सोलार फार्म नेपालले चार प्रतिशत बोनस शेयर दिने

लण्डन । बेलायतका लगानीकर्ताहरूको नेतृत्वमा स्थापित सोलार फार्म नेपालले आफ्ना शेयरधनीहरूलाई यसवर्ष ४ प्रतिशत बोनस शेयर दिने भएको छ ।

कम्पनीको आज पोखरास्थित आक्वा पार्क रिसोर्टमा भएको वार्षिक साधारणसभाले सो प्रस्ताव पारित गरेको हो । साथै सो लाभांशवापत शेयरधनीले तिर्नुपर्ने शून्य दशमलव दुई प्रतिशत कर पनि कम्पनीले नै तिरिदिने बताइएको छ ।

कम्पनीका अध्यक्ष मोहन गुरुङको अध्यक्षतामा भएको सो साधारणसभामा प्रमुख कार्यकारी निर्देशक एलएन पाण्डेले कम्पनीको लेखापरीक्षकबाट प्राप्त प्रतिवेदनको सारांश पेश गरेका थिए भने अध्यक्ष गुरुङले कम्पनीको वार्षिक प्रतिवेदन पेश गरेका थिए । दुवै प्रतिवेदन साधारणसभाबाट पारित गरिएको थियो ।

सो अवसरमा पाण्डेले कम्पनीको नाफा गत वर्षको तुलनामा बढेको बताए । विगतमा पृथ्वी राजमार्ग निर्माणका कारण उत्पादित उर्जा बिक्रीमा केही अवरोध भएको र हाल बाटो निर्माण करिब सम्पन्न भइसकेकाले आगामी वर्षमा आम्दानी अझ बढ्ने उनले आँकलन गरे ।

साधारणसभामा सिइओ पाण्डे, निर्देशक विद्यावारिधि सिग्देलले शेयरधनीका विभिन्न जिज्ञासाहरूको जवाफ दिएका थिए ।

हाल तनहुँको बेलचौतारामा ५ मेगावाटको सौर्यउर्जा परियोजना सन्चालन गरिररहेको सोलार फार्म नेपालले रुपन्देही र कपिलवस्तुमा थप ९० मेगावाटको सौर्यउर्जा परियोजना सन्चालन गर्ने अनुमति पाइसकेको छ ।

सोलार फार्म नेपालले आफ्नो शेयर सर्वसाधारणलाई बिक्री गर्न आइपिओ निस्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा पनि आवेदन दिइसकेको छ।

कम्पनीले गतवर्ष पनि नगद लाभांश वितरण गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री