बाइसौँ गोर्खा कपमा ब्रिगेड ब्वाइजको वर्चस्व

तस्वीरहरू मिलन तमु गुरुङ/ एसके गुरुङ

लण्डन । बेलायतका नेपालीहरुबीच लोकप्रिय गोर्खा कपमा यस वर्ष ब्रिगेड ब्वाइज क्लवले वर्चस्व जमाएको छ । तीन वटा विधामा खेलाइएको खेलमा दुई विधामा ब्रिगेड व्वाइज विजेता बन्न पुगेको छ ।
अल्डरसटस्थित क्वीन्स एभेन्यूमा शनिबार भएको फाइनल खेलमा वाटरमेलन फुटबल क्लव (एफसी)लाई १–०ले हराउँदै ब्रिगेड व्वाइज क्लवले मुख्य विधाको उपाधि हात पारेको हो ।
ब्रिगेड व्वाइज क्लवले ३ हजार पाउण्डको चेकसहित शिल्ड र ट्रफी हात पार्यो ।
उपविजेता बनेको वाटरमेलन एफसीले १ हजार ८०० पाउण्डको चेकसहित ट्रफी पायो ।
मुख्य विधामा राहुल लिम्बु सर्वाधिक गोलकर्ता भए भने कल हेच म्यान अफ द म्याच भए । उत्कृष्ट व्यवस्थापकको उपाधि वाटरमेलनका सन्देश गुरुङले पाए ।
उता ४० वर्ष माथिका खेलाडीहरुबीचको प्रतिष्पर्धा (भेट्रान) मा पनि ब्रिगेड व्वाइज क्लवले जीत हासिल गर्यो । ब्रिगेड व्वाइजले फाइनलमा धरान ११ लाई २–० ले हराएको थियो । जीतसँगै ब्रिगेड व्वाइजले १ हजार ५०० पाउण्डको चेक र ट्रफी हात पार्यो । उपविजेता बनेको धरान ११ ले १ हजार पाउण्डको चेक र ट्रफी पायो ।
भेट्रानतर्फ सर्वाधिक गोलकर्ता धरान ११ का दुर्गा लिम्बु भए भने उत्कृष्ट खेलाडी ब्रिगेड ब्वाइजका जगत गुरुङ भए । उत्कृष्ट व्यवस्थापकको उपाधि ब्रिगेड ब्वाइजका खोम गुरुङ भए ।
प्रतियोगितामा भएको महिला फुटबलतर्फ गतवर्षकै विजेता रनडरबोल्ट एफसीले म खेल्छु एफसीलाई १–० ले हराउँदै यसवर्ष पनि उपाधि जित्यो । उसले ६०० पाउण्डको चेकसहित ट्रफी पायो । उपविजेता बनेको म खेल्छु एफसीले ४०० पाउण्डको चेक र ट्रफी पायो । वेष्ट प्लेयर म खेल्छु टीमकी एम्मा म्यारी मच भइन् ।


विजेता, उपविजेता, सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी र उत्कृष्ट व्यवस्थापकलाई प्रमुख अतिथि रसमोर काउन्सिलका मेयर मारा माकुनुरा, विशेष अतिथि नेपाली दुताबासका उपनियोग प्रमुख श्रीमती रोशन खनाल, बेलायतका रक्षा राज्य मन्त्री लियो डोकोर्टी, ब्रिगेड अफ गोर्खाजका कर्णेल, अल्डरसटस्थित क्यूओजीएलआरका गोर्खा मेजर, तमु धिँ युकेका अध्यक्ष हरि गुरुङ र पुरस्कारका स्पोन्सरहरुले चेक, ट्रफी र प्रमाणपत्र वितरण गरेका थिए ।
तमुधिँ युकेका अध्यक्ष हरि गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि रसमोर काउन्सिलका मेयर मारा माकुनुरा, नेपाली दुताबासका श्रीमती रोशन खनाल र बेलायतका रक्षा राज्यमन्त्री लियो डोकोर्टीले मन्तब्य दिएका थिए । महासचिव डा विशाल गुरुङले सञ्चालन गरेको सो कार्यक्रममा खेलकुद सचिव क्याप्टेन दीपकराज घलेले तमुधिँ गोर्खा कपमार्फत गरिरहेको परोपकारी कार्यका बारेमा जानकारी दिएका थिए । सो अवसरमा रसमोरका मेयर र गोर्खा वेलफेयर ट्रष्टलाई तमुधिँका तर्फबाट ५५५ पाउण्डको अलग अलग चेक पनि हस्तान्तरण गरिएको थियो ।

खेलको बीचबीचमा नेपालबाट आएका कलाकारहरु र सयपत्री साँस्कृतिक समूहले देशभक्तिका गीत र नृत्य प्रस्तुत गरेका थिए ।
तमुधिँ युकेले २२ वर्षदेखि बेलायतमा गोर्खा कपको आयोजना गर्दै आएको छ ।
बेलायतका नेपालीमाझ भेटघाट गर्ने, व्यापार प्रवर्धन गर्ने थलोका रुपमा समेत कहलिएको गोर्खा कपमा करिब १४ देखि १५ हजार मानिसहरु उपस्थित भएको आयोजकको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री