लन्डन । दसौं अल्बमको रेकर्डिङ लगभग सम्पन्न गरेर साँगीतिक समूह नेपथ्य आगामी प्रस्तुतिका निम्ति बुधबार लण्डन आइपुगेको छ । यहाँस्थित वेम्ली एरिनामा दुई वर्षअघि दर्शकको अपार स्नेह बटुल्न सफल यो टोलीले यसै शनिबार अर्को ख्यातीप्राप्त हल ‘ओ टु ब्रिक्सटन’मा आफूलाई प्रस्तुत गर्दैछ ।
नेपाली लोकगीतलाई नयाँ पुस्ताका श्रोतासँग जोड्दै ल्याएको नेपथ्यले बेलायतमा यो दोश्रोपटक आफूलाई प्रस्तुत गर्नलागेको हो । नेपाल र बेलायतबीच दौत्य सम्वन्ध स्थापनाको दुई सयऔं वार्षिकोत्सवमा पनि यो समर्पित छ ।
नेपालसँग सबैभन्दा पुरानो कुटनीतिक सम्वन्ध राख्दैआएको बेलायत हामीसँग लामो समयदेखि सामाजिक, आर्थिक र साँस्कृतिक हिसाबले नजिक छ । लाहुर जाने परम्पराले उतिबेलादेखि अहिलेसम्म पनि निरन्तरता पाइरहेकै छ । त्यसबाहेक पछिल्लो समय शैक्षिक अवसरका निम्ति ठूलो संख्यामा नेपाली विद्यार्थीहरु बेलायत आउन थालेका छन् ।
ओ टु ब्रिक्सटन कार्यक्रमको थप आकर्षण नयाँ अल्बमबाट प्रस्तुत हुने चारवटा गीत रहनेछ ।
त्यसैमध्येको एउटा गीतको बोल छ–
‘नैनाताल नैनाताल, घुमिआयो रेल
आँखामा लाउने कालो गाजल, बुलबुलेमा तेल
नैनाताल’
यो गीतका शब्द र भाकाहरु लाहुरे परम्पराबाट विकास भएको हो । तिनै लाहुरे जसले दुईवटै विश्वयुद्धमा बेलायतको पक्षबाट लडेका थिए । घरपरिवारभन्दा निकै परको मैदानमा अनिश्चित भविष्य बोकेर हिँड्दैगर्दा रंगीविरंगी सपनाहरुको संसार बनाउने लाहुरेले अनगिन्ती गीतहरु जन्माएका थिए । त्यसैको प्रतिनिधित्व गर्ने नेपथ्यको यो कान्छो संकलन बेलायतमा सर्वाधिक बसोबास गर्ने नेपाली लाहुरे परिवारको निम्ति ब्याण्डको तर्फबाट नयाँ उपहार पनि हुनेछ ।
‘यो गीत मेरा काका–बाजे र मावल खलकतिर सुनेरै हुर्केको हुँ,’ गायक गुरुङ भन्छन्, ‘मलाई माया गर्ने बेलायतका दर्शकसमक्ष यो सौगात प्रस्तुत गर्न हुटहुटी भइसकेको छ ।’
बेलायतमा यतिबेला झण्डै डेढ लाख नेपाली बसोबास गरिरहेका छन् । आफूसँगै आफ्नो भाषा, भेष र पहिचान बोकेर गएका उनीहरु नेपालीपन प्रति गौरव गर्छन् । त्यही गौरव र प्रेमले लोकगीतमा आधारित सिर्जनामार्फत् नेपथ्यलाई उनीहरुसँग नजिक्याएको छ ।
‘मैले फेरि पनि बेलायतका नेपालीहरुबाट त्यस्तै माया पाउने विश्वास लिएको छु,’ अमृत भन्छन्, ‘हामी फेरि एकपटक पहिले जस्तै एकाकार भएर गाउनेछौं ।’
शनिबारको शोलाई ‘इलाइट इभेन्ट्स्’ले आयोजना र संयोजन गरिरहेको छ ।
‘यो कार्यक्रम ओ टु ब्रिक्सटनको क्यालेण्डरअन्तर्गत वेबसाइटमा हालिएको छ, जसबाट अनलाइन टिकट बुकिङको समेत व्यवस्था छ,’ आयोजक समूहका विजय गुरुङ भन्छन् ।
http://www.o2academybrixton.co.uk/event/75675/nepathya-live-in-concert-tickets/Details
बेलायतमा प्रस्तुतीका निम्ति १० जना सदस्यसहित ब्याण्ड यता आइपुगेको हो । स्टेजमा भने अमृतलाई सँधैझैँ उनका साथीहरु ड्रममा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाउने छन् ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते