गोर्खा कपमा ५० टीम भिड्दै

तस्वीर मिलन तमु

लण्डन । बेलायतका नेपालीहरूबीच लोकप्रिय गोरखा कपमा यस वर्ष विभिन्न विधामा ५० वटा टीमले प्रतिस्पर्धा गर्ने भएका छन् ।

मे २६ का दिन अल्डरसटस्थित क्वीन्स एभेन्यूमा हुने यो खेलमा मूल विधामा ३२ टीमले, भेट्रान समूहमा १६ टीमले र दुई महिला समूहले भाग लिने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

तमु धिँ युकेले २२ वर्षदेखि आयोजना गर्दै आएको गोरखा कपमा यस वर्ष केही नयाँ गर्ने ‘दुस्साहस’ गरिएको अध्यक्ष हरि गुरुङले जानकारी दिनुभयो । उनले विगतका वर्षहरूमा देखिएको ट्राफिकको समस्यालाई समाधान गर्न फार्नब्रो रोडबाट पनि प्रवेश र निस्किने व्यवस्था मिलाएको र फुटबल टीम पनि थपिएको बताउनुभयो ।

फुटबल प्रतियोगतातर्फ संयोजन गरिरहनुभएका सहारा युकेका पूर्व अध्यक्ष कुमार गुरुङले मूल विधातर्फ ५० टीमले आवेदन गरेकोमा ३२ टीमलाई समावेश गरिएको र चारवटालाई जगेडामा राखिएको जानकारी दिए । उनले यसवर्ष गोरखा कप १२ वटा पीचमा खेलाइने पनि बताउनुभयो ।

तमुधिँ युकेका स्पोर्टस सचिव क्याप्टेन दीपकराज घलेले युवावर्गलाई खेलकुदमा आकर्षित गरी कुलतबाट टाढा राख्न, नेपालीलाई बेलायती समाजमा अन्तरघुलन र सहकार्यमा सघाउन, बेलायतमा रहेका नेपालीहरुबीच भेटघाट हुने थलोका लागि र विभिन्न परोपकारी कार्यमा सहयोग जुटाउन गोरखा कप आयोजना गरिएको बताए ।

यसपटक गोरखा कपको मूलविधाका विजेतालाई ३ हजार पाउण्ड नगदका साथ कप र ट्रफी, उपविजेतालाई १ हजार ८०० पाउण्ड नगद र ट्रफी र प्रमाणपत्र दिइनेछ । भेट्रानतर्फ विजेतालाई १ हजार ५०० पाउण्ड नगद, कप र ट्रफी, उपविजेतालाई १ हजार २०० पाउण्ड नगद, ट्रफी र प्रमाणपत्र दिइनेछ । महिलातर्फ भने विजेतालाई ६०० पाउण्ड र उपविजेतालाई ४०० पाउण्ड पुरस्कार दिइनेछ ।

पुरस्कारको राशी पनि गत वर्षको तुलनामा वृद्धि गरिएको स्पोर्टस सेक्रेटरी घलेले बताए ।

मूलविधातर्फको विजेता र उपविजेताको पुरस्कारको प्रायोजन रिया मनी ट्रान्सफर र डा टङ्क भट्टराईले गरेका छन् भने भेट्रानतर्फको विजेता र उपविजेताको पुरस्कारको प्रायोजन नेपब्रिज सेक्युरिटी र एनआरएनए युकेका अध्यक्ष हितकाजी गुरुङले गरेका छन् । महिला तर्फको उपविजेताको पुरस्कारको प्रायोजन डा कमल अर्यालले गरेका छन् भने हरेक विधाका उत्कृष्ट खेलाडीहरूलाई गोरखा वाचले घडी प्रदान गर्ने भएको छ ।

यसवर्षको गोरखा कपमा नेपाली समुदायबाट बेलायतको व्यावसायिक फुटबल खेलिरहेका किभान राई, विभेष गुरुङ र गोराक घले पनि आउने बताइएको छ । विगतमा अर्को व्यावसायिक महिला खेलाडी अस्मिता आले पनि गोरखा कपमा आएकी थिइन् ।

करिब १० हजार मानिसहरूले अवलोकन गर्ने गोरखा कपमा रेस्टुरेन्ट, विभिन्न व्यापारिक उत्पादन र सेवाका १००भन्दा बढी स्टलहरू रहने छन् भने चिकित्सक र स्वास्थ्यकर्मीहरूले स्वास्थ्य परीक्षण पनि गर्ने छन् ।  

गोरखा कप आयोजना गर्न यसवर्ष करिब ५५ हजार पाउण्ड लागत लाग्ने र इभेन्टको तीन दिन दिनहुँ करिब ३०० जना स्वयंसेवक परिचालन हुने बताइएको छ ।

तमुधिँ युकेका अध्यक्ष हरि गुरुङको अध्यक्षता, महासचिव डा विशाल गुरुङको सन्चालनमा भएको पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङले स्वागत मन्तब्य व्यक्त गरेका थिए । मिडिया सचिव एसके गुरुङले पत्रकारहरूको परिचय गराएका थिए भने सहारा युकेका अध्यक्ष लेप्टेन कुसाङ गुरुङ र पूर्व अध्यक्ष कुमार गुरुङले गोरखा कपमा भाग लिने टोलीहरूको ड्र गराउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री