साझा नेपाली समाज यूकेको अध्यक्षमा नारायण फुँयाल चयन

लन्डन । साझा नेपाली समाज यूकेको अध्यक्षमा नारायण फुँयाल चयन हुनु भएको छ ।

वुल्भरह्याम्प्टनमा सोमबार सम्पन्न समाजको अधिवेशनले आगामी दुई वर्षे कार्यकालका लागि फुँयालको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको हो । उपाध्यक्षहरु शिव खरेल, सुरेश केसी र गणेश सापकोटा, महासचिव शशांक शर्मा, गोविन्द सापकोटा सचिव, उपेन्द्र सापकोटा कोषाध्यक्ष र सह-कोषाध्यक्ष दिनेश ढकाल चुनिनु भएको छ । उपाध्यक्ष खराल र महासचिव शर्मा पुन: दोहोरिनुभएको हो ।

कार्यसमिति सदस्यहरुमा दशरथ खरेल, निशान्तमान बज्राचार्य, रेवती रमण पाण्डे, राहुलदेव सापकोटा र ईश्वर रिजाल चुनिएको निर्वाचन समितिले जनाएको छ ।

कृष्ण शर्माको नेतृत्वमा शंकर भण्डारी र डिलाराम गौतम रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति घोषणा गरेको थियो। समिति संयोजक शर्माले नवनिर्वाचित पदाधिकारीहरूलाई पद तथा गोपनियताको शपथ गराउनुभएको थियो ।

नवनिर्वाचित अध्यक्ष फुँयालले मिडल्यान्डका सबै नेपाली र संघसंस्थालाई साझा नेपाली समाजको एउटै छतामुनि ल्याउनु आफ्नो प्राथमिकता रहने बताउनुभयो ।

समाजका निवर्तमान अध्यक्ष दीपक सापकोटाले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै आवश्यक सहयोग र सहकार्यका लागि आफू सधै तयार रहेको बताउनुभयो । उहाँले आफ्नो कार्यकाल सफल र उपलब्धिमूलक बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद पनि व्यक्त गर्नुभयो ।

बन्दसत्रमा निवर्तमान समितिका महासचिव शर्मा र कोषाध्यक्षले प्रस्तुत गरेका प्रतिवेदनमाथि छलफल गरी सर्वसम्मत रूपमा पारित गरिएको थियो। साझा नेपाली समाज यूके मिडल्यान्ड क्षेत्रमा बसोबास गर्ने नेपालीहरूको साझा प्रतिनिधि संस्था हो । बर्मिङहम, नटिङहम, वुल्भरह्याम्प्टन, लेष्टर, पिटरबरोलगायत मिडल्यान्डका विभिन्न क्षेत्रस्थित नेपाली समाजहरू साझामा आबद्ध छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री