पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन

लन्डन । पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न भएको छ ।

पर्वतका गरिब तथा जेहेन्दार विद्यार्थीहरुको सहयोगार्थ बेलायतको अल्डरसटस्थित एम्पायर हलमा शनिबार च्यारिटी डिनर सम्पन्न भएको हो । बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको प्रमुख आतिथ्य र समाजका अध्यक्ष सुरज पौडेलको सभापतित्वमा कार्यक्रम भएको हो । कार्यवाहक राजदूत दुवाडीले गरिब जेहेन्दार विद्यार्थीका लागि आर्थिक सहयोग प्रदान गर्ने संस्थाको पहलकदमी सरहानीय रहेको बताउनुभयो । उहाँले समाजमा आवद्ध दिग्गज व्यक्तित्वहरुले विगत र अहिले गर्दै आएका सामाजिक कार्य अरुलाई प्रेरित गर्ने खालका रहेको समेत बताउनुभयो ।

सम्बोधनका क्रममा समाजका पूर्वअध्यक्ष पुरन गिरीले यस संस्थाले गरेका विभिन्न सामाजिक कामको फेहरिस्त प्रस्तुत गर्दै समाजबाटै धेरैले आफ्नो पहिचान स्थापित गरेको बताउनुभयो । ‘म सामान्य सेफ थिएं, काम गर्दै गर्दा मलाई व्यवहारिक बनाएको यही संस्थाले हो’, उहाँले भन्नुभयो, ‘यही संस्थाले मलाई व्यापारी बनायो, कुल आचार्यलाई एनआरएन अध्यक्ष बनायो, हितकाजी गुरुङलाई समाजसेवी र दधी आचार्यलाई ग्लोबल पर्वत समाज अध्यक्ष बनायो ।’

एनआरएनए आइसीसी पूर्वअध्यक्ष एवं समाजका सल्लाहकार कुल आचार्यले बालेन्द्र शाह नेतृत्वको सरकारलाई बधाई दिंदै नयां सरकारले समृद्ध नेपाल बनाएर नेपालीहरु विदेशिनु नपरोस् भन्ने कामना गर्नुभयो ।

समाजका संस्थापक अध्यक्ष हितकाजी गुरुङले पहिला पर्वत वेलफेयर सोसाइटी यूके नाममा रहेको संस्था पछि च्यारिटीमा दर्ता गरि पर्वत समाज यूके नामाकरण गरिएको जनाउनुभयो । उहाँले संस्था स्थापनाको उद्देश्य र विगत स्मरण गर्दै सबैको सामूहिक प्रयासबाट संस्था विस्तार हुँदै गएको बताउनुभयो ।
ग्लोबल पर्वत समाजका नवनियुक्त अध्यक्ष दधी आचार्यले नेपाली नयां वर्षको शुभकामना दिंदै पर्वतका गरिव जेहेन्दार विद्यार्थीलाई सहयोग गर्ने समाजको कार्य निकै सरहानीय भएको बताउनुभयो ।

अध्यक्ष सुरज पौडेलले नयाँ वर्षको शुभकामना दिँदै विदेशमा रहे पनि आफूहरुको मन, भावना, आत्मा जन्मभूमि पर्वत जिल्लाप्रति जोडिएको बताउनुभयो ।

कार्यक्रममा समाजले विभिन्न व्यक्तित्वहरुलाई उनीहरुको योगदानका लागि सम्मान गरेको छ । ग्लोबल पर्वत समाजका नवनियुक्त अध्यक्ष दधी आचार्य र उपाध्यक्ष ढाका भट्टराई, युरोप संयोजक अप्सरा लामिछाने गुरुङ, पर्वतेली सफल व्यवसायी पुरन गिरी, हितकाजी गुरुङ, सल्लाहकारहरु क्या. रि. लालबहादुर गुरुङ, मेजर रि. कृष्ण गुरुङ, जुमकाजी गुरुङ, नेत्र आले, ज्ञाम गुरुङ, कुसुम गुरुङ एवं डा. विशाल गुरुङ सम्मानित हुनुभयो । उहाँहरुलाई कार्यवाहक राजदूत विपिन दुवाडी, समाजका अध्यक्ष सुरज पौडेल, श्रीमती एलिसा सुवेदी लगायतले सम्मान प्रदान गर्नुभएको थियो ।

शैक्षिक सफलता प्राप्त गर्ने सलु थापा, स्थानीय कलाकार कृतिका आचार्य तथा नेपालबाट आएका राष्ट्रिय कलाकारहरु कृष्ण सुवेदी, सोनी कुँवर र निरा थापा मगरलाई समेत सम्मान गरियो ।

कार्यक्रम सञ्चालक सुस्मिता थापाले हेल्थ एण्ड सेफ्टी ब्रीफ गरेपछि समाजका उपाध्यक्ष सन्जयध्वज भण्डारीले स्वागत मन्तव्य दिनुभएको थियो । त्यस अवसरमा ‘राफल ड्र’ समेत खेलाइएको थियो ।

च्यारिटी डिनरबाट खर्चसहित झण्डै १४ हजार पाउण्ड जुटेको अध्यक्ष पौडेलले जानकारी दिनुभयो । कार्यक्रममा बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि, कलाकार, मिडियाकर्मी र कार्यसमिति सदस्यहरुको उल्लेखनीय उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री