लन्डन । बेलायतस्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् युकेले विभिन्न कार्यक्रम गरी २११औँ भानु जयन्ती मनाएको छ ।
परिषद्का अध्यक्ष कवि कोमल मल्ललगायत परिषद्का पदाधिकारी लेखकहरू ध्रुव केसी, गोपाल पौड्याल आदि सर्जकका पुस्तकहरू प्रकाशन गरेर परिषद्ले नेपाली साहित्यको विकासमा थप योगदान पुर्याएको चर्चा गर्नुभयो ।
समारोहमा आदिकवि भानुभक्त आचार्यको जीवनीबारे प्रकाश पार्नुहुँदै भाषा साहित्य विश्लेषक डा.धर्म थापाले त्यसबेला अत्यन्त अविकसित समाज रहेको बेला आदिकवि भानुभक्तले नेपाली भाषामा जुन रामायणीय साहित्यको मौलिक लहर चलाए त्यो आफैमा एक साहसिक कदम रहेको र त्यसले नेपाली साहित्यको यात्रा तथा सामाजको चेतना र एकता जागरण गर्नमा महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो । डा.थापाले विश्वलाई नेपालले मानव समाजका लागि अतुलनीय संस्कृति दिएको चर्चा गर्नुहुँदै आलोचकहरूले भानुभक्तका केही नारीमा समर्पित उपदेशमूलक कविताहरूको गलत अर्थ्याएर आलोचना गर्ने गरेको भन्दै यथार्थमा आदिकवि भानुले नारीको सम्मान र अस्मिता रक्षाको पक्षमा ती कविताहरू रचेकाले त्यसलाई सकारात्मक सोचबाट हेर्नु आवश्यक रहेको धारणा राखे ।

परिषद्का अध्यक्ष कोमलप्रसाद श्रेष्ठ मल्लले नेपाली साहित्य विकास परिषद् युकेले आफ्नो स्थापनाकाल सन् १९९५ देखि नै बेलायतमा भानु जयन्ती मनाउँदै आएको उल्लेख गर्नुहॅुदै नेपाली पहिचान युगयुगसम्म जिवन्त राख्न हाम्रो भाषा, साहित्य, संस्कृतिजस्ता चिनारीहरू जोगाउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।
त्यसअघि परिषद्का पूर्वअध्यक्ष तथा बीबीसी नेपाली सेवाका पूर्वसञ्चालक खगेन्द्र नेपालीले कोमल मल्लको विमोचित कवितासङ्ग्रह ‘माटोसँग के मागुँ’ पुस्तकमाथि समीक्षा गर्नुहुँदै पुस्तकभित्र कवि कोमलले सिङ्गो देश बोकेको र विसङ्गति-विकृतिप्रति निडर भएर उभिएको बताउनुभयो । पुस्तकभित्र मायाप्रीतिदेखि देशभक्ति र राष्ट्रिय चिन्तनसम्मका अत्यन्त सटिक मार्मिक कविता गीत र मुक्तकहरू समेटेर सन्तुलित साहित्यिक खुराकको रूपमा यो कवितासङ्ग्रह रहेको उहाँले चर्चा गर्नुभयो । साथै पूर्वअध्यक्ष नेपालीले आदिकवि भानुको योगदान र प्रेरणा नेपाली समाजमा अभिन्न रूपले भिजेको छ भन्नुहुँदै नेपाली साहित्य विकास परिषद्ले बेलायतमा भानुको सम्मान र कृतित्व फैलाउने कार्य परिषद्को स्थापनाकालदेखि नै निरन्तर गर्दै आएको उल्लेख गर्नुभयो ।
यसैगरी परिषद्का संस्थापक तथा पूर्वअध्क्ष वरिष्ठ साहित्यकार सुरेशजङ्ग शाहले समारोहमा विमोचित ध्रुव केसीको इन्द्रेणीदेखि बेलायतसम्म जीवनी र डा.गोपाल पौड्यालको प्रिय चरी खण्ड काव्य पुस्तकहरूबारे समीक्षा गर्नुभएको थियो । वरिष्ठ साहित्यकार शाहले लेखक ध्रुव केसीले इन्द्रेणीदेखि बेलायतसम्म पुस्तकमा आफ्नो जीवनका कलिला पक्षदेखि वर्तमान अवस्थासम्मको समयको गति र जीवन प्रवाह उतारेको चर्चा गर्नुहुँदै देशप्रेमी समाजसेवी सर्जक ध्रुव केसीले पुस्तकभित्र व्यक्तिगत जीवन पारिवारिक जीवन र सामाजिक जीवन गरी तीन पक्षमा समर्पित आफ्नो जीवनका गतिविधिहरू दस्तावेजमा उतारेर भावी पिढीलाई प्रेरणामूलक अनुकरणीय इतिहास सुम्पेको बताउनुभयो ।
यसैगरी शाहले डा.गोपाल पौडेलले प्रिय चरी खण्ड काव्यमा एक जोडी चराको दाम्पत्य जीवनको कथा बुनेर सृष्टि र चराचर जगतको अन्तर सम्बन्ध र सौन्दर्यलाई बढो मार्मिक श्लोकहरूमा एउटा दर्शन चित्रण गरेको चर्चा गर्नहुँदै प्रकृतिको रचनामा मानव जगत अरू चराचर जगत जतिकै सौन्दर्य प्रवाह हुन नसकेको र विनासको कारक बनेकोले प्रकृतिलाई असैह्य बनाएको सन्देश प्रस्टाएको उल्लेख गर्नुभयो ।
