अक्षरकुञ्जमा यो जिन्दगी लहरिएको पनि तीन दशक नाघेको छ । त्यो पनि वाम्बुले राई मातृभाषामा । हुन त आमाको गर्भगृहमै हुँदा सिकेको भाषा हो । कखरा सिकेर पाठशाला धाएको दुई दशकपछि मात्र मातृभाषा लेख्न सिकेको हो, देवनागरी लिपिमा । त्यसपछि सिकेको हो, किरात सिरिजङ्गा लिपि पनि । बाउ–आमाले पढ्नु पर्छ ठूलो । मान्छे हुनुपर्छ । भनेर पढी टोपलेको हो । तर तिनै बाउ–आमालाई कहिल्यै थाहा थिएन, मातृभाषा पनि लेख्न मिल्छ भनेर । बाजियोर (खसकुरा) सिक्नु पर्छ । पढ्नु पर्छ । लेख्नु पर्छ भन्नेसम्म थाहा थियो बाउलाई । यत्ति हो कि सावाँअक्षरदेखि दुनोटसम्म कन्ठै थियो । आमालाई त त्यो पनि थाहा छैन । किनभने ‘आईमाईले पढ्यो भने बोक्सी हुन्छ’ भन्ने त्रास पनि थियो । उसबखत अर्थात् सात दशक अघि अहिलेजस्ता गाउँघरमा स्कुल पनि थिएन । त्यो पनि राई किराती गाउँमा । हुन त कांग्रेस नेता बलबहादुर राई ०१५ सालमा एमपी भएपछि ओखलढुङ्गाको हिलेपानी गाउँमा एउटा स्कुल स्थापना गरिदिएकै थिए । त्यसैले बाउले पढ्न पाए, चार कक्षासम्म । बाउको धोको थियो– ‘मैले पढ्न पाइनँ । छोराहरू धेरै पढ्नु पर्छ ।’ हाम्रो पुस्तामै छोरा र छोरी दुई आँखाका नानी, दुवै बराबरी भन्ने समन्यायिक सिद्धान्त समाजमा फैलियो । नभन्दै बाउ–हामी तीन छोरा र दुई छोरीले कम्तिमा एसएलसी पास गर्यौं । आमाले पनि धन्न प्रौढ कक्षा पढ्न भ्याउनु भयो । तर अहिले आनन्दको सास फेर्दै सामाजिक सुरक्षा भत्ता बुझ्ने बेलामा उही बुढौऔंठाले ल्याप्चे लाउनु हुन्छ । बाउ छोटो मानाको हुनुहुन्थेछ्, चाँडै बित्नुभो । मलाई मेरा भाइबैनीले मातृभाषा लेख्न सघाएका छन् । निरन्तर तीन दशक अक्षरखेती धान्नेचाहिं मैमात्र हो ।
मातृभाषा लेखनको लहरो तन्किएको २०४८ देखि हो । उतिबेला नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य बैरागी काइँलाको संयोजकत्वमा ‘किरात भाषा कविता गोष्ठी’ भएको थियो । मैले पहिलो पटक वाम्बुले राई मातृभाषामा रचना वाचन गरेको थिएँ । वाम्बुले भाषा सार्वजनिक समारोहमा वाचन भएको त्यही नै थियो । २०५० सालदेखि ‘लिब्जु–भुम्जु’ (इक लिब्जु–भुम्जु) त्रैमासिक पत्रिका प्रकाशन आरम्भ भयो । म नै पत्रिकाको कार्यकारी सम्पादक रहें । आज २०८१ कात्तिक–पुससम्म पत्रिका निरन्तर प्रकाशित हुनु नै मेरो मातृभाषा यात्राको चिनो हो । अब लिब्जु–भुम्जुको १००औं अंक यही २०८१ माघ–चैतमा प्रकाशन तयारी छ । यही लिब्जु–भुम्जु त्रैमासिक वाम्बुले भाषाको सारथि पत्रिका हो । बितेका यी तीन दशकमा वाम्बुले राई शब्दकोश, लोकसाहित्य, मुन्दुम संस्कार–संस्कृति, कविता, नाटक, कथा, निबन्ध आदि विधाका तीन दर्जन कृति प्रकाशित भएका छन् । वाम्बुले भाषाका गीति एल्बम, वृत्तचित्र, चलचित्र बनेका छन् । साहित्यिक गतिविधिका हिसाबले २५औं वाम्बुले राई भाषाको कविता प्रतियोगिता २०८१ मंसिर २० गते सम्पन्न भएको छ । वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाले यसका आयोजना गर्दै आएको छ । लोकपरम्परालाई पुनःउत्थान गर्ने काम जारी छ ।
अब लागौं, कोभिड–१९ महामारी गहिरो खाडलतर्फ । यो कस्तो खाडल हो, कसैले पूर्वानुमान गर्नै नसक्ने । अकल्पनीय, धेरै गहिरो, निष्पट्ट, चकम्मन, अँध्यारो, हाउगुजी नै हाउगुजीको तरङ्ग लिएर आयो । सुरु–सुरुमा नाम पनि थाहा थिएन । एक्कैचोटि घरबाट बाहिर निस्किनै नहुने उर्दी आयो । सबै जना त्राहीमाम । खै के, खै के । सयौं माइल हिंडेर देहात गाउँ फर्किनेहरू लाम लाग्यो । खोटाङदेखि हुम्ला, जुम्लासम्म । रसुवा, नुवाकोटदेखि झापासम्म, काठमाडौंदेखि अछामसम्म पाइला नाप्ने जिन्दगीहरू कथै बेग्लै रह्यो । हामी राजधानी सहरमा बस्नेहरूको रमिता चल्यो । कत्तिले टीभीमा रमिता हेरे । कतिले पाइताला खियाएर भोकाहरूको भोक प्यास मेट्न सहयोग गरे । सहरका छाडा पशुचौपाया, सामुदायिक कुकुर, बिरालो, मठमन्दिर, सत्तल पाटीमा छरेका अक्षताबाट बाँच्दै आएका परेवा, बाँदरहरू भोकभोकै परे । स्याहारसुसारमा जुटे । यस्तै यस्तै भइरह्यो, कोभिड महामारीले । बुढापाकाहरूले भनेका छन्– हुलमुलमा जिउ जोगाउनू, अनिकालमा बिउ जोगाउनू । महामारीमा जिउ जोगाउनु नै एकमात्र विकल्प हो । बोल्ने मुखलाई मास्कले छोपेपछि कसले क्रन्दन सुनिदेओस् । स्यानिटाइजर घस्दाघस्दै हात पटपट फुटेको, छाला गएको पीडा हुँदै थियो । उकुसमुकुस जिन्दगीको छेउ पनि छैन । टुप्पो पनि भेटिदैन । उता चीनबाट विद्यार्थी नेपाली विद्यार्थी रोइकराइ आलापविलाप गरेपछि नेपाल ल्याइए । अन्तकाले सास्ती भोगे नै ।
क्षण–क्षणमै पुलिसको हुल साइरन बजाउँदै आइपुग्छन् । माइकिङ गर्दै कोही बाहिर ननिस्कनू भन्छन् । घरको छतमा चढेर बाहिर हेर्नै पनि कोरोना भाइरस लाग्छ भन्ने हाउगुजी छ । अझ सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमा ‘आज राति कोरोना भाइरसलाई निस्तेज पार्न सैनिकले हवाई जहाजबाट आकाशमा कीटनासक औषधि छर्दैछ कोही बाहिर ननिस्कनू’ हाउगुजी सन्देश प्रवाह हुन्छ । यस्तै यस्तै सुन्दै घरको कम्पाउण्ड बन्द गरेर भित्रै बस्नु पर्यो । हामीजस्ता देशको जिम्मेवार आमसञ्चार गृहमा काम गर्ने सञ्चारकर्मीसमेत अवफाहबाट आजित हुनुपर्यो । घरबाहिर निस्किनै नपाइने भएपछि के समाचार लेखिन्छ र ? घरमै बसेर फोन सम्पर्कको आधारमा समाचार लेख्न कार्यालयले भनेको छ । अनेकखाले अनलाइन समाचार हेरेर देशदुनियाँबारे जानकारी कत्ति लिने र फोनमा भनेकै भरमा कति विश्वास गरेर समाचार लेख्ने ? आज विश्वभरि यति जनालाई कोरोना भाइरस लाग्यो । यतिजनाले पीसीआर जाँच गरे । यतिजना मरे । लौ नेपालमा पनि यति जनालाई कोरोना लागेको पुष्टि भयो । सबैजना साबधान होऔं । कोरोनाले एकजना मान्छे मर्यो भनेपछि साँच्चै जनमानस त्रासको पारो नब्बे डिग्री नाघ्यो । ओल्लो घर र पल्लो घरबीच बोलीचालीसमेत टुट्यो ।
यस्तै बेला मलाई लाग्यो । अब यसरी हुन्न । महामारीको चिन्तामात्रै गरियो भने पत्रकारिताको आयु लम्बिदैन । त्यसैले मैले मातृभाषाको निम्ति केही लेख्नै पर्छ भन्ने सोचें । विज्ञजनहरूसित परामर्श लिएँ । त्यसमा नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले सुझाउनु भयो कि नेपालको इतिहास अन्वेषणमा हरेकजसोले उद्धृत गर्ने गोपालराजवंशावली हो । यो वंशावली ठिमीका कुनै एक नेवारले नेवारी भाषामा लेखेका थिए । त्यसैले वाम्बुले राई भाषामा पनि केही लेखेर राख्दा कालान्तरमा महत्व राख्नेछ । लेखेर राख्नू भन्ने सुझाव गुरुवरले शिष्यलाई सम्झाउनु भयो । त्यसपछि मैले सरकारले घोषणा गरेको २०७६ चैत ११ गते (सन् २०२० मार्च २४ तारिख) सोमबार बिहान ६ बजेबाट देशव्यापी लकडाउनलाई वाम्बुले भाषामा देवनारी लिपिमा दैनिक लेख्न थालें । दैनिकी भनेको दिनका दिन घट्ने घटनाको टिपोट हो । तर, मैले ऋतुचक्रलाई आधार मानेर वाम्बुले राई समुदाय सापेक्ष लेखन गरें । सामाजिक सञ्जालहरूमा देखिने सकारात्मक, नकारात्मक विषयदेखि अनेकथरी फोटाहरू, घटनाहरू लिपिवद्ध गर्न थालें । सरकारले ८३ सम्म लकडाउन जारी राख्यो । २०७७ जेठ ३२ गते (सन् २०२० जुन १४ तारिख) आइतबारसम्म निरन्तर डायरी लेखें ।
डायरीको आधारभूमि काठमाडौं उपत्यका रहेको छ । तर त्यसमा देश–विदेश रहेर कुन आफन्त, कुन पत्रकार साथी, कुन फेसबुक फ्रेण्डले कस्तो अनुभूति आफ्नो फेसबुकमा भित्तामा टाँस्यो ? र त्यो भित्तामा टाँडिएको सन्देशले कस्तो विषय बोकेको छ ? हाम्रो परम्परा के थियो र छ ? कोभिड महामारीलाई हामीलाई कसरी डोर्याउँदैछ ? प्रत्यक्ष भेटघाट नगर्दाका फाइदा के भयो या घाटा के केमा भइरहेको छ ? नेपाली समाजको परिवेशलाई उधिन्नय प्रयास गरेको छु भन्ने लाग्छ । यी यावत घटनाको दैनिक वाम्बुले मातृभाषामा छ । कतिपय प्राविधिक शब्दहरू अंग्रेजीमा छन् । नेपालीमा छन् ।
मैले सिधै कम्प्युटरमा टाइप गर्ने गरें । करिब एक लाख शब्द लेखिएछ । मैले यो लेखनलाई पुस्तक कृतिमा उतार्ने तयारी गरेको छु । ‘कोभिड–१९ ख्वा ज्वाल्तुमेइ रितुममुन्दुम’ (कोभिड–१९ ले उभारेको रीतिमुन्दुम) वाम्बुले राई भाषामा ८३ दिनको बन्दाबन्दी दैनिक पुस्तक तयार भएको छ । प्रकाशन बाँकी छ । लाग्छ, यो पुस्तकले विश्व गाँजेको कोरोना महामारी र समाजबारे केही बोकेको छ । मैले २०४८ सालदेखि २०७६ सालसम्म आइपुग्दा वाम्बुले मातृभाषामा लेखन अभियानमा धेरै जना स्रष्टालाई जोडेको छु । तर आफैंले दैनिक लेख्नुचाहिं साँच्चै गाह्रो काम हो भन्ने लाग्यो । एकोहोरो आफ्नो मौलिकपनहरूलाई केलाउँदै लेख्नु साँच्चै मजा आउँदोरहेछ । यदि मैले नेपाली भाषामा लेखेको भए, यसरी मजस्तै धेरैले लकडाउन डायरी लेखेकै हुुनुपर्छ । तर वाम्बुले राई भाषामा चाहिं लेखिएको छैन भन्ने मेरो दावी छ । आधा शताब्दी नाघ्दै गरेको जिन्दगीको फेरोमा टेकेर लेख्नु अल्लारेपन पनि होइन । यो यसरी लेखें ।
लेखिसकेपछि पुस्तक कृतिको आकार दिने सोचें । अनि बान्तावा मातृभाषाका लेखक तथा ग्राफिक डिजाइनर सुरज बान्तावा (सीताराम राई)लाई गुहारें । (उहाँको ३४ वर्षको उमेरमा २०८० वैशाख १६ गते, ललितपुरको असामयिक निधन भइसकेको छ ।) उहाँले ‘कोभिड–१९ ख्वा ज्वाल्तुमेइ रितुममुन्दुम’ किताब डिजाइन गरिदिनु भएको छ । उहाँको निधनसँगै ३२० पृष्ठको यो डायरी किताब डिजाइन अधुरो अवस्थामा रहेको छ । यसलाई पुनः डिजाइन गराउनु पर्ने हुन्छ । मातृभाषा कृति प्रकाशन गर्न लाग्ने आर्थिक लागतको अभावमा चार वर्ष बितिसक्दा पनि प्रकाशनमा ल्याउन सकिएको छैन ।
लेखक राई मानेभन्ज्याङ गाउँपालिका–६ सोक्मटार, ओखलढुङ्गा (हाल– गोदावरी नगरपालिका–२ किटाचौर नयाँ बस्ती, ललितपुर, नेपाल ।)