गुरुङ सोसाइटी केन्ट यूकेको वार्षिक साधारण सभा सम्पन्न

लन्डन । गुरुङ सोसाइटी केन्ट यूकेको १६ औं वार्षिक साधारणसभा २७ अप्रिल २०२४, शनिबारको दिन आशफोर्डको पार्क मलमा समाजका अध्यक्ष क्याप्टेन डोलबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको छ ।

सो साधारण सभामा आजिवन सदस्यहरुका साथै समाजका जेष्ठ नागरिकहरुको पनि उपस्थिति रहेको थियो ।

समाजका महासचिव तोरण गुरुङले सञ्चालन गरेको उक्त साधारण सभालाई अध्यक्ष क्याप्टेन डोलबहादुर गुरुङ र समाजका जेष्ठ नागरिक क्याप्टेन रिटायर्ड देवीजङ गुरुङबाट पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरिएको थियो भने उपस्थित सबैजनालाई प्रथम उपाध्यक्ष गोलमान गुरुङले स्वागत मन्तव्य दिएका थिए । साथै, अध्यक्ष गुरुङले वर्षभरि भएका, हुँदै गरेका र आगामी दिनहरुमा समाजले गर्नुपर्ने महत्वपूर्ण भावी कार्ययोजनाहरु अगाडी बढाउँदै लैजानेमा जोड दिए ।

त्यसैगरी समाजका कोषाध्यक्ष क्याप्टेन भिष्म गुरुङले आर्थिक प्रतिवेदन विवरण प्रष्ट रुपले प्रस्तुत गरे भने साँस्कृतिक उपसंयोजक उमादेवी गुरुङ, महिला संयोजक तारादेवी गुरुङ, खाना ब्यबस्थापन संयोजक शेर गुरुङले आ-आफ्नो प्रतिवेदनहरु प्रस्तुत गरे । कार्यक्रममा महासचिव तोरण गुरुङले वार्षिक प्रतिवेदन प्रष्टसँग प्रस्तुत गरे । त्यसैगरी समाजका सल्लाहकार एवम तमु धीँ यूकेका वर्तमान अध्यक्ष हरि गुरुङले तमू (गुरुङ)हरुको धार्मिक, साँस्कृतिक एवं सामाजिक महत्त्व बोकेको ऐतिहासिक थलो क्होलासोथर भ्रमणको बारेमा जानकारी गराउँदै समाजले गरेका कामहरुको प्रसंशा गर्दै आफ्ना मार्ग निर्देशनका भनाइहरु राखे ।

समाजका निवर्तमान अध्यक्ष राजदेवी गुरुङले समाजले गरेको उत्कृष्ट कामहरुको प्रसंशा गर्दै आफ्ना सान्दर्भिक भनाइहरु राखिन् । कार्यक्रममा समाजका सल्लाहकार एवम पूर्व अध्यक्ष शोभराज गुरुङ र बलराम गुरुङले समाजको उद्देश्य पूरा गराउन र समाजले खेल्दै आएको उल्लेखनीय भूमिकाहरुबारे कार्यसमितिको प्रसंशा गरे । साधारणसभामा प्रस्तुत गरिएको विभिन्न महत्वपूर्ण प्रस्तावहरु उपस्थित भएका सदस्यहरुले सक्रियतापूर्वक छलफल गरेका थिए । सभामा सहभागीहरुले राखेका विभिन्न प्रश्नहरुको जवाफ अध्यक्ष गुरुङले प्रष्ट रुपमा दिए ।

उक्त कार्यक्रममा समाजका सल्लाहकार हरि गुरुङ तमु धी यूकेको अध्यक्षमा चयन भएकोमा साथै समाजका उपाध्यक्ष ममता गुरुङ फोक्स्टोन नेपाली कम्युनिटीको महिला उपाध्यक्षमा चयन हुनुभएकोमा समाजको तर्फदेखि अध्यक्ष क्याप्टेन डोलबहादुर गुरुङले खादा लगाई बधाई तथा शुभकामना दिए ।

तमू (गुरुङ) हरुको आफ्नो संस्कार, संस्कृति, भाषा, भेषभूषा, रितिरिवाज र परम्परालाई जीवन्त राख्नका लागि सक्रिय हुँदै आईरहेको गुरुङ सोसाइटी केन्ट यूकेले २०२४ को अन्तमा पहिलो पटक क्होलासोथरको अवलोकन भ्रमण गर्दैछ ।

कार्यक्रमको अन्तमा समाजका अध्यक्ष क्याप्टेन डोलबहादुर गुरुङले आफ्नो मौलिक संस्कार, संस्कृति, भाषा र भेषभूषालाई जीवन्त राख्दै भावी पुस्तालाई हस्तान्तरण गर्नु पर्नेमा जोड दिँदै कार्यक्रममा उपस्थित सम्पूर्ण केन्टबासी तमू (गुरुङ) हरुलाई समाजको तर्फदेखि धन्यवाद दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री