संविधान संशोधनमा एनआरएनएले माग्यो विश्वभरका नेपालीको राय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संविधान संशोधनसम्बन्धी बहसपत्र तयारीका लागि विदेशस्थित नेपाली समुदायसँग सुझाव आह्वान गरेको छ ।

संघकी उपाध्यक्ष तथा वेलफेयर अफ एनआरएनए डिपार्टमेन्ट प्रमुख रोजिना प्रधान राईले “एक पटकको नेपाली, सधैंको नेपाली” भन्ने अवधारणा, नागरिकताको निरन्तरता, संविधानको धारा २९१ खारेज तथा विदेशस्थित नेपालीहरूको मतदान अधिकार सुनिश्चित गर्नुपर्ने विषयमा केन्द्रित भएर सुझाव माग गरिएको जानकारी दिएकी छन्।

संघले नेपाल सरकारले गठन गरेको संविधान संशोधन बहसपत्र तयारी कार्यदलसमक्ष पेस गरिने सुझावलाई व्यवस्थित बनाउन विभिन्न वस्तुनिष्ठ तथा छलफलमुखी प्रश्नसमेत सार्वजनिक गरेको छ । संघले संविधान संशोधनसम्बन्धी सुझाव नेपाल समयअनुसार मे २८ भित्र [email protected] मा पठाउन आग्रह गरेको छ ।

प्रश्नहरू यस्ता छन्
“एक पटकको नेपाली सधैंको नेपाली” भन्ने अवधारणालाई संविधानमै समावेश गर्नुपर्नेमा तपाईंको धारणा के छ?
विदेशको नागरिकता लिएपछि पनि वंशजको नेपाली नागरिकता कायम रहने व्यवस्था संविधानमा हुनुपर्छ भन्ने विषयमा तपाईं सहमत हुनुहुन्छ?
विदेशमा रहेका नेपालीहरूको मातृभूमिसँगको भावनात्मक सम्बन्ध मजबुत बनाउन संविधानमा कस्ता व्यवस्था आवश्यक छन्?
नेपाली मूलका विदेशी नागरिक तथा उनीहरूका सन्ततिलाई नेपाली नागरिकसरह आर्थिक, सामाजिक, सांस्कृतिक तथा प्रशासनिक अधिकार दिनुपर्छ भन्ने प्रस्तावप्रति तपाईंको धारणा के छ?
विदेशी नागरिकता लिँदैमा नेपाली नागरिकता स्वतः खारेज हुने हालको व्यवस्था हटाउनुपर्छ भन्ने विषयमा तपाईंको सुझाव के छ?
ब्रिटिस गोर्खा लगायत विदेशमा रहेका नेपालीहरूले भोगिरहेका नागरिकता सम्बन्धी समस्यालाई संविधान संशोधनमार्फत समाधान गर्नुपर्ने आवश्यकता कत्तिको देख्नुहुन्छ?
संविधानको धारा १४ मा गैरआवासीय नेपालीको नागरिकता निरन्तरतासम्बन्धी स्पष्ट व्यवस्था राख्नुपर्छ भन्ने विषयमा तपाईंको धारणा के छ?
संविधानको धारा २९१ खारेज गर्नुपर्ने प्रस्तावप्रति तपाईं सहमत हुनुहुन्छ?
ग्रिनकार्ड, पीआर वा अन्य आवासीय अनुमति पत्रकै आधारमा नेपाली नागरिकलाई मौलिक अधिकारबाट वञ्चित गर्नु उचित हो भन्ने लाग्छ?
विदेशमा बसोबास गर्ने नेपालीहरूको आत्मसम्मान र राष्ट्रसँगको सम्बन्ध सुदृढ बनाउन संविधानमा के–कस्ता सुधार आवश्यक छन्?
विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार व्यवहारिक रूपमा सुनिश्चित गर्नुपर्छ भन्ने विषयमा तपाईंको धारणा के छ?
विदेशमै बसेर मतदान गर्न पाउने व्यवस्था संवैधानिक रूपमा सुनिश्चित गरिनुपर्छ भन्नेमा तपाईं कत्तिको सहमत हुनुहुन्छ?
विदेशस्थित नेपालीहरूको मतदान अधिकार कार्यान्वयनका लागि कस्तो प्रणाली उपयुक्त हुन्छ भन्ने तपाईंको सुझाव के छ?
गैरआवासीय नेपालीहरूको नेपालको लोकतान्त्रिक प्रक्रियामा सहभागिता बढाउन संविधानमा के–कस्ता व्यवस्था आवश्यक छन्?
नेपालको विकासमा गैरआवासीय नेपालीहरूको योगदानलाई संविधानले पर्याप्त रूपमा सम्बोधन गरेको छ भन्ने लाग्छ?
संविधान संशोधनमा गैरआवासीय नेपालीका सरोकारमध्ये सबैभन्दा प्राथमिकतामा राख्नुपर्ने विषय कुन हो?
गैरआवासीय नेपालीका अधिकार विस्तार गर्दा राष्ट्रिय हित र सार्वभौमिकताको सन्तुलन कसरी कायम गर्न सकिन्छ?
संविधान संशोधनमार्फत गैरआवासीय नेपालीका अधिकार सुनिश्चित गर्दा सम्भावित चुनौतीहरू के–के हुन सक्छन्?
गैरआवासीय नेपालीहरूलाई नेपालको आर्थिक, सामाजिक तथा राजनीतिक विकासमा अझ प्रभावकारी रूपमा जोड्न कस्ता संवैधानिक व्यवस्था आवश्यक छन्?
संविधान संशोधनसम्बन्धी गैरआवासीय नेपालीका सरोकारमा तपाईंका थप सुझाव वा धारणा के छन्?

प्रतिक्रिया

सम्बन्धित सामाग्री