काठमाडौँ । नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशिला कार्कीको सिफारिशमा प्रतिनिधिसभा विघटन गर्नुभएको छ ।
राष्ट्रपतिले यही भदौ २७ गते शुक्रबार रातको ११ बजेदेखि लागू हुने गरी वर्तमान प्रतिनिधिसभाको विघटन गर्नुभएको राष्ट्रपति कार्यालयका उपसचिव रुपेशजंग थापा मगरद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिका अनुसार नयाँ प्रतिनिधिसभाको निर्वाचनका लागि आगामी फागुन २१ गते बिहीबारका लागि मिति तोकिएको छ । विसं २०७९ मा गठन भएको प्रतिनिधिसभा राजनीतिमा आएको परिवर्तनसँगै आफ्नो कार्यकाल पूरा नगरी विघटन भएको छ ।
त्यसअघि अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषद्को पहिलो निर्णयका रूपमा संसद् विघटनको सिफारिस गरिएको थियो । कार्की शुक्रबार नै प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि विकसित पछिल्लो राजनीतिक घटनाक्रमबीच कार्कीले शु्क्रबार राति नै प्रधानमन्त्री पदको शपथ पनि लिनु भयो ।
संविधानको धारा ६१ को उपधारा ३ र ४ मा अन्तर्निहित राष्ट्राध्यक्षको अधिकार प्रयोग गरी राष्ट्रपति पौडेलले कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो । नेकपा एमालेबाट प्रधानमन्त्री बन्नुभएका केपी शर्मा ओलीले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएपछि त्यसको विरुद्धमा जेनजीले भदौ २३ गते आन्दोलन गरेको थियो । भ्रष्टाचार अन्त्यको समेत माग लिएर भएको आन्दोलनमाथि सरकारले फेरि दमन गर्दा सोही दिन १९ जना युवायुवतीले ज्यान गुमाए । २४ गते सिंहदरबार, संघीय संसद्, अदालतलगायत अर्बौंको भौतिक संरचनामा तोडफोड र आगजनी भयो ।
आन्दोलन चर्किएपछि प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिन बाध्य हुनुभयो । सोही राति १० बजेदेखि नेपाली सेना परिचालन गर्दै देशको सुरक्षाको जिम्मा सुरक्षा निकायले आफ्नो हातमा लिएको हो । सेनाले निषेधाज्ञा र कर्फ्युलाई परिस्थिति अनुसार खुकुलो बनाउँदै शनिबारबाट हटाइएको छ ।