
लन्डन । तमु समाज यूकेले २५७०औं बुद्ध जयन्ती तथा बुद्ध पूर्णिमाको पावन अवसरमा भव्य स्वस्ती शान्ति पूजा सम्पन्न गरेको छ ।
शनिबार २ मे २०२६ मा लन्डन वेम्बलीस्थित बरहाम पार्कमा रहेको तमु समाज यूकेको आफ्नै सामुदायिक भवनमा आमा समूहको सक्रियतामा धार्मिक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम अध्यक्ष बिन्दु कुमारी गुरुङ घलेको सभापतित्व र धार्मिक सचिव हरिमान गुरुङको संयोजकत्वमा सम्पन्न भएको थियो।
प्रमुख अतिथि तथा प्रमुख धर्मगुरुका रूपमा बुद्धिष्ट गुम्बा रेडिङका मुख्य गुरु खेन्पो पाल्देन गुरुङ (श्याम गुरुङ) उपस्थित हुनुहुन्थ्यो । दक्षिण भारतको प्रसिद्ध नमडोलिङ गुम्बाबाट बौद्ध दर्शनमा उच्च शिक्षा (खेन्पो) हासिल गरेका गुरु पाल्देन गुरुङसँगै रिडिङ निवासी लामा अखिल गुरुङको विशेष उपस्थितिमा पूजा सञ्चालन गरिएको थियो ।
खेन्पो पाल्देन गुरुङ (पर्वत, आर्थर डाँडाखर्क) गुरुङ (तमु) लामा बौद्ध धर्म संघका केन्द्रीय सदस्य तथा रुम्जाटार बौद्ध गुम्बाका प्रमुख लामासमेत हुनुहुन्छ।

कार्यक्रमस्थलमा प्रमुख अतिथि तथा धर्मगुरुहरूलाई भव्य स्वागत गरिएको थियो । त्यसपछि अध्यक्ष बिन्दु कुमारी गुरुङ घले, संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ तथा आमा समूहकी अध्यक्ष बिमला गुरुङले संयुक्त रूपमा दीप प्रज्वलन गरी कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।
कार्यक्रममा पूर्वअध्यक्ष शिवशरण गुरुङ, निवर्तमान अध्यक्ष शिवकुमार गुरुङ, उपाध्यक्षहरू भिमबहादुर गुरुङ, केदारबहादुर गुरुङ, मिरा गुरुङ, आमा समूहकी पूर्वअध्यक्ष उमादेवी गुरुङ, सल्लाहकारहरू, युवा समूहका अध्यक्ष प्रज्वलमान गुरुङ, निवर्तमान अध्यक्ष ओमकार गुरुङलगायत पदाधिकारी, सदस्य, आमा समूहका दिदीबहिनी, युवा समूहका सदस्य तथा लन्डन वरपरका नेपाली ज्येष्ठ नागरिक र भक्तजनहरूको उल्लेख्य उपस्थिति थियो ।
बुद्ध जयन्ती पूजाको परम्परा निरन्तर
सन् २००७ मा स्थापना भई २०१२ मा बेलायतको च्यारिटी कमिसनमा दर्ता भएको तमु समाज यूकेले स्थापनाकालदेखि नै प्रत्येक वर्ष वैशाख पूर्णिमा तथा बुद्ध जयन्तीको अवसरमा बुद्ध जयन्ती पूजा गर्दै आएको छ।
यस वर्ष पनि आमा समूहको सक्रियतामा कार्यक्रम सम्पन्न गरिएको थियो । आमाहरूले नै विभिन्न परिकार तयार गरी नि:शुल्क भोजन व्यवस्था गरेका थिए।
पूजाका लागि धेरै दानवीरहरूले अर्थ, भोजन, पेय पदार्थ तथा अन्य सामग्रीहरू स्वस्फूर्त रूपमा प्रायोजन गरेका थिए ।
बिहान १० बजे आरम्भ भएको पूजामा प्रमुख गुरु खेन्पो पाल्देन गुरुङले उपस्थित सबैलाई बुद्ध जयन्तीको शुभकामना व्यक्त गर्दै पूजाको आचारसंहिता पालना गर्न आग्रह गर्नुभएको थियो । पूजामा सहभागी सबैलाई पूजा अवधिभर मौन बस्न र पूजा भावलाई मननपूर्वक बुझ्न अनुरोध गरिएको थियो, जसले पूजा फल प्राप्तिमा महत्त्वपूर्ण योगदान पुग्ने बताइएको थियो ।
