आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी

लन्डन । बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीले आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर रहेको बताउनुभएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ बेलायतले संस्थाको कोष अभिवृद्धिका लागि आइतबार अल्डरसटस्थित एम्पायर हलमा आयोजना गरेको च्यारिटी डिनर नाइट कार्यक्रममा सम्बोधन गर्दै कार्यवहाक राजदूत दुवाडीले जनजातीका मुद्दामा सरकार गम्भीर रहेको र नेपाली दूतावास सधैं खुल्ला रहने बताउनुभएको हो ।

उहाँले नयाँ सरकारले आदिवासी जनजाती अधिकारका लागि राम्रो काम गर्ने विश्वास पनि व्यक्त गर्नुभयो । उहाँले आदिवासी जनजातीहरुले बेलायतमा जातजातीको पहिचान एवं नेपाली पर्व, भाषा, भेषभूषा, गरगहना आदि जोगाइरहेको र नेपाललाई जोडिरहेको बताउनुभयो ।

कार्यक्रमका सभाध्यक्ष नेफिन यूके अध्यक्ष मेजर योगेश कोयी राईले च्यारिटी नाइटको उद्देश्य संस्थाका वार्षिक कार्यक्रमलाई आर्थिक सहयोग जुटाउन र अप्ठेरो परेकालाई सहयोग गर्न, आर्थिक कोष अभिवृद्धिका लागि रहेको बताउनुभयो । उहाँले आफ्नो संस्थाले वार्षिक रुपमा अन्तर्राष्ट्रिय आदिवासी मेला, आदिवासी फिल्म अवार्ड, देउसी भैलो र भाषा संस्कृति प्रवर्धनजस्ता गतिविधि गर्दै आएको अवगत गराउनुभयो । उहाँले आदिवासी पहिचान, भाषा, संस्कृति र अधिकार संरक्षणमा लाग्न आवश्यक रहेकामा जोड दिनुभयो ।

बेलायतमा स्थानीय निर्वाचनमार्फत रिफर्म यूकेको उदय र नेपालमा बालेन सरकारले गैर आवासीय नेपालीले सम्पत्ति बेच्दा कर लगाउने जस्ता प्रावधान राखेर ऐन ल्याउन लागेको प्रति संकेत गर्दै प्रवासका नेपाली चेपुवा पर्ने खतरा बढेकाले यसविरुद्ध संयुक्त रुपमा आवाज उठाउनु पर्ने आवश्यकता औंल्याउनुभयो ।

मन्तव्यका क्रममा तमु धीं यूके अध्यक्ष जुमकाजी गुरुङले नयाँ पुस्तालाई मातृभूमि, जातजाती, धर्मसंस्कृति, संस्कार, भाषा, भेषभूषा आदि हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभयो ।

किरात राई यायोख्या यूकेका अध्यक्ष मेजर रि. तिलबहादुर राईले नेफिन यूकेले आदिवासी जनजाती अधिकारका लागि आवाज बुलन्द पारिरहेको बताउनुभयो ।

किरात याक्थुङ चुम्लुङ यूके अध्यक्ष कमला लिम्बुले पहिचान, संस्कृति, संस्कार नयां पुस्तालाई हस्तान्तरण गरेर अगाडि लैजाने संस्थाको साझा उद्देश्यप्रति ऐक्यबद्धता जनाउनुभयो ।

मगर संघ यूके अध्यक्ष लालबहादुर पुनले सामाजिक हितमा काम गर्ने उद्देश्यले आयोजित च्यारिटी डिनर प्रशंसनीय भएको बताउनुभयो ।

कार्यक्रममा नेफिन यूके निवर्तमान अध्यक्ष एवं प्रमुख सल्लाहकार कर्मा पहाडी शेर्पा, वरिष्ठ सल्लाहकार भक्त दुरा, संस्थाका संस्थापक अध्यक्ष थर्क राना, एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर, एनआरएनए आइसीसी उपाध्यक्ष विश्वासदीप तिगेलालगायतले मन्तव्य राख्नुभएको थियो ।

उक्त अवसरमा सांगीतिक प्रस्तुति र विशेष सम्मान प्रदान गरियो । कार्यक्रम संयोजक मेजर रि. इन्द्रप्रसाद राईले स्वागत मन्तव्य एवं ‘हेल्थ एण्ड सेफ्टी ब्रीफ’ गर्नुभएको थियो ।

महासचिव फारामबहादुर दुराले सञ्चालन गरेको औपचारिक कार्यक्रममा समाजका विभिन्न लब्ध प्रतिष्ठित तथा बौद्धिक व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । त्यसक्रममा जातीय संस्थाहरुका प्रमुख, नवनिर्वाचित काउन्सिलरहरु, शैक्षिक क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने व्यक्तित्वहरु, सामाजिक अभियन्ताहरु, कलाकारहरु, मिडियाकर्मीहरुलाई प्रमुख अतिथि कार्यवाहक राजदूत दुवाडी र नेफिन यूके अध्यक्ष मेजर योगेश राईले सम्मान प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री