहाली भयो, स्वयम् उनीहरूको स्थिति सार्वजनिक नहुनु लज्जास्पद विषय हो।’
कार्यक्रममा नेकपा (माओवादी) का माइला लामा, नेकपा (बहुमत) का दीपक चलाउने, डा. रामबहादुर भण्डारी, नवराज ढुङ्गाना लगायतले अविलम्ब बेपत्ता योद्धा सार्वजनिक गर्न माग गरे। वि.सं. २०५९ साल असार ३ गते एकै दिन तत्कालीन राज्यद्वारा बेपत्ता पारिएका विपिन भण्डारी, दिलबहादुर राई, रामहरि रुपाखेती, कृष्णबहादुर बस्नेत र देवराज पौडेलको स्मरणमा कार्यक्रम आयोजना गरिएको हो।
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
विश्वकप फुटबल : अर्जेन्टिनाको विजयी सुरुआत, अल्जेरिया पराजित
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
बेलायतका रक्षामन्त्री जोन हेलीद्वारा राजीनामा