सत्य बोल्ने साहस: नोबेल विजेता रिगोबर्टाको कथा

मानव अधिकार र आदिवासी पहिचानका लागि संघर्ष गर्ने संसारका दुर्लभ व्यक्तिहरूमध्ये एक हुन् रिगोबर्टा मेन्चू टुम। जसले व्यक्तिगत पीडालाई सार्वजनिक शक्तिमा रूपान्तरण गरिन्। ग्वाटेमालाको माया–क्विचे आदिवासी समुदायमा जन्मिएकी उनले जन्मदेखि नै दमन, भेदभाव र गरीबीको संसार देखिन्। उनको जीवन एउटा श्रमिक बालिकाको रुपबाट सुरु भई अन्तर्राष्ट्रिय मानव अधिकारका सबैभन्दा बलिया आवाजहरूमध्ये एक बन्न सफल भएको छ । उनी केवल एक महिला वा कार्यकर्ता मात्र होइनन्। उनी लाखौँ मौन आदिवासीहरूको प्रतिनिधि, न्यायको खोजी गर्ने निडर आत्मा र परिवर्तनको साँचो संकेत हुन्। उनको संघर्षले आदिवासी महिलाहरूको सशक्तीकरणलाई नयाँ उचाइ दिएको छ र विश्वभरका उत्पीडित समुदायहरूलाई प्रेरणा दिएको छ।

 रिगोबर्टाको जन्म ९ जनवरी १९५९ मा ग्वाटेमालाको ग्रामीण क्षेत्र चिमेलमा भएको थियो । उनका परिवारसँग जमीन थिएन र उनीहरूको मुख्य जीविका धनी जमिन्दारहरुको फार्महरूमा मजदुरी गर्नु थियो। पाँच वर्षको हुँदा नै उनी कफी बारीमा काम गर्न बाध्य भइन्। जहाँ विषाक्त कीटनाशकहरूको सम्पर्कमा आएका कारण उनका भाइबहिनीहरूको ज्यान गएको थियो। स्कूल जाने मौका उनका लागि विलासिता थियो। किनकी आदिवासीलाई शिक्षाभन्दा कामको अपेक्षा गरिन्थ्यो।

बाल्यकालदेखि उनले राज्य संरचनामा रहेको जातीय विभेद, भौगोलिक उपेक्षा र वर्गीय दमनको प्रत्यक्ष अनुभव गरिन्। ग्वाटेमालामा आदिवासीहरूलाई “तल्लो दर्जाको श्रमिक”मान्ने सोच गहिरो थियो। उनीहरूले देशका प्राकृतिक स्रोत र श्रममा ठूलो योगदान दिए पनि उनीहरूको अस्तित्व नै वास्ता नगरिने, आवाज सुन्न नचाहिने प्रणाली थियो। उनको परिवारले वर्षको आठ महिनासम्म फिन्का (प्लान्टेशन) मा काम गर्नुपर्थ्यो, जहाँ कडा परिश्रम र कुपोषणले धेरैको ज्यान लिन्थ्यो।

 रिगोबर्टाको जीवनमा सबैभन्दा ठूलो चोट ग्वाटेमालाको ३६ वर्ष लामो गृहयुद्ध (१९६०–१९९६) ले दियो। यस युद्धमा मुख्यतया राज्यसत्ता र सशस्त्र विद्रोहीहरूबीच संघर्ष भयो। तर राज्यसत्ताले आदिवासीहरूलाई विद्रोहीका समर्थक ठानेर क्रुर दमन गर्‍यो। सेनाले गाउँहरू जलाइदियो, हजारौं मानिस बेपत्ता भए। बलात्कारलाई युद्ध हतियारका रूपमा प्रयोग गरियो। यही हिंसाको बीचमा रिगोबर्टा र उनका परिवार बाँचिरहेका थिए। दमनको तीव्रता यति भयानक थियो कि उनको  दाइलाई सैनिकहरूले अपहरण गरेर दिएको यातनाबाट हत्या गरियो ।

केही समयपछि आमालाई पनि सैनिकहरूले अपहरण, बलात्कार र निर्मम हत्या गरे। सबैभन्दा भयावह घटना भनेका उनका बुबा भिसेन्टे मेन्चूको मृत्यु थियो। शान्तिपूर्ण विरोधका क्रममा बुबा र अन्य व्यक्ति स्पेनको दूतावासमा प्रदर्शन गर्दै थिए। राज्यसत्ताको निर्देशनमा गरिएको आगजनीमा उनीहरू सबै जिउँदै जलाइए। यी घटनाहरूले केवल रिगोबर्टाको परिवार नष्ट गरेनन्, उनीभित्रको निडर प्रतिवाद जन्माइदिए। उनले आफ्ना परिवारका सदस्यहरूको मृत्युलाई व्यक्तिगत पीडाबाट सामूहिक संघर्षको प्रेरणामा बदलिन्।