कार्यक्रम सञ्चालन गर्नुहुँदै परिषद्की सहअध्यक्ष डा.सुधा श्रेष्ठले सामाजिक एकता र चेतनाको विकासमा भानुभक्तको साहित्यिक योगदान अत्यन्त महत्वपूर्ण रहेको चर्चा गर्नुभयो । बेलायतमा परिषद्ले भानुको सम्झनामा हरेक वर्ष भानु जयन्ती मनाएर साहित्यिक गतिविधिमात्र बढाएको होइन समाजलाई सिर्जनशील हुन पनि प्रेरणा जगाइरहेको बताउनुभयो । डा. श्रेष्ठले समारोहमा विमोचित तीनवटै पुस्तकहरूले समाजको प्रछाइँलाई समग्रमा बोकेको बताउनुभयो ।
यसअघि स्वागत मन्तव्य दिनुहुँदै परिषद्का सहअध्यक्ष रेशम अर्यालले जसरी समग्रहमा नेपाली भाषा साहित्यका कुरा आउँदा आफूहरु सँधै आदिकवि भानुभक्तलाई सम्झने गर्दछौं र त्यसरी नै हामीले सिर्जनशील भएर नेपाली भाषा साहित्यको गोडमेलमा लाग्यौ भने आदिकविप्रति सच्चा श्रद्धाञ्जली पुग्ने धारणा राख्नुभयो । सहअध्यक्ष अर्यालले परिषद्ले यही उद्देश्य बोकेर परिषद्को स्थापनाकाल सन् १९९५ देखि नै भानु जयन्ती मनाउँदै आएको चर्चा गर्नुभयो ।
आदिकवि भानुभक्त आचार्यको तस्बिरमा माल्यार्पणबाट आरम्भ भएको समारोहमा परिषद्का पूर्वअध्यक्ष वरिष्ठ साहित्यकार कवि हरिसिंह थापाले भानुभक्तका रामायणका श्लोकहरू वाचन गर्नुभएको थियो भने परिषद्का सल्लाहकार तथा पूर्वसहअध्यक्ष डा.गोपाल पौड्यालले भानुभक्तले आफ्ना छोरालाई लेखेको हस्तलिखित चिठी पढेर सुनाउनुभएको थियो ।
यसअघि समारोहमा प्रमुख अतिथि परिषद्का वरिष्ठ प्रमुख सल्लाहकार डा.राघवप्रसाद धितल ओबीईले परिषद्का अध्यक्ष वरिष्ठ कवि कोमल मल्लद्वारा लिखत माटोसँग के मागुँ कवितासङ्ग्रह, वरिष्ठ सहअध्यक्ष लेखक ध्रुव केसीद्वारा लिखित इन्द्रेणीदेखि बेलायतसम्म जीवनी पुस्तक र सल्लाहकार वरिष्ठ कवि डा. गोपाल पौडेलद्वारा लिखित प्रिय चरी खण्ड काव्य पुस्तक गरी तीनवटा पुस्तकहरूको विमोचन गर्नुभएको थियो भने परिषद्की सहअध्यक्ष कवयित्री डा. सुधा श्रेष्ठलाई प्रशंसापत्रद्वारा सम्मान गर्नुभएको थियो ।
दोस्रो चरणको कवि गोष्ठी कार्यक्रममा कविता वाचन गर्ने र वाचनका लागि कविता पठाउने कवि कवयित्रीहरूमा वसन्त रायक्षेत्री, हरिसंह थापा, ध्रुव केसी, रेशम अर्याल, रूकमणि मानन्धर, डा. सुधा श्रेष्ठ, डा.गोपाल पौडेल, कोमल मल्ल, सुरेशजंग शाह, घनबहादुर थापामगर, वासु शर्मा र वासुदेव साप्कोटा हुनुहुन्थ्यो ।
कार्यक्रमको अन्तमा परिषद्को तर्फबाट अध्यक्ष कोमलप्रसाद श्रेष्ठ मल्लबाट समारोहलाई सफल बनाउन आर्थिक तथा भौतिक सहयोग पुर्याउनुहुने विशिष्ट पदाधिकारी व्यक्तित्वहरू डा. राघवप्रसाद धिताल ओबीई तथा डा. जनककुमारी धिताल, खगेन्द्र नेपाली, घनबहादुर थापामगर तथा कृष्णा थापामगर, ध्रुव केसी, गोपाल पौडेल, यति नेपाली एशोसिएसनका महासचिव टंक भट्टराई, कोहिनूर मल्ल, ज्ञानेन्द्र राउत, डा.सुधा श्रेष्ठ र एबीआई कलेजका प्रोप्राइर डाइरेक्टर तथा परिषद्का सल्लाहकार कृष्ण भट्टमा धन्यवाद ज्ञापन गरिएको थियो ।
समारोहमा स्वागत मन्तव्य सहअध्यक्ष रेशम अर्यालबाट र उद्घोषण सहअध्यक्ष डा.सुधा श्रेष्ठ तथा सभापतित्व अध्यक्ष कोमल मल्लले गर्नुभएको थियो ।
नेपाल युके रनको पहलमा भ्यालेन्सिया म्याराथनमा सहभागी सन्तोषी श्रेष्ठको राष्ट्रिय कीर्तिमान
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
जर्मनीका राष्ट्रपति स्टेनमेयर बेलायत भ्रमणमा