एनआरएनए युकेले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

लन्डन । प्रेम गाहामगर नेतृत्वको एनआरएनए यूकेले एक कार्यक्रमबीच ११४ औं अन्तर्राष्ट्रिय नारी दिवस आइतबार अल्डरसटस्थित द प्यालेसमा मनाएको छ ।
कार्यक्रममा वक्ताहरुले नेपाल र बेलायतमा समेत घरेलु हिंसा र महिलामाथि विभेद कायमै रहेको धारणा राख्दै यसको अन्त्यका लागि महिला सशक्तीकरणमा जोड दिए ।
एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर, प्रमुख अतिथि एनआरएनए आइसीसी (विनोद कुंवर समूह) उपाध्यक्ष थर्क सेन, युवा कलाकार, अनुसन्धानकर्ता तथा श्रीस क्रियटिभ आर्टस् इनिसिएटिभकी संस्थापक सुजाना थापा श्रीस, बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा पर्न सफल सपना रोकामगर, प्रमुख संरक्षक डेभिड गुरुङले दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरेका थिए । दिवसका अवसरमा नारीहरुप्रति समर्पण गर्दै केक समेत काटिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि एनआरएनए आइसीसी उपाध्यक्ष थर्क सेनले नारी दिवस वर्षको एक दिन मनाएर महिलाहरुले न्याय पाउने अनि पुरुषको पनि दायित्व सकिने भन्ने नभएको बताए । महिला पुरुष सधैं एकसाथ अघि बढेमात्र परिवार, समाज र राष्ट्र निर्माणमा बल पुग्ने उनको भनाइ थियो ।
विशेष अतिथि बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा पर्न सफल सपना रोकामगरले नारीलाई खोक्रो भाषण र आश्वासन होइन्, आत्माबाट सम्मान गर्न आग्रह गरिन् । बेवारिसे लास व्यवस्थापनमा जुट्दा आफू पनि कुनै बेला शोषणमा परेको अनुभव उनले सुनाइन् । तर नारी भन्दैमा सबै ठिक भन्ने पनि नहुने उल्लेख गर्दै उनले पुरुष पीडित भएपनि ति कुरा बाहिर नआउने बताइन् ।
नेपालबाट आएकी श्रीस क्रियटिभ आर्टस् इनिसिएटिभकी संस्थापक सुजाना थापा श्रीसले भूतपूर्व गोर्खा श्रीमतीहरुको कथा उजागर गर्ने आफ्नो ‘गोर्खा वीमनः एन इको इन द स्टोरी’ प्रोजेक्टबारे प्रिजेन्टेसन दिइन् ।
‘ब्रिटिश गोर्खाहरुको २०८ वर्ष लामो इतिहास छ । तर उहांहरुका श्रीमतिहरुका कथा व्यथा कहिल्यै उजागर गरिएन’, सुजानाले भनिन्, ‘हामी उहांहरुको इतिहास खोतल्ने अभियानमा छौं ।’
उनले सन् २०१८ मा ‘भार्सेली गोर्खा फ्रम स्टोरिज टु पोट्रेट्स’ नामक चित्रकला प्रदर्शनीका बेला आफूलाई गोर्खा महिलाको कथा नआएको महशुस भएर शुरुमा आफ्नै खर्चमा अभियान शुरु गरेको बताइन् । सन् २०२२ देखि समुदायसँग पनि सहयोग मागेर आफ्नो टिम यस कार्यमा जुटेको सुजानाले सुनाइन् । बेलायत र नेपालमा रहेका भूतपूर्व गोर्खाका श्रीमतिहरु सम्बन्धि चित्रकला प्रदर्शनी, पुस्तक प्रकाशन एवं वृत्तचित्र निर्माण गर्ने उनको सोच छ । ति दस्तावेज गोर्खा इतिहासकै एउटा कोशेढुंगा हुने विश्वास सुजानाको छ ।
एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले नारी दिवसको शुभकामना दिंदै नारी पुरुष बराबर भनिएपनि बेलायतमा समेत नारीमाथि विभेद हुने गरेको दृष्टान्त सुनाए । उनले अर्को प्रसंगमा वंशजको नेपाली नागरिकता निरन्तरता अभियानलाई एनआरएनए यूकेले सशक्त रुपमा अगाडि बढाउने जनाए । अध्यक्ष गाहामगरले कार्यक्रम सफल बनाउन सघाउने सबै दाता, प्रायोजक, कार्यसमिति र सहभागीप्रति आभार व्यक्त गरे ।

प्रमुख संरक्षक डेभिड गुरुङले नारी दिवसमा पुरुष सहभागिता कम भएकोप्रति असन्तुष्टि व्यक्त गर्दै नारीलाई बोलीमा मात्र होइन व्यवहारमा पनि सम्मान र अवसर दिनुपर्नेमा जोड दिए ।
एनआरएनए यूकेका पूर्व प्रमुख संरक्षक शेरबहादुर सुनारले सती प्रथा अन्त्य गर्ने महिला योगमाया न्यौपानेलाई स्मरण गर्नुपर्ने औंल्याउँदै इतिहास कहिल्यै नभुल्न अनुरोध गरे । संविधानमा उल्लेख भए बमोजिम महिलाको हक अधिकारभित्र कुण्ठित भएर नबस्न पनि उनले सुझाए ।
एनआरएनए यूके महासचिव प्रमिला लाबुङ राईले कार्यक्रम सञ्चालन गर्दै नारी दिवसको इतिहास र अहिलेको अवस्थाबारे टिप्पणी गरेकी थिइन् ।
औपचारिक कार्यक्रममा महिला संयोजक एवं कार्यक्रम संयोजक अमृता गिरी गजुरेलले स्वागत मन्तव्य दिइन् ।
कार्यक्रमका प्रमुख संयोजक तथा एनआरएनए यूके गोर्खा टास्क फोर्स प्रमुख ओमप्रसाद थापाले धन्यवाद ज्ञापन गरेका थिए ।
शुभकामना मन्तव्यका क्रममा गोर्खा अभियन्ता पुष्पा राणा घलेले नेपाली समाजमा महिला भएकै कारण विभेद सहन नपरोस् भन्ने कामना गरिन् ।
रजिष्टर्ड सोसल वर्कर लक्ष्मी राई (लारा) ले महिलालाई महिलाको होइन, पुरुषको साथ भएमात्र समावेशी समाज निर्माण गर्ने धारणा राखिन् ।
हाल गोर्खा वेलफेयर ट्रष्टमा आवद्ध र सिटिजन एड्भाइस ब्युरोमा घरेलु हिंसा क्षेत्रमा काम गरेकी पुष्पा गुरुङले घरेलु हिंसाका विभिन्न प्रकारबारे उल्लेख गर्दै आफैं यसबाट शिकार भएको अनुभव सुनाइन् । आफ्नो घरभित्रको युद्ध जितेर अहिले शान्ति पाएको कहानी सुनाउंदै उनले पुरुषको उत्पीडन सहेर नबस्न महिलालाई सुझाव दिइन्।
कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ बेलायतकी महासचिव विमला सेने, नेपालबाट आएका सामाजिक कार्यकर्ता सरोज दिलु विश्वकर्मा, नेपलिज नर्सिङ एसोसिएसन यूके अध्यक्ष सुनिता गौतम, मगर महिला संघ यूके अध्यक्ष विष्णु सिरिस, मगर संघ यूके अध्यक्ष सीता पुन, एनआरएनए यूके वेल्स राज्य समन्वय परिषदका प्रमुख सल्लाहकार बद्री योङ्या, ग्रेटर रसमोर नेपलिज कम्युनिटी अध्यक्ष लीला सेलिङ माबो, सोसल केयर कन्सल्टेन्ट रुबी (दिला) गुरुङ राई, एनआरएनए यूके प्रमुख सल्लाहकार शान्ति थापा कुंवर लगायतले मन्तव्य दिएका थिए ।
कार्यक्रममा अंशु न्यौपाने बस्नेतले स्वागत नृत्य गरेकी थिइन् भने गायिकाहरु तयाहाङमा राई र मुना थापामगरले गायन प्रस्तुत गरेका थिए ।
सो अवसरमा नेपालबाट आएका अतिथीहरु, कलाकार, प्रायोजक एवं अन्य सहयोगीलाई टोकन अफ लभ प्रदान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री