जीआरएनसी युकेले मनायो महिला दिवस

लन्डन । ग्रेटर रसमूर नेपाली कम्युनिटी (जीआरएनसी) युकेले ‘इन्फरमेसन, ट्रांन्सफर्मेसन, समावेशिता र प्रेरणा’ उद्देश्यका साथ नेपालबाट आमन्त्रित राष्ट्रिय ख्यातिप्राप्त कलाकार तथा सामाजिक अभियन्ताको सहभागितामा अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ ।
आइतबार अल्डरसटस्थित एम्पायर हलमा आयोजित कार्यक्रमको शुरूआतमा महासचिव सुशीला थापामगरले स्वास्थ्य र सुरक्षाबारे प्रस्तुती दिएकी थिइन् । कार्यक्रम पनि उनैले सञ्चालन गरिन् ।
प्रमुख अतिथि नेपाली दूतावासकी उपनियोग प्रमुख श्रीमती रोशन खनाल, विशेष अतिथि रस्मोर बरो काउन्सिल मेयर काउन्सिलर क्लाइभ ग्रेटन तथा जीआरएनसी अध्यक्ष मनबहादुर गुरुङ र उपाध्यक्ष सुष्मा गुरुङले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए ।
त्यसपछि उपाध्यक्ष तथा कार्यक्रम संयोजक सुष्मा गुरुङले स्वागत मन्तव्य राखेकी थिइन् । उपनियोग प्रमुख खनाल र मेयर ग्रेटनले शुभकामना र अध्यक्ष मनबहादुर गुरुङले धन्यवाद मन्तब्य थिए ।
कार्यक्रमको दोस्रो चरणमा अध्यक्ष लीला सेलिङ माबो, स्वास्थ्य तन्दुरुस्त सम्बन्धमा मन गुरुङले ताइची वार्म अप, किकोंग, प्राणायाम (योगा) र आकासा हिलिङ्ग, सुष्मा गुरुङ, डा विशाल गुरुङ, गोमा रानाले नारी दिवस सम्बन्धी कविता प्रस्तुत गरेका थिए ।
बीबीसीको १०० प्रभावशाली महिलामा पर्न सफल सपना रोकामगर, प्रमिला लाबुङ, गोरखा महिला परियोजनाकी सुजना थापा, म खेल्छुका अन्जु र कृष्ण गुरुङ, पुष्पा सुनुवार, चिकित्सक डा. जित तामाङ, आरएनआरसीकी अन्जु गुरुङ र शर्मिला कुँवरले पनि आफ्नो आफ्नो विषयमा प्रस्तुति दिएका थिए । अल्ट्राधावक मीरा राईले नेपालबाटै भर्चुअल माध्यमबाट सहभागी भएर आफ्नो भनाइ तथा अनुभव सुनाएकी थिइन् ।
कार्यक्रमको बीच बीचमा नृत्य प्रस्तुत गरिएको थियो भने सांस्कृतिक सचिव दिनेश गुरुङले बाँसुरी बजाएर मनोरञ्जन प्रदान गरेका थिए ।
त्यसपछि नेपालबाट आएका विभिन्न सामाजिक व्यक्तित्वहरूले शुभकामना मन्तव्य तथा अनुभव आदानप्रदान गरेका थिए ।
अतिथिहरुमा बीबीसी १०० प्रभावशाली महिलामा पर्न सफल सामाजिक अभियन्ता सपना रोका, उपमेयर काउन्सिलर मारा मकुनुरा, तमुधी युकेका अध्यक्ष हरि गुरुङ तथा आमा समूह अध्यक्ष सन्ध्या गुरुङ, गोर्खा आमा समूह अल्डरसटकी अध्यक्ष धनमाया गुरुङ, चित्रकार सुजना थापा लगायत महिला नेत्रीहरु थिए ।
कार्यक्रममा गोर्खा वेलफेयर ट्रष्ट युके, सिटिजन एडभाइस ब्यूरो, रश्मूर हाउजिङ्ग, म खेल्छु, जीआरएनसी, गोर्खा सेन्टर, मेन्टल हेल्थ आदिले स्टल राखेका थिए ।
त्यसपछि केक काटेर नारी दिवसको उत्सव मनाइएको थियो । मुख्य औपचारिक कार्यक्रम सकिएपछि सांस्कृतिक कार्यक्रम भएको थियो ।
सांस्कृतिक सचिव दिनेश गुरुङले सञ्चालन गरेको सांस्कृतिक कार्यक्रममा लोकदोहोरी गायक तथा गायिकाहरू सविन कोके गुरुङ, निर्जला गुरुङ र मुना मगरले गायन तथा नृत्यमार्फत सबैलाई मनोरञ्जन प्रदान गरेका थिए ।
कार्यक्रम सफल सफल गर्न सहयोग गर्ने सबैलाई अध्यक्ष मन गुरुङले धन्यवाद दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री