लागू नहुँदै घट्यो बेलायतको परिवारिक भिसाका लागि वार्षिक न्यूनतम आम्दानी

लण्डन । बेलायतले पारिवारिक भिसाका लागि स्पोन्सरको वार्षिक आम्दानी ३८ हजार ७०० पाउण्ड बनाउने नियम तत्कालमा कार्यान्वयन नगर्ने भएको छ ।
बेलायतको गृह मन्त्रालयले विहीबार प्रकाशित गरेको सूचनाअनुसार आगामी अप्रिल (वसन्तयाम) पछि पारिवारिक भिसाका लागि स्पोन्सरको न्यूनतम वार्षिक आम्दानी २९ हजार पाउण्ड बनाइने छ ।
यसअघि डिसेम्बर ४ मा बेलायतको संसदमा बोल्दै बेलायती गृह मन्त्री जेम्स क्लिभर्लीले पारिवारिक भिसाका लागि मुख्य स्पोन्सरको आम्दानी वार्षिक ३८ हजार ७०० पाउण्ड बनाउने घोषणा गरेका थिए । उनले अप्रिलदेखि सो नियम लागू गर्ने बताइएका थिए ।
हाल १८ हजार ६०० पाउण्ड रहेको सो प्रावधान एकैपटक दोब्बरभन्दा बढी बढाइएपछि त्यसले बेलायतीहरुलाई परिवारबाट अलग गर्नसक्ने भन्दै चर्को विरोध भएको थियो ।
सरकारका गृह राज्यमन्त्री लर्ड सार्पले पारिवारिक भिसाका लागि स्पोन्सरको वार्षिक आम्दानीलाई आगामी अप्रिलमा २९ हजार पाउण्ड बनाउने र क्रमिक रुपमा बढाउँदै लगिने जानकारी दिएका छन् । उनका अनुसार पहिलो चरणमा २९ हजार पाउण्ड, दोस्रो चरणमा ३४ हजार ५०० पाउण्ड र अन्तिममा ३८ हजार ७०० पुर्याइने छ । तर यसका लागि मिति भने निर्धारण गरिएको छैन ।
मन्त्रालयका अनुसार पाँचवर्षे पारिवारिक भिसाको क्रममा अहिले बेलालयतमा रहेका र न्यूनतम तलवमानको प्रावधान परिवर्तन हुनुअगावै पारिवारिक भिसाका लागि आवेदन दिइसकेकाहरुको आवेदन पुरानै नियमअनुसार हेरिने छ ।
नियम परिवर्तन हुनुअगावै मंगेतर (फियोन्सी) भिसा पाइसकेकाहरुले पछि पाँचवर्षे पारिवारिक भिसामा भिसा रुपान्तर गर्दा पनि पुरानै तलवमानको नियमअनुसार गरिने बताइएको छ ।
बेलायतमा अरु नै बाटोबाट आएका तर नयाँ अध्यागमन नियमसम्बन्धी नियम आएपछि पाँच वर्षे पारिवारिक भिसामा निवेदन दिनेहरुका हकमा भने नयाँ तलवमान लागू हुने बताइएको छ ।
बेलायतमा यस वर्षको सेप्टेम्बर महिनासम्ममा ८२ हजार ३९५ पारिवारिक भिसा जारी भएको थियो । जसमा ७९ प्रतिशत श्रीमान्, श्रीमती वा मंगेतरका लागि, १३ प्रतिशत बच्चाका लागि र ८ प्रतिशत अरु नातेदारका लागि थिए ।
मन्त्रालयका अनुसार केयर वर्कर (कोड ६१४५) र सिनियर केयर वर्कर (कोड ६१४६) मार्फत अहिले बेलायत आइसकेकाहरुले परिवार ल्याउन, परिवारसँग बस्न, स्पोन्सर (रोजगारदाता) परिवर्तन गर्न र बेलायतमै सेटल हुन पाउने छन् । यस्तै, यी दुवै कोडबाट नयाँ अध्यागमनसम्बन्धी नियम आउनु अगावै बेलायत आउन आवेदन दिइसकेकाहरुले उनीहरुको परिवार बेलायत ल्याउन पाउने छन् । उता अरु नै बाटोबाट बेलायत आएर केयर वर्कर वा सिनियर केयर वर्करमा भिसा परिवर्तन गरेकाहरुको हकमा भने परिवार ल्याउन वा परिवारसँग बस्न नपाउने बताएको छ ।
यसैगरी, स्किल्ड वर्करको भिसामा अध्यागमनसम्बन्धी नियम परिवर्तन नहुँदै बेलायत आइसकेकाहरुको हकमा रोजगारदाता परिवर्तन गर्न, बसाइ लम्ब्याउन र बेलायतमा सेटल हुन नयाँ तलवमान लागू हुने छैन ।
मन्त्रालयले शैक्षिक क्षेत्रमा काम गर्ने जनशक्तिका लागि ३८ हजार ७०० पाउण्ड वार्षिक तलब हुनु नपर्ने बताएको छ । यसअघि स्वास्थ्य तथा हेरचाह क्षेत्रमा काम गर्नेहरुका लागि मात्र सो वेतनको मापदण्ड लागू नहुने बताइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री