बेलायतको बोर्नमथमा क्यान्सर सचेतना कार्यक्रम सम्पन्न

बोर्नमथ । डोर्सेट नेप्लिज सोसाइटीले बोर्नमथमा क्यान्सरसम्बन्धी जागरण अभिवृद्धि गर्ने उद्देश्यले एक विशेष क्यान्सर सचेतना कार्यक्रम सम्पन्न गरेको छ।

वेसेक्स क्यान्सर एलायन्सको कम्युनिटी एगेन्स्ट क्यान्सर कोषबाट प्राप्त सहयोगमा ४ जनवरी २०२६ मा क्यान्सर सचेतना कार्यक्रम भएको हो । कार्यक्रममा करिब ६० जना स्थानीय नेपाली समुदायका सदस्यहरूको सहभागिता थियो ।

कार्यक्रममा सहभागीहरूलाई क्यान्सरका जोखिम कारक, रोकथामका उपाय, प्रारम्भिक जाँच (स्क्रिनिङ)को महत्त्व तथा दक्षिण एसियाली समुदायमा देखिने सांस्कृतिक र व्यवहारगत अवरोधबारे विस्तृत जानकारी प्रदान गरिएको सोसाइटीका कार्यकारी सदस्य तथा बोर्नमथ विश्वविद्यालयका इन्टरनेशनल हेल्थका प्रिन्सिपल एकेडेमिक डा.प्रमोद रेग्मीले जानकारी दिनुभयो ।

उहाँले विश्व, बेलायत र नेपाली समुदायमा क्यान्सरको वर्तमान अवस्थाबारे तथ्यसहित प्रस्तुति दिनुभयो । उहाँले क्यान्सरको बढ्दो दरका कारण दक्षिण एसियाली समुदायमा सचेतना अत्यन्तै आवश्यक रहेको उल्लेख गर्दै स्क्रिनिङ र प्रारम्भिक निदानमा सांस्कृतिक तथा व्यवहारिक अवरोधहरू अझै चुनौतीका रूपमा रहेको बताउनुभयो ।

त्यसैगरी, बेलायतको सरकारी स्वास्थ्य सेवाका जीपी रजिस्ट्रार डा.विपिन सापकोटाले क्यान्सरका क्लिनिकल पक्ष, जोखिमका कारक, लक्षण तथा रोकथामका उपायबारे जानकारी प्रस्तुत गर्नुभयो । उहाँले दक्षिण एसियाली समुदायमा क्यान्सरबारे फैलिएका भ्रम हटाउन र सही जानकारी पुर्‍याउन यो कार्यक्रम प्रभावकारी अवसर बनेको बताउनुभयो । दुई घण्टा लामो कार्यक्रममा डोर्सेट नेप्लिज सोसाइटीका सचिव विक्की सापकोटाले सहजीकरण गर्नुभएको थियो ।

उक्त सत्रमा अन्तरक्रियात्मक हाजिरीजवाफ, खुला छलफल तथा समुदायमा प्रचलित क्यान्सरसम्बन्धी मिथकहरूबारे स्पष्टीकरण गरिएको थियो, जसले सहभागीहरूलाई सामान्यतया ‘बर्जित’ मानिने प्रश्नहरू पनि सहज रूपमा राख्न प्रोत्साहित गर्‍यो ।

सोसाइटीका अध्यक्ष तुलसी फुँयालले कार्यक्रमलाई समुदायमा दीर्घकालीन परिवर्तन ल्याउने महत्त्वपूर्ण कदमका रूपमा वर्णन गर्दै स्वास्थ्य चुनौतीहरू समाधान गर्न सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो । सांस्कृतिक भ्रमका कारण नियमित क्यान्सर जाँचमा बाधा पुग्ने तथ्यलाई उल्लेख गर्दै आयोजकहरूले सामुदायिकस्तरमै स्वास्थ्य शिक्षा र सशक्तिकरणलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

सोसाइटीले आगामी मार्चको सुरुमा अर्को क्यान्सर सचेतना तथा स्वास्थ्य प्रवर्द्धन सत्र आयोजना गर्ने तयारी गरेको जनाएको छ।

कार्यक्रमका लागि स्थान तथा व्यवस्थापन सहयोग उपलब्ध गराएकोमा २९०२९ रेस्टुरेन्टलाई आयोजकहरूले धन्यवाद व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री