अर्जेन्टिनाका अनौठा राष्ट्रपति

मणि थापा र जीवन शर्माको गीत फोकल्याण्डको टापुबाट भन्ने गीत सुनेसँगै अर्जेन्टिना भन्ने देशबारे केही उत्सुकता बढेको थियो। त्यसो त पहिला म्याराडोना र अहिले मेस्सीको कारण यो देशको नाम नसुन्ने त संसारमा निकै कम मात्र हुन पर्छ। बेलायत आइ सकेपछि केही अर्जेण्टाइनहरुसँग भेट भयो। आफूलाई नेपाली भनेर परिचय गराए पछि ‘ए गुर्खाज’ भनेर अलि अनुहार बिगार्ने गर्दा रहेछन्। उनीहरुलाई गोर्खालीहरुको कारणले मात्र फोकल्याण्ड माथि पुन आधिपत्य जनाउन नसकेको लाग्दो रहेछ।

घर बहाल दिने भएपछि दुई दाजुबहिनी सम्पर्कमा आए। पढे लेखेका ज्ञानगुणका कुरा गर्ने प्रायजसो लाइब्रेरी जाने ती दुईलाई घर भाडामा दिइयो। शुरुमा त सबै ठिकै थियो तर बिस्तारै अलि असहज हुन थाल्यो। दाजु काममा जाने दु:ख गर्ने तर बहिनी सधैँ पढ्ने भनेर घर बस्ने। अलि पछि त प्राय जस्तो ठूलो स्वरमा बोल्ने रुने चिच्याउने पनि गर्न थाले। केही समय पछि अन्यत्र कोठा खोजेर गए। बिचित्रको यो सम्बन्ध सम्झेर अहिले पनि त्यति सहज छ जस्तो चाहिँ लाग्दैन।

विश्वकप फुटबलको फाइनल हुँदा हामी गतवर्ष पेरिसमा थियौ। फ्रान्स र अर्जेन्टिनाको खेल शुरु हुनु अगाडी नै लाखौँको चहलपहल थियो त्यहाँ। नेपालका प्राय सबै साथीहरु मेस्सीका समर्थक देखिएकाले आइफिल टावरमा मैले पनि अर्जेन्टिनाको झण्डा हल्लाएर खिचेको फोटो पोस्ट गरेको थिएँ।

अर्जेन्टिनाले अहिले उच्च मुद्रास्फीति दर, वित्तीय घाटा, र मुद्रा अवमूल्यनको चरम चुनौतीहरूको सामना गरिरहेको छ । विश्व आर्थिक मन्दीको मारले यहाँको पनि रोजगारी दर र समग्र आर्थिक वृद्धिलाई असर पारेको छ। आन्तरिक तथा बाह्य ऋणको भार अत्यधिक बढेको छ। आफ्नो आर्थिक सुधारको लागि वित्तीय सहायता र समर्थन सुरक्षित गर्न अन्तर्राष्ट्रिय मुद्रा कोषबाट ब्यापक आर्थिक ऋण सहयोग प्राप्त गरेको छ। देशले स्थिर विनिमय दर कायम गर्न संघर्ष गरेको छ तर राजनीतिक अस्थिरताको कारण सम्भब भएको छैन। भटमास, मकै र गाईको मासु निर्यातबाट बिग्रेको अर्थतन्त्रमा केही भरथेग त भएको छ तर अन्तर्राष्ट्रिय बजारमा यी वस्तुहरुको मूल्यमा गिरावट आउनाले त्यति भर पर्दो आम्दानी हुन सकेको छैन।

अर्जेन्टिना भूमि क्षेत्रफलको आधारमा विश्वको आठौं ठूलो देश हो। यहाँको जनसंख्या लगभग साढे चार करोड छ। ब्यूनसआयर्स अर्जेन्टिनाको राजधानी र सबैभन्दा ठूलो शहर हो। अन्य प्रमुख शहरहरूमा कर्डोबा, रोजारियो, मेन्डोजा र ला प्लाटा हुन्। यो राष्ट्रपति राज्य प्रमुख र सरकार प्रमुख दुवै रहने गणतान्त्रिक राज्य हो। आधिकारिक मुद्रा अर्जेन्टाइन पेसो र भाषा स्पेनिस हो। अर्जेन्टिना ट्याङ्गो संगीत र नृत्य, परम्परागत लोक संगीत, र साहित्य सहित यसको सम्वृद्ध सांस्कृतिक सम्पदाका लागि विश्वभर परिचित छ। एन्डिज पर्वत, पाम्पास घाँसे मैदान र विस्तृत प्याटागोनियन क्षेत्र सहित विभिन्न परिदृश्यका लागि संसारबाट धेरै पर्यटकहरु आउने यो देशमा इगुआजु राष्ट्रिय निकुञ्ज, लस ग्लेशियर्स राष्ट्रिय निकुञ्ज, र जेसुइट ब्लक र कोर्डोबाको एस्टान्सियाहरू लगायत धेरै युनेस्को विश्व सम्पदा क्षेत्रहरु छन्। शिक्षा र स्वास्थ्य सेवामा ब्यबस्थित र बिकसित प्रणाली भएको यो देशका फुटबल खेलाडीहरु विश्वव्यापी रूपमा प्रख्यात छन्।

सन् १८१६मा अर्जेन्टिना स्पेनिस साम्राज्यबाट स्वतन्त्र भएको केही समय पछाडी नै संघीयता र एकात्मकवादीहरू बीच आन्तरिक द्वन्द्व उत्पन्न भएर राजनीतिक अस्थिरता शुरु भयो। सन् १८२६ मा मात्र बर्नार्डिनो रिवाडाभिया अर्जेन्टिनाको पहिलो राष्ट्रपति बने। त्यसको तीन बर्ष पछाडी जुआन म्यानुअल डे रोजास सत्तामा आए, काउडिलोसको युग भनेर चिनिने राजनीतिक र सामाजिक उथलपुथलको अवधि सुरु भयो। सन् १८५२ मा क्यासेरोसमा भएको युद्धमा जुस्तो जोश डे उर्क्विजाले विजय प्राप्त गरेपछि रोजासले देश छाडेका थिए। सन् १८६२ मा बार्तोलोम मित्रेको अध्यक्षता अन्तर्गत एक एकीकृत राष्ट्र बन्छ। सन् १८८० मा ब्यूनस आयर्सलाई संघीय राजधानी घोषणा गरी राजनीतिक स्थिरता, आर्थिक वृद्धि, र ठूलो मात्रामा युरोपेली आप्रवासनको युग शुरु भयो। सन् १९१६ मा पहिलोपटक लोकतान्त्रिक निर्बाचनमार्फत कट्टरपन्थी नागरिक संघका उम्मेद्वार हिपोलिटो इरिगोयेन त्यहाँका रास्ट्रपति बने। तर सन् १९४३ मा कर्नेल जुआन पेरोनले सैन्य विद्रोहमार्फत सत्ता हत्याए र तीन वर्ष पछाडिको निर्बाचनमा उनि आफैँ राष्ट्रपति चुनिए। उनलाई पनि सन् १९५५ मा सेनाद्वारा नै हटाइयो उनी पछि निर्वासित भए। सन् १९७३ मा पेरोन मुलुक फर्केको एक बर्ष पछाडी नै मृत्यु हुन्छ र त्यस पछिको निर्बाचनमा पेरोनका तेश्रो श्रीमती इसाबेल पेरोन रास्ट्रपति चुनिइन् । पेरोनवादको रुपमा स्थापित मूल्य मान्यताहरुले अर्जेन्टिनामा विशेष महत्व राखेको देखिन्छ। तर सन् १९७६ देखि ८३ सम्म फेरि सैन्य विद्रोहद्वारा ‘राष्ट्रिय पुनर्गठन प्रक्रिया’ शुरु भएको जिकिर गर्न थालियो। यस अवधिमा मानव अधिकार हनन, धरपकड, दमन, बेपत्ता र पत्र पत्रिकामा सेन्सरशिप जस्ता थुप्रै घटनाहरु घटेका थिए। सन् १९८३ मा पुन राउल अल्फोन्सिनलाई राष्ट्रपतिको रूपमा चयन गरेर लोकतन्त्रमा फर्किए पछि यस अगाडी भए गरेका मानवअधिकार उल्लङ्घनका मुद्दाहरूको सुनुवाइ सुरु भयो। सन् १९८९ मा कार्लोस मेनेम राष्ट्रपति बनेपछि आर्थिक सुधारको अवधि शुरू भएको मानिन्छ। उनैलाई पुन रास्ट्रपति निर्बाचनमा उमेद्वार बन्न पाउने गरी सन् १९९४ मा संविधान संशोधन समेत गरियो र उनले दुई कार्यकाल कार्यभार सम्भालेका थिए। उनले सत्ता हस्तान्तरण गरेको दुई वर्षमा नै आर्थिक संकटले सामाजिक अशान्ति सृजना भएकोले राष्ट्रपति फर्नान्डो डे ला रुआले सन् २००१ मा राजीनामा दिएका थिए। सन् २००३ मा नेस्टर किर्चनर त्यस पछि उनकै श्रीमती क्रिस्टिना फर्नान्डेज डे किर्चनर सन् २००७ मा राष्ट्रपति निर्वाचित भएका थिए। उनले दुई कार्यकाल चुनाब जितेकी थिइन् । अहिले उनी सन् २०१९ मा अल्बर्टो फर्नान्डेज राष्ट्रपति निर्बाचित बनेपछि उनको उपाध्यक्षको रुपमा कार्यरत छिन् । यस अगाडी सन् २०१५ मा मौरिसियो म्याक्री राष्ट्रपति निर्बाचित भएका थिए। उनले अधिक रूढिवादी आर्थिक नीतिहरू अबलम्बन गरेका थिए। सैनिक शासन काल तथा दुई निर्बाचन बीचमा तीन/चार दिन एक/दुई महिनाको लागि मात्र पनि रास्ट्रपति बनेको थुप्रै उदारहणहरु छन्। समग्रमा अर्जेन्टिनाको राजनीतिक इतिहास शक्ति हत्याउनमा नै बढी केन्द्रित भएको कारण आर्थिक लगायत अन्य क्षेत्रमा हुन पर्ने र सक्ने जति काम नभएको स्पस्ट देखिन्छ।

