एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले यही मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।

गैरआवासीय नेपालीसम्बन्धी ऐन, २०८३ को प्रस्तावित मस्यौदामा समेटिएका प्रावधानका विषयमा कार्यक्रम गर्न लागिएको हो । कार्यक्रम सोमबार २५ मेमा दिउँसो १ बजे अल्डरसटस्थित एम्पायर हलमा हुने छ ।

कार्यक्रम विभेदकारी नागरिकता विधेयक प्रवासी नेपाली तथा गोर्खालीहरुको अधिकार र वंशजवको नागरिकता जोगाउने अबको राजनीतिक बाटोबारे साझा धारणा निर्माणमा केन्द्रित हुने एनआरनएए यूकेका अध्यक्ष प्रेम गाहा मगरले जानकारी दिनुभएको छ । उहाँले कार्यक्रममा बेलायतस्थित विभिन्न संघ–संस्थाहरूको सहभागिता रहने बताउनुभयो ।

प्रस्तावित मस्यौदामा विदेशमा आर्जन गरेको सम्पत्तिमा ५० प्रतिशतसम्म कर लगाउन सकिने जस्ता विषयहरू मात्र नभई, गैरआवासीय नेपालीको पहिचान र आत्मसम्मानसँग जोडिएका मौलिक अधिकारहरूमा समेत अंकुश लगाउन खोजिएको एनआरएनएले जनाएको छ ।

नेपाल सरकारमाथि राजनीतिक दबाब सिर्जना गर्न र यी विभेदकारी बुँदाहरू हटाउनका लागि विश्वभर रहेका नेपालीहरूको एकता अहिलेको प्रमुख आवश्यकता बनेको अध्यक्ष गाहा मगरको जोड छ ।

जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम साझा अधिकारका लागि उठ्ने एउटा बलियो सामूहिक आवाज हुने भन्दै अध्यक्ष गाहा मगरले उक्त सभाबाट निकालिने निष्कर्ष र सुझावहरूलाई नेपाल सरकारसमक्ष प्रभावकारी रूपमा प्रस्तुत गरिने योजना रहेको जानकारी पनि दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री