काठमाडौँ । सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयले मन्त्रालयमा सूचीकृत भएकाबाहेक सम्पूर्ण समाजिक सञ्जाल प्लेटफर्महरु क्रमशः निष्क्रिय गर्ने प्रक्रिया सुरु गर्ने भएको छ ।
यसका लागि मन्त्रालयले दूरसञ्चार तथा इन्टरनेट सेवाको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइसकेको जनाएको छ । आज मन्त्रालयमा बसेको मन्त्रीस्तरीय बैठकले गरेको निर्णयानुसार नेपालमा सूचीकरण हुन नआएका सामाजिक सञ्जाल प्लेटफर्मलाई तत्काल निष्क्रिय बनाउने निर्णय गरेको हो । सर्वोच्च अदालतको आदेश र मन्त्रिपरिषद्को यही भदौ ९ गते निर्णय कार्यान्वयन गर्न मन्त्रालयले सो प्रक्रिया थालेको हो ।
सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार सरकारले पटक–पटक सूचना जारी गरी जानकारी गराउँदा पनि प्लेटफर्मले अटेरी गरेको हुँदा यस्तो बाध्यात्मक अवस्था आएको हो । “हाम्रो उद्देश्य सधैँलाई बन्द गर्न खोजिएको होइन, उनीहरु सम्पर्कमा आउना साथ पुनः सुचारु हुनेछ”, उहाँले भन्नुभयो, “सूचीकृत भइसकेका र प्रक्रियामा रहेकालाई बन्द गरिएको छैन ।”
मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले हालसम्म टिकटक, भाइबर, विटक, निम्बज र पोपो लाइभ सूचीकृत भइसकेका तथा टेलिग्राम र ग्लोबल डाइरी सूचीकृत हुने प्रक्रियामा रहेको जानकारी दिनुभयो । “मन्त्रालयले गरेको एक अध्ययनअनुसार नेपालमा हाल २५ वटा जति सामाजिक सञ्जाल प्लेटफर्म बढी सक्रिय रुपमा प्रयोग भएका छन्”, उहाँले भन्नुभयो, “तर, कति वटा बन्द हुन्छन् यकिन छैन ।”