फ्रान्सबाट बेलायत जान खोज्ने क्रममा दुई आप्रवासीको मृत्यु, दर्जनौंको उद्धार

लन्डन । फ्रान्सबाट सानो डुङ्गामार्फत बेलायत जान प्रयास गर्ने क्रममा दुई आप्रवासीको ज्यान गएको छ । अधिकारीहरूका अनुसार करिब १०० जना सवार रहेको डुङ्गा दुर्घटनामा परेपछि दर्जनौं अन्य व्यक्तिहरूलाई सकुशल उद्धार गरिएको छ ।

दुर्घटना न्यूफशातेल–हार्डेलोट नजिकको समुद्री क्षेत्रमा शुक्रबार रातिको समयमा भएको हो । मोन्ट्रेयू–स्यु–मेयर क्षेत्रकी अधिकारी इसाबेल फ्रादिन–थिरोडले जानकारी दिँदै भन्नुभयो,“अहिले करिब ६० जनालाई सुरक्षापूर्वक उद्दार गरी हेरचाहमा राखिएको छ ।”

यो घटनासँगै सन् २०२५ को सुरुवातदेखि अहिलेसम्म इंग्लिश च्यानल पार गर्ने क्रममा मृत्यु हुने आप्रवासीहरूको सङ्ख्या कम्तीमा २५ पुगेको एएफपीले आधिकारिक तथ्याङ्कका आधारमा जनाएको छ ।

यस वर्ष मात्रै झण्डै ३१ हजार आप्रवासी साना डुङ्गाबाट बेलायत पुगिसकेका छन्, जुन हालसम्मकै रेकर्ड हो । हालै फ्रान्स र बेलायतबीच भएको आप्रवासी व्यवस्थापनसम्बन्धी सहमति अनुसार, शरणको लागि अयोग्य ठहरिने व्यक्तिहरू ‘सुरक्षित मुलुक’ हुँदै बेलायत पुगेका छन् । उहाँहरूलाई बेलायतले फ्रान्स फर्काउन सक्नेछ । यसको सट्टामा, फ्रान्समा रहेका र शरणको लागि योग्य ठानिएका व्यक्तिहरूलाई बेलायतले स्वीकार गर्ने सहमति भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री