तमु लम परिवार यूकेको विशेष बैठक, यस्ता छन् निर्णयहरु

छोरी –चेली कार्यसमिति गठन

लन्डन । तमु लम परिवार यूकेको विशेष बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।

अध्यक्ष रामचन्द्र गुरुङको अध्यक्षतामा बसेको बैठकले संगठनात्मक संरचना सुदृढीकरण, विधान संशोधन, छोरी–चेलीको सशक्त सहभागिता तथा भावी कार्यक्रमहरू तय गरेको संस्थाका महासचिव एसके गुरुङले जानकारी दिनुभयो ।

बैठकको औपचारिक सुरुआत तमु लम परिवार यूकेका अध्यक्ष रामचन्द्र गुरुङ, सल्लाहकार गणेशबहादुर गुरुङ, विधान समितिका सदस्यहरू सुमलकुमार गुरुङ, एकेन्द्र गुरुङ, टिका गुरुङ र गणेश गुरुङले संयुक्त रूपमा दीप प्रज्वलन गरी गर्नुभएको थियो । उपाध्यक्ष युनिल पूर्णचन्द्र गुरुङले उपस्थित सम्पूर्ण कार्यसमिति सदस्यहरूलाई स्वागत गर्दै बैठकको उद्देश्य, संगठनात्मक सुदृढीकरण, समावेशिताबारे प्रकाश पार्नुभयो ।

सल्लाहकार तथा कार्यसमितिलाई प्रमाणपत्र र परिचयपत्र वितरण
कार्यक्रममा संस्थाका तर्फबाट मनोनित सल्लाहकारहरूलाई संस्थाको आधिकारिक प्रमाणपत्र प्रदान गरिएको थियो । साथै निर्वाचन समितिको तर्फबाट सम्पूर्ण कार्यसमिति सदस्यहरूलाई परिचयपत्र वितरण गरिँदै संस्थागत जिम्मेवारीको औपचारिकता पूरा गरिएको थियो ।

छोरी–चेली कार्यसमिति गठन
बैठकको एक महत्वपूर्ण उपलब्धिका रूपमा छोरी–चेली तर्फको नयाँ कार्यसमिति गठन गरिएको छ । महिलाहरूको सक्रिय सहभागिता, नेतृत्व विकास र संगठनभित्र सशक्त भूमिकालाई संस्थागत गर्ने उद्देश्यसहित निम्न पदाधिकारी तथा सदस्यहरू चयन भएका छन् ।

अध्यक्ष : बिनु गुरुङ (पसगाउँ–नाल्मा)
उपाध्यक्ष : सुकदेवी गुरुङ (पसगाउँ, मालिङ)
महासचिव : हेलिशा गुरुङ (पसगाउँ, भोजे)
कोषाध्यक्ष : तारा गुरुङ (लामा, मन्ज्याङ)
सदस्यहरू :

  • मिना गुरुङ (चौर, धम्पुस)
  • जिना गुरुङ (चिरुवा, स्याङ्जा)
  • मिनाकाशी गुरुङ (पसगाउँ)
  • अन्जु गुरुङ (साखु, ओरस्टे, स्याङ्जा)
  • नन्दकुमारी गुरुङ (ल्वाङ, बरालडाँडा)
    सल्लाहकारहरू:
  • दिलमाया गुरुङ (पसगाउँ, गिलुङ)
  • कमला गुरुङ (चित्रे, ताङ्ग्ले)
    नवनिर्वाचित छोरी–चेली कार्यसमितिलाई निर्वाचन मण्डल तथा संस्थाको तर्फबाट खादा र शुभकामनासहित सम्मान गरिएको थियो । छोरी–चेली अध्यक्ष बिनु गुरुङले सम्पूर्ण सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा आफ्नो कार्यकालभरि पूर्ण जिम्मेवारीका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले छोरी–चेलीहरूलाई संस्थामा सक्रिय रूपमा आबद्ध गराउने, आपसी एकता बलियो बनाउने र तमु लम परिवारको हितमा कार्यक्रमहरू सञ्चालन गर्ने धारणा राख्नुभयो ।

