काठमाडौंमा वायु प्रदूषण न्यूनीकरण कसरी हुनसक्ला ? [लेख]

नेपालको काठमाडौं विश्वकै वायु प्रदूषण शहरको सूचीमा दोस्रो स्थानमा आइपुगेको छ । वायु प्रदूषण गुणस्तर सूचक १८४ पुगेको छ साथै, कण पदार्थ २.५ (माइक्रोमिटर) (PM 2.5 μm) को मात्रा निकै बढेको छ । मानिसहहरुमा घाँटी पोल्ने, आँखा चिलाउने, स्वासप्रश्वासमा असहज हुने, क्यान्सरसमेत गराउन सक्ने समस्याहरु देखिएका छ्न् (वन तथा वातावरण मन्त्रालय’, ११ मार्च, २०२६), भनिएको छ ।

यसबाट मानव स्वास्थ्यमा थप जोखिम र लामो समयसम्म वातावरणमा नकारात्मक असर पर्नसक्ने देखिन्छ । यसबारे अस्पताल तथा स्वास्थ्य क्लिनिकहरुबाट जानकारी हुनेछ अर्थात् बालबालिका, वृद्धवृद्धा, स्वास्थ्यमा जोखिम भएका व्यक्तिहरुबाट समेत पुष्टि हुन्छ नै । यस्तो अवस्थामा वायु प्रदूषणको असरबाट पुरै पार पाउन सजिलो छैन, वातावरण अनुकुलन बनाएर, न्यूनीकरण भने अवश्य गर्न सकिन्छ । धुलो, धुवाँ, प्रदूषण, सुख्खापन, धेरै चिसो, ओसिलो मौसम काठमाण्डु भित्रबाट मात्र जन्मिएको अवश्य हैन, यो छिमेकी, औद्योगिक राष्ट्रहरुको उपहार पनि हो र, यस्तो अवस्था रोक्न वा कम गर्न ती राष्ट्रहरुलाई अनुरोध गर्ने सामर्थ्य हामीसँग छैन र, भए पनि ती राष्ट्रहरु आफ्नो आर्थिक विकासको काममा व्यस्त छ्न्, हाम्रो कुरा सुन्नेवाला छैनन्, त्यसैले आफ्नो घरभित्र (काठमान्डू) बाट सम्भव हुने सुधार र परिवर्तन गर्नु नै उत्तम उपाय हो ।

कसरी काठमान्डूमा धुलो, धुवाँ, वायु प्रदूषण बढिरहेको छ त ? थुप्रै कारणहरुबाट यो अवस्था देखा परेको हो जस्तै; पशुपतिमा मृत शरीर दाह गर्दा करिब ७/२४ समय प्रयोग हुने जल छर्किएको पलार र घिउ पोलिँदा निस्कने कालो मुस्लो धुँवा-कण पदार्थ, सडकमा पुराना सडक बाहनहरु दगुर्दा, खुल्ला स्थानहरुमा फोहोरमैला थुप्रिँदा घामले तातेको समयमा मिथेन ग्यास वायुमा मिसिँदा काग, बाँदरलगायतले फोहोर खोतल्दा निस्किने दुर्गन्ध, अस्पताल र स्वास्थ्य क्लिनिकबाट विसर्जन गरिने औषधि फोहरमैला, ढल सोझै नदीमा मिसाएर दूषित पारिएका खोला, नदीबाट फैलिने दूषित हावा, प्लास्टिक जथाभावी थुपार्दा यसबाट निस्कने मिथेन, इथाइलिन, ईथेन आदि ग्यास वायुमा मिसिँदा, रुखहरु फँडानी हुनुका कारण (रुखहरूलाई शहरका फोक्सो पनि भनिन्छ)ले समेत काठमाडौंमा वायु प्रदूषण बढेको अवस्था छ ।

अब के कसरी अनुकुलन अवस्था बनाउने साथै, कसरी वायु प्रदूषणको अवस्थालाई न्यूनीकरण गर्न सकिन्छ यसतर्फ सोचौं र काम गरौँ :

अनुकुलन सम्बन्धी कार्यहरु :
छिटो बढ्ने रुखहरु लगाउने : रुख जीवनको सन्तुलन र प्रकृतिक सौन्दर्यको प्रतीक हो। यसले ‘हरियो प्राकृतिक फिल्टर’को रूपमा काम गर्छ। रुखले आफ्नो वृद्धि अवधिभर कार्बन डाइअक्साइड अवशोषण, अक्सिजन उत्सर्जन गरेर पृथ्वीको वातावरण नवीकरण गर्न मद्दत गर्छ। सक्रिय जन सहभागिता जुटाएर समी, होचो पीपल, रबर, नीम, धुपी, ‘जाकरनडा’ आदि रुखहरु लगाउनु उपयुक्त हुन्छ त्यस्तैगरि, नदी, खोलाका किनाराहरुमा बाख्रे रुख, खन्यु, जामुन, अर्जुन, निगालो, बंयर, चुत्रो र धेरै प्रकारका घाँसहरु रोप्नु राम्रो हुन्छ l क्याम्पस क्षेत्र , बिद्यालय परिसर, मठ -मन्दिरहरु वरिपरि, बसपार्क क्षेत्र वरिपरि रुखहरु लगाउनु उपयुक्त हुन्छ l

पोखरीमा पानी भर्ने र वरिपरि रुखहरु रोप्ने : धुलो कम गर्न, सितल वातवरण कायम राख्न रानी पोखरी, बालाज्यु अगाएतका पोखरीहरुमा पानी भरेर वरिपरि वायु प्रदूषण रोक्ने रुखहरु रोप्नु राम्रो हुन्छ l मुख्य मुख्य स्थानहरुमा पानीका फोहोराहरु जडान गरेर साँझको समयमा संचालन गर्दा धुलो बढ्ने सम्भावना कम हुन्छ साथै, सितल वातावरणले मानसिक स्वास्थ्यमा सकरात्मक असर पर्छ l
घर, कार्यालय भित्र हाउसप्लान्ट राख्ने : बाहिर भन्दा घरभित्रको बायु प्रदूषण १२ देखि २० प्रतिशत बढी भएको पाईएको छ त्यसैले प्रदूषण कमगर्न भान्सा, बाथरुम, बैठक कक्षामा हाउसप्लान्ट राख्ने व्यवस्था मिलाउनु राम्रो हुनेछ l

न्यूनीकरणसम्बन्धी कार्यहरु :
प्रदूषण बढाउने खालका उद्योगहरु, शहर बाहिर स्थानान्तरण गर्ने जसले गर्दा प्रदूषणको अवस्थामा कमी आउँछ, धिलोका कणहरु सडक, घर, कार्यालयभित्र प्रवेश गर्ने सम्भावना न्युन हुन्छ । प्लास्टिकको प्रयोगमा निरुत्साहित गर्ने : सफ्ट ड्रिंक बोतल, खाना ट्रे, ब्लिस्टर प्याक, पाइप, खाना प्याकेजिङ, फोहोर संकलनका लागि प्रयोग गरिने झोला, बोतललगायतका प्लास्टिकले स्वास्थ्य र वातावरणमा हानि पुर्‍याउँछ, प्लास्टिकको विकल्पको रुपमा कपडाका झोलाहरु प्रयोग गर्ने बानी बसाल्न पहल गर्नु राम्रो हुन्छ । साईकलको प्रयोग गर्न प्रोत्साहन गर्नु राम्रो हुन्छ, साइकल प्रयोगले व्यक्तिगत स्वास्थ्यमा धेरै फाईदा हुने गरेको छ साथै, वातावरण पनि सफा रहने हुन्छ । लास जलाउन ईलेक्ट्रिक मेसिनको प्रयोग गर्न थप प्रोत्साहन गर्ने, पशुपति क्षेत्रमा लासहरु जलाउँदा प्रयोग हुने पानीले भिजाएको पराल, काठ, घिउको प्रयोग पोल्दा निस्कने धुवाँको मुस्लो स्वास्थ्य र वातावरणको लागि निकै हानिकारक र प्रदूषक हुन्छ त्यसैले लास जलाउन ईलेक्ट्रिक मेसिनको प्रयोग गर्नु उपयुक्त हुन्छ । यसतर्फ विशेष ध्यान दिनु राम्रो हुनेछ । यस्तैगरी, चिसो दाउरा, गुईठा बाल्न सम्भव भएसम्म रोक लगाउने गनु पर्छ । अगरबत्ती बाल्न, रंगीन पाउडरहरु प्रयोग गर्न कम गर्नु पर्छ ।

औषधि, बिषादी भण्डारण गर्ने कोठा, स्टोरमा राम्रो भेण्टिलेसनको व्यवस्था हुनु पर्छ, नजिक रहेर बिषादीसँग काम गर्दा ग्लोब, मास्कको प्रयोग बढी सुरक्षित मानिन्छ । घरभित्र वा वरिपरि ढुसी आउनबाट रोक्न ओस आउने ठाउँहरुमा समय समयमा साबुन पानीले सफा गर्ने, धुलो जम्न नदिने । माछा मासु वा अन्य खानाहरु तेल, घिउमा पकाउँदा डढ्ने गरी नपकाउने, डढेको खाना सकभर नखाने, पकाएको तेल पुन: पकाउन प्रयोग नगर्दा स्वास्थ्यको लागि राम्रो हुन्छ ।

अत : माथि उल्लेखित अनुकुलन तथा न्यूनीकरणका उपायहरु लागू गरेमा हालको वातावरण प्रदूषणबाट मुक्त पाउन सहज हुनेछ र, दैनिक प्रदूषणबाट हुने मृत्युको दर कम हुनुका साथै, वातावरण सफा रहन मद्दत पुग्ने हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री