नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल

‘प्रधानमन्त्रीले २०८३ जेठ १७ गते सङ्घीय संसद्मा नेपालको सीमासम्बन्धी विषयमा जवाफ दिने क्रममा नेपालको सीमाङ्कन सन् १८१६ को सुगौली सन्धिसँग प्रत्यक्ष रूपमा सम्बन्धित भएकाले मित्रराष्ट्र संयुक्त अधिराज्यको नाम उल्लेख गर्नुभएको हो,’
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले ऐतिहासिक सन्धि–सम्झौता तथा नक्साका आधारमा नेपाल–भारत समस्याको समाधान कूटनीतिक संवाद र वार्तामार्फत नेपाल प्रतिबद्ध रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो भारतको भ्रमण र प्रधानमन्त्री वालेन्द्र शाहले सदनलाई यही जेठ १७ गते गर्नुभएको सम्बोधन तथा नेपाल–भारत सीमालगायत विषयमा स्पष्ट पार्दै उहाँले नेपाल तथा भारतबीच रहेको घनिष्ठ सम्बन्धको मर्म र भावनाअनुरूप सो समस्या समाधान गरिने बताउनभुयो ।

राष्ट्रिय हित केन्द्रित परराष्ट्र नीति र अन्तरराष्ट्रिय सम्बन्धलाई प्राथमिकतामा राखेर वर्तमान सरकार अघि बढिरहेको जनाउँदै मन्त्री खनालले मित्र राष्ट्रहरूसँगका द्विपक्षीय संयन्त्रहरूलाई क्रियाशील बनाउँदै राष्ट्र हित र आर्थिक कूटनीतिलाई प्रवर्द्धन गर्ने दिशामा महत्त्वपूर्ण कदम लिइएको बताउनुभयो । सङ्घीय संसद्को प्रतिनिधिसभा बैठकमा परराष्ट्रमन्त्रीले गर्नुभएको सम्बोधनको पूर्णपाठः

सम्माननीय सभामुखज्यू,
माननीय सदस्यज्यूहरू,

नेपालको संविधान, अन्तरराष्ट्रिय सम्बन्ध एवं परराष्ट्र नीति सञ्चालनका मार्गदर्शक सिद्धान्त एवम् उद्देश्यहरूप्रति हामी प्रतिबद्ध छौँ । सरकारले सुशासन र आर्थिक समृद्धि हासिल गर्ने विषयलाई प्राथमिकतामा राखी काम गरिरहेको छ ।

नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वतन्त्रता, स्वाधीनताको रक्षा र नेपाली नागरिकको सुरक्षा र हकहित संरक्षणलगायत समग्र राष्ट्रिय हितको प्रवर्द्धन गर्ने गरी मैले नेतृत्व गरेको परराष्ट्र मन्त्रालयबाट निरन्तर कामकारबाही भइरहेको छ ।

मन्त्रालयबाट सम्पादित कामका सम्बन्धमा विभिन्न समयमा यस सम्मानित संसद् र सम्बन्धित समितिहरूमा जानकारी गराउँदै आएको र यो क्रम जारी रहने बेहोरा पनि म निवेदन गर्न चाहन्छु ।

यसै सिलसिलामा हालै मैले सम्पन्न गरेको भारतको भ्रमण र सम्माननीय प्रधानमन्त्रीज्यूले यस सम्मानित सदनलाई २०८३ जेठ १७ गते गर्नुभएको सम्बोधन तथा नेपाल–भारत सीमालगायत विषयमा जानकारी गराउन चाहन्छु ।

सम्माननीय सभामुखज्यू,
माननीय सदस्यज्यूहरू,

भारतका विदेशमन्त्री महामहिम डा एस जयशङ्करको सौहार्दपूर्ण निमन्त्रणामा भारतको तीनदिने औपचारिक भ्रमण सम्पन्न गरी म २०८३ जेठ २४ काठमाडौँ फर्केको छु ।

गत फागुनमा सम्पन्न निर्वाचनपछि गठित नयाँ सरकारको औपचारिक प्रतिनिधित्व गर्दै भएको पहिलो उच्चस्तरीय भ्रमणबाट नेपाल र भारतबीचको मैत्रीपूर्ण र बहुआयामिक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याएको मैले विश्वास लिएको छु ।

सो भ्रमणका क्रममा ६ जुन २०२६ मा नयाँ दिल्लीमा भारतका विदेशमन्त्री महामहिम डा एस जयशङ्करसँग औपचारिक भेट र प्रतिनिधिमण्डलस्तरीय वार्ता सम्पन्न भएको छ । दुवै देशका प्रतिनिधिमण्डलबीच नेपाल–भारत द्विपक्षीय सम्बन्धका सम्पूर्ण पक्षहरूमा व्यापक तथा उपलब्धिमूलक छलफल भएको छ ।

द्विपक्षीय वार्तामा व्यापार तथा आर्थिक सहकार्य, कनेक्टिभिटी, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन, साझा सुरक्षा, सीमा व्यवस्थापन, खेलकुद र जनस्तरीय सम्बन्ध अभिवृद्धिजस्ता विषयहरूमा ठोस छलफल भएको छ । दुवै पक्षले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै, विभिन्न क्षेत्रीय तथा अन्तरराष्ट्रिय मुद्दाहरूमा समेत विचार आदान–प्रदान गरिएको छ ।

नेपाल–भारतबीच द्विपक्षीय सहकार्यमा सञ्चालित परियोजनाको प्रगति समीक्षा गर्नुका साथै तिनलाई थप प्रभावकारी बनाउने उपायहरूबारे पनि महत्त्वपूर्ण छलफल भएको छ ।

बैठकका क्रममा हामीले तीन वटा संयुक्त घोषणासमेत गरेका छौँ :
(क) एनसिएचएल र एनपिसिआई बीच जुन २०२३ मा हस्ताक्षर गरिएको समझदारीपत्रअन्तर्गत अन्तरदेशीय भुक्तानी P2P लेनदेनको सञ्चालन ।

(ख) नेपालमा भूकम्पपछि भारतको विकास सहयोगमा पुनर्निर्माण सम्पन्न भएका परियोजनाहरूको हस्तान्तरण ।

(ग) Voice First भाषा अनुवाद प्लेटफर्मको राष्ट्रिय डिजिटल पूर्वाधारको सह–निर्माणका लागि काठमाडौँ विश्वविद्यालय स्कूल अफ इन्जिनियरिङ डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर एण्ड आर्टिफिसियल इन्टेलिजेन्स सेन्टर र डिजिटल इन्डिया भाशिनी डिभिजनबीच समझदारी पत्र ।

उक्त भ्रमणका क्रममा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग समेत भेटघाट र छलफल भयो । उक्त बैठकमा नेपाल र भारतका साझा सुरक्षा चासो, सीमा व्यवस्थापन तथा दुई देशबीचको रणनीतिक साझेदारीका विभिन्न पक्षहरूमा विचार आदानप्रदान भयो ।  

भ्रमणकै क्रममा इन्डिया फाउन्डेसनद्वारा नयाँ दिल्लीमा आयोजित एक विशेष कार्यक्रममा प्रबुद्ध व्यक्तित्वहरूको समूहलाई मैले सम्बोधन गर्ने अवसर पाएँ । उक्त कार्यक्रममा मैले नेपालको परराष्ट्र नीतिका प्राथमिकताहरूका बारेमा प्रकाश पार्दै सहभागीहरूसँग ऊर्जा, व्यापार, सीमालगायत साझा चासोका विषयहरूमा केन्द्रित रही अन्तरक्रिया समेत गरेँ ।

त्यसैगरी नेपाली दूतावास, नयाँ दिल्लीको भ्रमण गरी दूतावासका पछिल्ला कामकारबाहीबारे दूतावास परिवारसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै भारतमा नेपाल र नेपालीको हितको रक्षाका लागि प्रतिबद्ध भएर लाग्न निर्देशन दिएको छु । साथै, दूतावासमा आयोजित मिडिया अन्तरक्रियामा भारतमा रहेका सञ्चारमाध्यमसँग छलफल गरी हाम्रा प्राथमिकताबारे पनि जानकारी गराएको छु ।

यस भ्रमणका क्रममा भएका छलफल र उच्चस्तरीय भेटघाटहरूले नेपाल र भारतबीचको कूटनीतिक र आर्थिक सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउनुका साथै आगामी दिनमा आपसी हितका क्षेत्रहरूमा परिणाममुखी सहकार्य अघि बढाउन बलियो आधार तयार गरेको मैले महसुस गरेको छु ।

नेपालको सन्तुलित, स्वतन्त्र र बहुआयामिक परराष्ट्र नीतिलाई थप सशक्त ढङ्गले अभिव्यक्त

प्रतिक्रिया

सम्बन्धित सामाग्री