विधानसम्बन्धी गहन छलफल

बैठकमा संस्थाको विधानसम्बन्धी विषयमा विस्तृत र गहन छलफल गरिएको थियो । विशेषगरी सदस्यता शुल्कको विषयमा निर्णय गर्दै लम परिवारका १८ वर्ष पूरा गरेका श्रीमान् श्रीमतीको सदस्यता शुल्क: £१०० र छोरी–चेलीहरूका लागि £५० तोक्ने निर्णय गरिएको छ । अन्य विभिन्न बुँदाहरूमा उपस्थित सदस्यहरूको सुझाव र सल्लाहका आधारमा आवश्यक संशोधन गरी विधान समितिबाट आगामी साधारणसभामा प्रस्तुत गरिने निर्णय गरिएको छ ।

विशिष्ट व्यक्तित्वहरूको स्वागत तथा सम्मान
कार्यक्रममा बेलायतका विभिन्न सामाजिक संस्थाहरूमा उल्लेखनीय योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । साथै हङकङबाट आउनुभएकी एनआरएनए आईसीसीकी महिला सचिव छोरी–चेली राधिका गुरुङ टिकालाई विशेष स्वागत तथा सम्मान गरिएको थियो । त्यस्तै नेपालबाट आउनुभएका तमु ह्युल छोँज धींका उपाध्यक्ष मनोज गुरुङलाई पनि संस्थाको तर्फबाट स्वागत तथा सम्मान प्रदान गरिएको थियो ।

उपाध्यक्षहरूलाई जिम्मेवारी बाँडफाँड
संस्थाको कार्यसञ्चालनलाई प्रभावकारी बनाउन चार जना उपाध्यक्षहरूलाई छुट्टाछुट्टै जिम्मेवारी तोकिएको छ ।

  • क्याप्टेन सूर्यप्रकाश गुरुङलाई आगामी हुने संस्थाको बृहत् भेला तथा भेटघाट (पार्टी) – संयोजक
  • युनिल पूर्णचन्द्र गुरुङलाई कार्यक्रम – कार्यक्रम उद्घोषक
  • चन्द्र गुरुङलाई – सदस्यता विस्तार
  • साधुराम गुरुङलाई – मनोरञ्जनसम्बन्धी जिम्मेवारी प्रदान गरिएको छ ।

सदस्य सुविधा सम्बन्धी जानकारी
महासचिव एस.के. गुरुङले संस्थाका सदस्यहरूलाई विभिन्न व्यवसायिक संस्थाबाट उपलब्ध हुने सुविधाबारे जानकारी दिनुभयो । उहाँका अनुसार पानस रेस्टुरेन्ट (अल्डरशट), डी लाउञ्ज (अल्डरशट), चाइना ओरिएन्टल (अल्डरशट), बेसिङस्टोक मार्ट, मोमो किङ (स्विन्डन) तथा तीर्थिना कलेक्सनले तमु लम परिवार यूकेका सदस्यहरूलाई विशेष सुविधा उपलब्ध गराउनेछन् ।


बैठकमा तमु लम परिवारका सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो । बैठकको व्यवस्थापन, खाना तथा अन्य सुविधाको जिम्मेवारी कोषाध्यक्ष कमल गुरुङ र कार्यसमितिका सदस्यहरूले सम्हाल्नुभएको थियो । सुरक्षा व्यवस्थापनको जिम्मेवारी सचिव दलबहादुर गुरुङले निर्वाह गर्नुभएको थियो भने सम्पूर्ण कार्यक्रम महासचिव एस.के.ले सञ्चालन गर्नुभएको थियो ।

अध्यक्ष रामचन्द्र गुरुङले उपस्थित सम्पूर्ण कार्यसमिति सदस्यहरूलाई सक्रिय सहभागिता र सहयोगका लागि धन्यवाद ज्ञापन साथै संस्थालाई अझ सशक्त, समावेशी र व्यवस्थित बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । तमु लम परिवारको आगामी बृहत् भेला तथा भेटघाट (पार्टी) अक्टोबर १०, २०२६ का दिन आयोजना हुने भएकोले सम्बन्धित सबैमा जानकारी गराउँदै उहाँले बैठक समापनको घोषणा गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री