पूजामा क्रमशः शुद्धिकरण (साङ पूजा), विश्वशान्तिको कामनासहित दीप अर्पण, बुद्ध स्नान (कुठ्युई), धर्म दर्शन तथा प्रवचन, आयुसूत्र पाठ, पितृहरूको स्मरणमा दीप अर्पणलगायतका विधि सम्पन्न गरिएको थियो ।
कुठ्युई तमु/गुरुङ समुदायमा प्रयोग हुने शब्द हो, जसले लिटल बुद्ध स्नान—बालक बुद्धको मूर्तिलाई सुगन्धित पानी वा पवित्र जलले स्नान गराउने धार्मिक विधि—लाई जनाउँछ । बुद्धको जन्म क्षणलाई प्रतीकात्मक रूपमा सम्झने यो परम्परा बुद्ध जयन्तीको महत्त्वपूर्ण अङ्ग मानिन्छ।
धर्मदेशनामा खेन्पो गुरुले पञ्चशीलको महत्त्वबारे विस्तृत व्याख्या गर्दै बुद्धका उपदेशहरू व्यवहारमा उतार्न सबैलाई आग्रह गर्नुभएको थियो । पञ्चशीलको अवहेलनाले व्यक्तिगत तथा सामाजिक जीवनमा नकारात्मक प्रभाव पर्न सक्ने र यसको पालनाले सकारात्मक फल प्राप्त हुने उदाहरणहरू प्रस्तुत गर्दै गुरुले उपस्थित भक्तजनलाई प्रेरित गर्नुभएको थियो ।
अभिषेक, प्रसाद ग्रहण र धन्यवाद ज्ञापन
कार्यक्रमको अन्त्यमा भक्तजनहरूले प्रमुख गुरुबाट अभिषेक तथा लामा अखिल गुरुङबाट प्रसाद ग्रहण गरेका थिए । समापन सत्रमा अध्यक्ष बिन्दु कुमारी गुरुङ घलेले धर्मगुरुहरू, पूजा सञ्चालन गर्ने लामा गुरुहरू, रेडिङ बुद्धिष्ट गुम्बाका अध्यक्ष पूर्व इन्सपेक्टर खेमबहादुर गुरुङ, आर्थिक सहयोगदाताहरू, भोजन तथा पेय पदार्थ प्रायोजकहरू, आमा समूह, पूजा संयोजक हरिमान गुरुङ तथा परिवार, र उपस्थित सबैलाई हार्दिक धन्यवाद दिनुभयो ।
कार्यक्रममा हेल्थ एण्ड सेफ्टीसम्बन्धी जानकारी पूजा संयोजक हरिमान गुरुङले दिनुभएको थियो भने आर्थिक सहयोग संकलन कोषाध्यक्ष चन्द्रकान्त गुरुङ र पूर्वउपाध्यक्ष तथा सल्लाहकार बिजु गुरुङले सम्हाल्नुभएको थियो ।
पूजामा सहभागीहरूले बुद्धको जन्म, ज्ञानप्राप्ति र महापरिनिर्वाण—यी तीनै तिथि एकै दिन परेको त्रिसंयोग दिवसको महत्त्वबारे विस्तृत ज्ञान प्राप्त गरेको अनुभूति व्यक्त गरेका थिए । कार्यक्रम अपराह्न ४ बजे समापन गरिएको थियो ।

आङ्ल—गोरखा युद्धको कथा
तमु समाज यूकेद्वारा २५७०औं बुद्ध जयन्ती तथा बुद्ध पूर्णिमा कार्यक्रम भव्य रूपमा सम्पन्न
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
नेपाल पत्रकार महासङ्घले निकाल्यो काठमाडौंमा ऐक्यबद्धता र्याली
नेपालमा राजनीतिक नियुक्ति पाएका एकमुष्ट पदमुक्त हुँदै १ हजार ५९४ पदाधिकारी
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
दिवंगत नेता गोरेबहादुर खपाङ्गी मगरका कान्छा छोरा शिखरजीत गम्भीर बिरामी, सहयोगको अपिल
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन