
लण्डन । बेलायत निवासी युवा साहित्यकार मुकाहाङ लिम्बूले १० हजार पाउण्ड स्टर्लिङ राशीको ‘द बोरो प्रेस पुरस्कार’ जितेका छन् ।
करिब २५० जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले सो पुरस्कार जितेका हुन् । यसका साथै उनले द बोरो प्रेसबाट पुस्तक प्रकाशनको सम्झौता पनि पाएका छन् ।
गत जनवरीमा एजेन्ट नभएका लेखकहरूबाट गैरआख्यान विधामा प्रतिस्पर्धा आह्वान गरिएको थियो । बेलायतको प्रख्यात टाइम्स पत्रिका र म्याडलिन मिलवर्न लिटरेरी एजेन्सीले सो प्रतियोगिता आयोजना गरेको हो ।
प्राप्त रचनाहरूमाथि निर्णय गर्न सम्पादक रोबी मिलेन, साहित्यिक एजेन्ट एमा बल, प्रकाशन संस्था हार्परकलिन्सका सम्पादन, बजार, बिक्री र प्रबर्धन कर्मचारीहरू रहेको एक निर्णायक मण्डल चयन गरिएको थियो । सो मण्डलले एकमतले लिम्बूको संस्मरण ‘एग फ्राइड राइस’लाई सर्वोत्कृष्ट ठहर्याएको हो ।
साथै लिम्बूले एमा बललाई साहित्यिक एजेन्ट बनाउन पनि पाएका छन् । उनको पुस्तक ‘एग फ्राइड राइस’ सन् २०२७ मा प्रकाशन हुने बताइएको छ ।
“एग फ्राइड राइसमा मुकाहाङ लिम्बुले प्रायः अदृश्य डायस्पोराको पहिचान र विरासतको खोजी तथा लेख्ने अभ्यासले कसरी जीवनका लुकेका कथाहरूलाई बाहिर ल्याउन मद्दत गर्दछ भन्ने देखाएका छन्”, द बोरो प्रेसले भनेको छ ।
प्रतियोगिताको नेतृत्व गर्ने हार्परकोलिन्सका सहायक सम्पादक जबिन अलीले भनेका छन्, “बरो प्रेस आफ्नो सूचीमा फराकिलो आवाजको प्रतिनिधित्व गर्न प्रतिवद्ध रहेको र मुकाहाङ लिम्बुको लेखन भेट्टाउन पाउँदा धेरै उत्साहित छौं ।”
”एग-फ्राइड राइस गीतिमय र उत्तेजक गद्यको साथमा आउँदै गरेको युगको सुन्दर संस्मरण हो । हामी यसलाई प्रकाशित गर्न पाउँदा धेरै गर्व गर्छौं”, अलीले भने ।
पुरस्कारको घोषणापछि लिम्बुले भने, “गद्य लेख्नु मेरो लागि एकदमै नयाँ हो र कहिलेकाहीँ मैले आफ्ना शब्दहरूलाई कसरी ठूलो ठाउँमा राख्ने भनेर रुने गरेको छु । त्यसैले पुरस्कार पाएको सुन्दा आश्वस्त र हौसला मिलेको छ। यो पुरस्कार प्राप्त गर्न पाउँदा सम्मानित भएको महसुस गरेको छु।”
“सबै जनासँग सुनाउनको लागि केही बढी नै कथाहरू हुन्छन् । नेपाली समुदाय र मेरी आमासँग निश्चित रूपमा धेरै कथा छन् र म धेरै खुसी छु कि मैले आफ्नो अंश सुनाउने मौका पाएको छु”, उनले थपे ।
साहित्यिक एजेन्ट एमा बलले पुरस्कारको एक हिस्सा हुन पाउँदा धेरै खुसी लागेको र यो प्रक्रियामा मुकाहाङ लिम्बुको प्रतिभाशाली काम पत्ता लगाउन पाउँदा अझ खुसी लागेको बताएकी छिन् । मुकाहाङमा कवि मनको मिहिन र चन्चल लेखनशैली तथा कडा उर्जा रहेको बलको भनाइ छ । मुकाहाङको डेब्यू संस्मरणले बेलायतमा नेपाली समुदायका बारेमा अनौठो सारांश प्रस्तुत गर्ने तथा प्रसिद्ध विश्वविद्यालय रहेको अक्सफोर्ड शहरमा श्रमिक वर्गमा हुर्किँदा कस्तो हुन्छ भन्ने पनि देखाउने उनको ठहर छ ।
पूर्व गोरखा सैनिकका पुत्र लिम्बु बेलायती-नेपाली लेखक हुन् । उनले अक्सफोर्ड विश्वविद्यालयको क्वीन्स कलेजबाट स्नातक गरेका छन् । उनले तीन पटक फोयल युवा कविको उपाधि जितिसकेका छन् । उनले फर्स्ट स्टोरी कम्पिटसिन र आउट-स्पोकन पुरस्कार पनि पाइसकेका छन् । उनी बेलायतको न्याशनल पोइट्री कम्पिटिसन र र फर्वार्ड पुरस्कारको लागि पनि अन्तिम सूचीमा परिसकेका छन्। उनका कविताहरू इङ्गल्याण्ड: पोम्स फ्रम ए स्कूल (पिकाडोर, २०१८), पोएट्री लन्डन, द सन्डे टाइम्स र विभिन्न प्रमुख संयुक्त कवितासंग्रहहरूमा प्रकाशित भएका छन्। उनको पहिलो पम्फलेट ‘मदर अफ फ्लिप-फ्लप्स’ (आउट-स्पोकन प्रेस, २०२२) द पोएट्री बुक सोसाइटीको पम्फ्लेट च्वाइसको रूपमा छनोट भएको थियो । उनले एरिक ग्रेगरी पुरस्कार र हार्पर-वुड पुरस्कार पाइसकेका छन् ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल