बेलायती युवराज्ञी केटलाई क्यान्सर

लण्डन । बेलायतकी युवराज्ञी केट क्यान्सर रोगबाट ग्रसित भई हाल उपचाररत रहेको शुक्रबार सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री ऋषि सुनकले भावी महारानी क्याथरिन क्यान्सरको उपचार गरिरहेको शुक्रबार सार्वजनिक गरेका थिए । त्यसलगत्तै केटले एक भिडियो सार्वजनिक गर्दै आफू क्यान्सर रोगसित लडिरहेको बताएकी छिन् ।

भिडियो म्यासेजमा उनले आफूलाई क्यान्सर भएको थाहा पाउँदा ठूलो झट्का लागेको र केही महिनासम्म असाध्यै गाह्रो भएको बताएकी छिन् । अहिले राम्रो हुँदै गरेको र हरेक दिन सुधार हुँदै गरेको पनि उनले बताएकी छिन् ।

उनले जनवरीमा मात्र पेटको शल्यक्रिया गरेकी थिइन् । त्यस शल्यक्रियाको टेष्टको परिणाम दिँदा क्यान्सर भेटिएको र त्यसको उपचारका लागि सुझाव दिइएपछि फेब्रुअरीमा आफू केमोथेरापी गरिरहेको उनले जानकारी दिएकी छिन् ।

४२ वर्षीया तीन सन्तानकी आमा केटले क्यान्सरबाट ग्रसित बिरामीहरुलाई हौसला दिँदै आशा गर्न नछाड्न पनि आग्रह गरेकी छिन् ।

केटको स्वास्थ्यवस्थाका बारेमा आफैँ क्यान्सरको उपचार गराइरहेका राजा चार्ल्स र रानीलाई जानकारी दिइएको बताइएको छ ।

शल्यक्रियाबाट सार्वजनिक रूपमा नदेखिएकी युवराज्ञी केटका बारेमा सामाजिक सन्जालमा विभिन्न अफवाह फैलिएका छन् । हालै आमा दिवसका दिन उनले सार्वजनिक गरेको तस्वीरले पनि उनीप्रति विभिन्न आलोचना बर्सिएका थिए । तथापि उनको पछिल्लो स्वास्थवस्था सार्वजनिक भएपछि उनीप्रति सहानुभूति बर्सिरहेको छ ।   

प्रतिक्रिया

सम्बन्धित सामाग्री