
लन्डन । हितकाजी गुरुङ नेतृत्वको गैर आवासीय नेपाली संघ (एनआरएन) यूकेको सक्रियतामा गैरआवासीय नेपाली नागरिकतासम्बन्धी एक बहस सञ्चालन हुने भएको छ ।
सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स यूकेको आयोजना र एनआरएनए यूकेको सहयोगमा यही अगस्ट १७ तारिख आइतबार लन्डनमा गैर आवासीय नेपाली नागरिकता बहस वर्कसप गरिने भएको हो । कार्यक्रम वुल्लीचस्थित लाइब्रेरी बिल्डिंगको सातौं तलामा मध्याह्न १२ देखि साँझ ६ बजेसम्म हुनेछ । कार्यक्रममा नेपाल तथा बेलायतका विषय विज्ञहरुले प्रिजेन्टेसन गर्ने आयोजकले जनाएको छ ।
एनआरएनए यूके महासचिव गोविन्द खरेलका अनुसार कार्यक्रममा सहभागी हुन सर्वोच्च अदालतका न्यायाधीस एवम् अधिवक्तासहितका विज्ञ बेलायत आउँदै हुनुहुन्छ । त्यस्तै, सोसाइटी अफ नेप्लिज प्रोफेसनल्समा आबद्ध विषयविज्ञहरुले पनि कार्यक्रममा प्रिजेन्टेसन गर्नेछन् । सो अवसरमा एनआरएनए यूकेका अध्यक्ष हित काजी गुरुङले पनि नागरिकतासम्बन्धी एनआरएनए अभियान र सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स् यूकेसँग हुन सक्ने सहकार्यबारे मन्तव्य राख्नुहुनेछ ।
कार्यक्रम नेपालको संविधानमा भएको गैर आवासीय नेपाली नागरिकतासम्बन्धी व्यवस्थाबाट प्राप्त उपलब्धिहरु, आउन सक्ने समस्याहरु तथा सम्भावित समाधानका उपायसम्बन्धी रिसर्च तथा नतिजा प्रकाशनमा केन्द्रित रहनेछ ।
एनआरएनए यूके अध्यक्ष गुरुङले गैरआवासीय नेपालीहरुको सबैभन्दा ठूलो चासो र चिन्ता रहेकाले नागरिकताको विषयलाई प्राथमिकतासाथ अघि बढाउन लागिएको बताउनुभयो । नागरिकताबारे बेलायतवासी आम नेपालीलाई सुसूचित गर्ने र नेपालको राजनीतिक नेतृत्वलाई झकझकाउने कार्यलाई एनआरएनए यूकेले तीव्र रुपमा अगाडि बढाउने अध्यक्ष गुरुङले बताउनुभयो ।
कार्यक्रममा उपस्थित भएर नागरिकता बहसमा सहभागी हुन आयोजक सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स यूके र एनआरएनए यूकेले इच्छुक बेलायतवासी नेपालीहरुलाई आह्वान गरेका छन् । कार्यक्रममा उपस्थित हुन नसक्नेहरुले इमेलमार्फत आफ्ना जिज्ञासा वा धारणा पठाउन सक्ने र तीनलाई कार्यक्रममा यथोचित स्थान दिइने समेत एनआरएनए यूकेले जनाएको छ ।
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
बेलायतद्वारा रूस विरुद्ध नयाँ प्रतिबन्ध घोषणा
सावित्राको उपचारका लागि खर्च जुट्यो, रकम सङ्कलन रोक्न आग्रह
अमेरिकामा नयाँ कर लागू
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस