मानव सेवा आश्रमका लागि बेलायतमा उठ्यो डेढ करोड रुपियाँ

काठमाडौँ । मानवसेवा आश्रम सहयोगार्थ बेलायतमा एक करोड ५० लाखभन्दा बढी रकम जुटेको छ ।
सो सहयोग संकलनका आयोजना गरिएको च्यारिटी कार्यक्रममा सरिक हुन आउनुभएकी गायिका आनी छोइङ डोल्मा नेपाल फर्किसक्नु भएको छ । आश्रमको विसं २०८२ सालभित्र सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने सङ्कल्पलाई पूरा गर्न सघाउने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको थियो ।
वैशाख २३ गते बेलायतको क्याम्वर्लीस्थित कन्ट्री क्लवको हलमा आयोजित ‘इनर मेलोडी फर इनर पिस लाइभ कन्सर्ट’ र त्यसलगतै विभिन्न स्थान आयोजना भएको ‘मिट एण्ड ग्रिट’कार्यक्रमबाट मानवसेवा आश्रमसँग सहयात्रा र मानवता प्रवर्धन सघाउन पाउँदा आनीले खुसी व्यक्त गर्नुभएको छ ।
कार्यक्रममा रु ५२ लाख टिकट विक्रीबाट, २० लाख स्पोन्सरबाट र ८ लाख ४१ हजार रुपैया आनी छोइङ ड्रोल्माज्यूको अटोवायोग्राफी पुस्तक बिक्रीबाट संकलन भएको बताइएको छ । यस क्रममा पाँच जनाले मानवसेवा आश्रमले नेपालको विभिन्न जिल्लामा निर्माण गरिरहेको भवन निर्माणको लागि एक कोठा निर्माण सहयोगस्वरुप रु पाँच लाख ११ हजार एक सय ११ र ३२ जनाले आजीवन वार्षिक भोजनसेवा सदस्यता ग्रहण गरी मानवसेवा आश्रमको अक्षयकोष वृद्धिका लागि रु एक लाख ११ हजार एक सय ११ योगदान गर्नुभएको छ । यस्तै, मासिक रु आठ हजार योगदान गर्ने गरी १७ जना बालबालिकाको र मासिक पाँच हजार योगदान गर्ने गरी पाँच आमाबुबाको मासिक खर्च व्यहोर्ने हुनुभएको छ ।

तस्वीरहरू मिलन तमु

कन्सर्टसँगै बेलायतस्थित नेपाली दूतावास, स्कटल्याण्डको ग्लास्को र एडिनबरा, अल्टरसट गुम्बा, रिडिङ गुम्बा र प्लम्स्टिड गुम्बा, शिव मन्दिर अल्डरसट र बेलायतस्थित श्रीलङ्काको दूतावासमा ‘मिट एण्ड ग्रिट’कार्यक्रम आयोजना भएको थियो । प्रसिद्ध गायिका आनी छोइङको कन्सर्ट र बेलायत यात्राले मानवसेवा आश्रमको सेवा प्रवाहमा टेवा पुर्याउने मानवसेवा आश्रम बेलायत च्यापटर संयोजक सुनिलबाबु खड्काले बताउनुभयो ।
मानवसेवा आश्रमका प्रमुख संस्थापक रामजी अधिकारीले मानवसेवा आश्रम युके च्यापटरले सम्पूर्ण बेलयतबासी नेपालीहरुको मन जित्न सक्नेगरी कन्सर्ट आयोजना गरी लक्ष्य अनुसारकै सहयोग जुटाउन सकेकोमा धन्यवाद दिँदै २०८२ सालभित्र सहयोगापेक्षी सडकआश्रित मानवमुक्त देश घोषणा गराउन सकेको साथ र सहयोग आवश्यक पर्दछ भन्नुभयो ।
मानवसेवा आश्रमले २०८२ सालभित्र नेपाललाई खुला आकाशमुनि सडकपेटी एवं सार्वजनिकस्थलहरुमा कष्टपूर्ण जीवन बिताउन विवस सहयोगापेक्षी (बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिकरुपमा कमजोर) सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने सङ्कल्प लिएको छ । उक्त संकल्पलाई पुरा गर्न देशको सात प्रदेशका १९ जिल्लामा २४ सेवा केन्द्र सञ्चालनमा ल्याई ७७ ओटै जिल्लाबाट सहयोगापेक्षीहरुको उद्धार गर्दै आइरहेको आश्रमले हालसम्म १० हजार बढीको उद्धार गरी मानवोचित व्यवस्थापन गरिसकेको छ भने हाल देशरभर रहेका आश्रमका सेवा केन्द्रहरुमा एक हजार छ सय ५३ जना संरक्षणमा रहनुभएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री