 रिगोबर्टा मेन्चू टुम सन् १९८१ मा परिवारका सदस्यहरूको क्रूर हत्यापछि २१ वर्षको उमेरमा नै  ग्वाटेमालाबाट मेक्सिको निर्वासनमा गएकी थिइन्। उनले निर्वासनको समयमा पनि पटक–पटक ग्वाटेमालाको छोटो भ्रमण गरेकी थिइन्, जस्तै सन् १९८८ मा फर्कँदा पक्राउ परेकी थिइन् र फेरि निर्वासनमा फर्कन बाध्य भइन्। त्यस्तै नोबेल शान्ति पुरस्कार प्राप्त गरे लगत्तै सन् १९९२ को अक्टोबरमा छोटो भ्रमण गरेकी थिइन्। यी भ्रमणहरू छोटा र जोखिमपूर्ण थिए किनकी सैनिक शासनबाट मृत्युको धम्की थियो।

उनको स्थायी फिर्ती (पूर्ण निर्वासनको अन्त्य) भने सन् १९९४ को सुरुमा भएको थियो। यो फिर्ती १३ वर्षको निर्वासनपछि भएको थियो र अन्तर्राष्ट्रिय दबाब बढ्दै गएको तथा शान्ति प्रक्रियाको समयमा सम्भव भएको थियो। यसै समयमा उनले ग्वाटेमालामा रिगोबर्टा मेन्चू टुम फाउन्डेशन स्थापना गरेकी थिइन् जसले माया समुदाय, नरसंहार पीडितहरू र आदिवासी अधिकारका लागि काम गर्दै आएको छ। ग्वाटेमालाको गृहयुद्ध सन् १९९६ को डिसेम्बरमा औपचारिक शान्ति सम्झौतासँगै समाप्त भएको थियो। जसले उनको स्थायी बसोबासलाई थप सुरक्षित बनायो।

यो निर्वासनले उनलाई भगुवा होइन, अन्तर्राष्ट्रिय योद्धा बनायो। मेक्सिकोमा बस्दै गर्दा उनले संसारभरका मानव अधिकार संगठन, विश्वविद्यालय र मञ्चहरूमा आदिवासीहरूका पीडा बोल्न थालिन्। उनको आवाज सरल थियो, तर शक्तिशाली थियो। किनकी त्यो आवाज अनुभवको आगोबाट आएका शब्दहरु थिए । भाषा, शिक्षा वा पहिचानको कमीले उनलाई रोक्न सकेन। उनले भनेकी थिइन्, “सत्य बोल्नलाई ठूलो आवाज होइन, ठूलो साहस चाहिन्छ।” उनले क्याथोलिक चर्चमार्फत सामाजिक सुधारमा संलग्न भई महिला अधिकार आन्दोलनमा पनि योगदान दिइन्।

 १९८३ मा प्रकाशित उनको जीवनका अनुभवहरूलाई समेटिएको पुस्तक “I, Rigoberta Menchú” ले संसारमा हलचल ल्यायो। लाटिन अमेरिकी मूलकी मानवशास्त्री एलिजाबेथ बुर्गोस–डेब्रायले रिगोबर्टासँग विस्तृत अन्तरवार्ताहरूको परिणामस्वरूप तयार भएको पुस्तक आधुनिक साहित्यमा एक अद्वितीय कृति मानिन्छ। जसले आदिवासी समुदायको दैनन्दिन जीवनका सूक्ष्म विवरणहरू सजीव रूपमा प्रस्तुत गर्छ। रिगोबर्टाको अभिव्यक्तिको असाधारण क्षमता उनको समुदायमा जरा गाडेर बसेका धार्मिक विश्वास, पुराना चलन–चल्ती र जीवन–दृष्टिकोणलाई अत्यन्त जीवन्त बनाउँछ।

त्यसैगरी, पुस्तकमा रिगोबर्टाको नारीवादी विचारहरूसँगको भेट, समाजवादी सोचप्रति उनीभित्र विकसित भएको चेतना र ती दुवैलाई आफ्नो जीवन–अनुभवसँग जोडेर बुझ्ने उनको व्यक्तिगत अन्तरदृष्टि उजागर हुन्छ। तर यी सबैभन्दा माथि उठेर पुस्तकभरि झल्किने कुरा हो—उनीभित्रको अडिग साहस, न्यायप्रतिको गहिरो प्रतिवद्धता, र असाधारण एक महिलाको अटूट आत्मबल। मानव अधिकारका विद्यार्थी, अनुसन्धानकर्ता र इतिहासकारहरुका लागि यो पुस्तक आज पनि दमन र प्रतिरोधको प्रत्यक्ष प्रमाण मानिन्छ। पुस्तकले ग्वाटेमालालाई अन्तर्राष्ट्रिय जाँच, आलोचना र मानव अधिकार आयोगको दायरामा ल्यायो। यद्यपि पछि केही विवादहरू उठे तर यसले आदिवासी पीडाको विश्वव्यापी ध्यानाकर्षण गरेको थियो।

लेखक सुरेन्द्र श्रेष्ठ

उनको आत्मकथा प्रकाशित भएको एक दशकपछि मानवशास्त्री डेविड स्टोलले मेन्चूले जीवनका केही विवरण प्रचारका लागि परिवर्तन गरेको दाबी गरेका थिए । डेभिडले भाइको मृत्यु, परिवारको उपस्थिति र मेन्चूको शिक्षासम्बन्धी विवरणलाई विवादित ठहराए। स्टोलले १९८० को स्पेनी दूतावास नरसंहारलाई प्रदर्शनकारीहरूको आत्मदाहको रूपमा देखाए, जबकी आधिकारिक अनुसन्धानले सेनाले आगजनी गरेको पुष्टि गरेको थियो। धेरै विद्वानहरूले मेन्चूको कथनलाई आदिवासीहरूको सामूहिक अनुभवको प्रतिनिधित्व मान्दै बचाव गरेका थिए। उनलाई दिएको पुरस्कार फिर्ता लिनुपर्छ भनेर उजुरी समेत पर्यो। तर नोबेल पुरस्कार  समितिले उनको पुरस्कार फिर्ता लिन अस्वीकार गर्दै मानवअधिकार र सामाजिक न्यायको योगदानलाई आधार बनाएको स्पष्ट गर्यो। सत्यका केही विवरण विवादित भए पनि मेन्चूको साक्ष्य गृहयुद्धकालीन आदिवासी जीवन र उत्पीडनको महत्वपूर्ण दस्तावेज मानिन्छ।

पछि सन् १९९८ मा Crossing Borders, सन् १९९९ मा जर्मन भाषामा प्रकाशित Enkelin der Maya (Daughter of the Maya) जस्ता कृतिहरू सार्वजनिक भए। उनले दान्ते लियानोको सहकार्यमा बालबालिकाका लागि पनि पुस्तकहरू लेखेकी छन्। जसमध्ये  The Girl from Chimel (2005), The Honey Jar (2006) र The Secret Legacy (2008) उल्लेखनीय छन्। यस्तै, सन् २०१२ मा प्रकाशित K’aslemalil–Vivir: El caminar de Rigoberta Menchú Tum en el Tiempo पुस्तकले उनको जीवन–यात्रा, विचार, संघर्ष र समयसँगै परिवर्तन हुँदै गएको सामाजिक चेतनालाई विश्लेषणात्मक रूपमा प्रस्तुत गर्दछ।

विश्वसमुदायले उनको योगदानलाई उत्कृष्ट मूल्याङ्कन  गर्यो। र १९९२ मा रिगोबर्टा मेन्चूलाई नोबेल शान्ति पुरस्कार दिइयो। उनी इतिहासकै पहिलो आदिवासी महिला थिइन् जसले यो सम्मान प्राप्त गरिन्। त्यो वर्ष कोलम्बसले अमेरिकामा “खोजेको” भनिएको ५०० वर्ष पूरा भएको वर्ष थियो तर रिगोबर्टाले भने “त्यस खोजले हामी आदिवासीहरूको इतिहास नष्ट गर्‍यो” भनेर स्मरण गराइन्। नोबेल पुरस्कार केवल उनको व्यक्तिगत उपलब्धि थिएन। यो आदिवासी पहिचान, समानता, महिला अधिकार र न्यायका लागि संघर्ष गरिरहेका सबै मौन आवाजहरूको सम्मान थियो। नोबेल समितिले भनेको थियो, “उनले न केवल आफ्नो समुदायको प्रतिनिधित्व गर्छिन्, उनी सबै उत्पीडितहरूको आवाज हुन्।” यस पुरस्कारले उनलाई UNESCO को सद्भावना दूत बनायो र प्रिन्स अफ अस्टुरियस अवार्ड पनि प्राप्त भयो।

सन् १९९५ मा रिगोबर्टा मेन्चूले ग्वाटेमालान नागरिक एन्जेल कानिलसँग माया परम्पराअनुसार विवाह गरिन्, जसले उनीहरूको सांस्कृतिक पहिचानप्रति सम्मान र प्रतिबद्धता झल्काउँछ। तीन वर्षपछि सन् १९९८ जनवरीमा उनीहरूले क्याथोलिक विधिबाट पुनः विवाह गर्दै आफ्नो सम्बन्धलाई दुवै धार्मिक परम्पराले मान्यता दिइन्। त्यही समयमा उनीहरूले समयभन्दा पहिले जन्मिएका आफ्ना नवजात शिशु त्सुनुनको मृत्यु भएपछि उनीहरूले माश नहुआल हा’ (“पानीको आत्मा”) नामक एक बालकलाई धर्म छोरा बनाए, जसले उनीहरूको जीवनमा नयाँ ऊर्जा र आशा जगायो ।

मिडियामा पनि रिगोबर्टा मेन्चूको प्रभाव उल्लेखनीय छ। सन् १९८३ मा बनेको अन्तर्राष्ट्रिय रूपमा चर्चित वृत्तचित्र When the Mountains Tremble (जब पर्वतहरू काँप्छन्) मा उनी प्रमुख रूपमा प्रस्तुत भएकी थिइन्। न्युटन थोमस सिगेल र पामेला येट्सद्वारा निर्देशित यो वृत्तचित्रले ग्वाटेमालाको गृहयुद्धका दौरान आदिवासीहरूमाथि भएको दमन, प्रतिरोध र मानवीय अवस्थालाई विश्वसामु छर्लंग पारेको थियो।

नोबेल प्राप्त गरेपछि पनि उनले आफ्नो काम रोकिनन्। उनले Rigoberta Menchú Tum Foundation स्थापना गरी शिक्षा, मानव अधिकार र आदिवासी अधिकारका क्षेत्रमा कार्यक्रम सञ्चालन गरिन्। फाउन्डेशनले माया समुदायका लागि शिक्षा कार्यक्रम, स्वास्थ्य सेवा र नरसंहारपीडितहरूलाई न्याय दिलाउने काम गर्दै आएको छ। साथै, उनले Indigenous Initiative for Peace नामक संस्था मार्फत विश्वभरका आदिवासीहरूको संरक्षण र सशक्तीकरणमा नेतृत्व गरिन्।

सन् १९९६ मा आदिवासी अधिकारका क्षेत्रमा उनको निरन्तर संघर्ष र योगदानलाई कदर गर्दै  युनेस्कोले सद्भावना दूत (UNESCO Goodwill Ambassador) नियुक्त गर्यो। जहाँ उनले १९९५–२००४ को विश्व आदिवासीहरूको पहिलो अन्तर्राष्ट्रिय दशकमा शिक्षा, स्वास्थ्य, वातावरण, मानवअधिकार र अन्तर्राष्ट्रिय सहकार्यजस्ता विषयमा महत्त्वपूर्ण नेतृत्व प्रदान गरिन्। सन् २०१५ मा उनी युनेस्कोकी महानिर्देशक इरिना बोकोवासँग सम्पर्क भएपछि  ग्वाटेमाला र युनेस्कोबीचको सहकार्य रणनीतिलाई थप मजबुत बनायो।

स्वास्थ्य क्षेत्रमा सामाजिक अभियानकर्ताको रूपमा उनले सन् २००३ देखि “सलूद पारा तोदोस्” र “Farmacias Similares” संस्थाहरूको अध्यक्ष हुँदै सस्तो र पहुँचयोग्य जेनेरिक औषधि उपलब्ध गराउने अभियान चलाइरहेकी छन्। विशेषतः एचआईभी र क्यान्सरका महँगा औषधिको पेटेन्ट अवधि घटाई सबैका लागि उपलब्ध गराउनुपर्ने उनको मागका कारण ठूला औषधि कम्पनीहरूको विरोधसमेत सहनुपरेको छ। सन् २००६ मा उनी जोडी विलियम्स, शिरीन अबादी, वाङ्गारी माथाई, बेट्टी विलियम्स, र मारेड कोरिगन म्याग्वायरसँग मिलेर Nobel Women’s Initiative की संस्थापक सदस्य बनिन्, जसको उद्देश्य पाँच महादेशका महिला नोबेल विजेताहरूलाई एक साझा आवाजमा उभ्याउँदै विश्वशान्ति, न्याय र लैङ्गिक समानताको पक्षमा प्रभावकारी भूमिका निर्वाह गर्नु हो। साथै, उनी PeaceJam की सक्रिय सदस्यका रूपमा विश्वभरका युवाहरूलाई प्रेरणा र मार्गदर्शन दिँदै आएकी छन्।

 उनले ग्वाटेमालाको पहिलो आदिवासी राजनीतिक पार्टी Winaq स्थापना गरिन्। २००७ र २०११ मा राष्ट्रपति चुनावमा उम्मेदवारी दिइन्। यद्यपि उनी चुनाव जित्न सकिनन्, तर  उम्मेदवार भएर उभिनु नै ग्वाटेमालाको इतिहासमा आदिवासी र महिलाहरूप्रति गहिरो मनोवैज्ञानिक असर परेको घटना मानिन्छ। उनले शान्ति सम्झौताको कार्यान्वयनमा पनि योगदान दिइन्।

आजसम्म पनि रिगोबर्टा मेन्चू सक्रिय छन्। उनले हालै गाजाका बालबालिकाहरूको पीडालाई आफ्नो अनुभवसँग जोडेर बोल्दै आएकी छिन् र विश्व शान्तिका लागि आवाज उठाइरहेकी छिन्। उनले जलवायु परिवर्तन, आर्थिक असमानता र आदिवासी अधिकारका मुद्दामा निरन्तर काम गरिरहेकी छिन्। रिगोबर्टा मेन्चू केवल एउटा नाम होइन, एक आन्दोलन हुन्। उनले सिद्ध गरिन् कि संघर्षको शक्ति सधैं हतियार वा सत्ता होइन सत्य र आवाज हो। दमन, बलात्कार, हत्या र युद्धको नछुट्ने पीडाबीच उनले आफूलाई विखण्डित हुन दिइनन्। बरु त्यही पीडालाई परिवर्तनको स्रोत बनाइन्। उत्पीडनले उनलाई मौन बनाएको भए, संसारले आदिवासीहरूको इतिहास कहिल्यै थाहा पाउँदैनथ्यो। तर उनले आफूलाई रोकिनन्, किनकी उनको विश्वास थियो “मानिस सानो हुँदैन, आवाज सानो हुन्छ ,यदि हामी बोल्दैनौं भने।”

अन्ततः रिगोबर्टा मेन्चू टुम मानव अधिकारको इतिहासमा एउटा शाश्वत सत्य बनेका छन्। उनको जीवनले हामीलाई सिकाउँछ कि पीडा कमजोरी होइन, संघर्षको ऊर्जा बन्न सक्छ। एकजना साहसी महिलाले आफ्नो जीवनका घाउलाई आवाजमा बदलिन् र आवाजलाई आन्दोलनमा। उनी अझै पनि शिक्षा, पहिचान, महिला अधिकार, न्याय र विश्व शान्तिका लागि लडिरहेकी छन्। र जबसम्म उत्पीडन अस्तित्वमा रहन्छ, रिगोबर्टाको आवाज समय समयमा प्रतिध्वनित भइरहनेछ। उनले भनेजस्तै “सत्य र न्याय एकसाथ छन् भने, कसैले रोक्न सक्दैन।” उनको संघर्षले विश्वलाई  साना आवाजहरूले पनि ठूला परिवर्तनहरु ल्याउन सक्छन् भन्ने प्रमाणित गरेको छ ।

आज रिगोबर्टा मेन्चू आफ्नो परिवारसँग ग्वाटेमालाको राजधानी ग्वाटेमाला सिटीको उत्तर–पश्चिममा पर्ने सान पेद्रो खोकोपिलास नगरपालिकामा बसोबास गर्छिन्। यो क्षेत्र क’इचे’ माया जनताको सांस्कृतिक मूल केन्द्र मानिन्छ, जहाँ परम्परा, भाषा र सांस्कृतिक अभ्यासहरू आज पनि जीवन्त छन्। यहाँबाट नै उनले आफ्नो सामाजिक, राजनीतिक र मानव अधिकारको कामलाई निरन्तर अघि बढाइरहेकी छिन्।

सुरेन्द्र नेपाल श्रेष्ठ

बेलायतमा बसोबासरत अधिवक्ता सुरेन्द्र नेपाल श्रेष्ठ विविध विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री