लेखक सुरेन्द्र श्रेष्ठ

अर्जेन्टिनामा यही २२ अक्टोबरमा राष्ट्रपति, उपराष्ट्रपति, राष्ट्रिय कांग्रेसका सदस्यहरू र अधिकांश प्रान्तका गभर्नरहरू चयन गर्नको लागि आम चुनाव भयो। पहिलो चरणमा कुनै पनि राष्ट्रपति पदका उम्मेदवारले बहुमत हासिल नगरेको हुनाले १९ नोभेम्बरमा दोश्रो पटक मतदान भएको थियो। जसमा जेभियर माइलेले सर्जियो मासालाई हराए। वर्तमान राष्ट्रपति अल्बर्टो फर्नान्डेज र पूर्व राष्ट्रपति क्रिस्टिना फर्नान्डेज डे किर्चनरले भने चुनावमा भाग लिएनन् । सत्तारुढ युनियन फर होमल्याण्डका तर्फबाट उमेद्वार बनेका हालका अर्थ मन्त्री मासाले ३६ प्रतिशत मत प्राप्त गरेर अप्रत्याशित रूपमा पहिलो स्थानमा आएका थिए भने लिबर्टी एडभान्सका अर्थशास्त्री तथा बिध्वत् माइलेले ३० प्रतिशत प्राप्त गरेका थिए। तेस्रो भएकी पूर्व सुरक्षा मन्त्री प्याट्रिशिया बुलरिचको सहयोगमा माइलेले दोश्रो चरणमा ५५.७ प्रतिशत मत प्राप्त गरे। यो अर्जेन्टिनाको लोकतन्त्रमा संक्रमण आए पछिको निर्बाचनमा अहिलेसम्म प्राप्त अधिक मत हो। नवनिर्बाचित राष्ट्रपतिले डिसेम्बर १० देखि कार्यभार सम्हाल्ने छन्। माइलेको राजनीतिमा प्रवेश,निर्बाचनका नाराहरु तथा प्रचार शैली र विजय भैसके पछाडिका भाषणहरुले विश्वमा नै एक प्रकारको सनसनी फैलिएको छ।

आफ्नो उपनाम “आलोको” अर्थात् पागल मान्छे राखेका माइलेले अहिले सम्मको सम्पूर्ण राजनीतिक ब्यबस्थापन गलत र नेताहरु असफल साबित भएको छ भन्ने गरेका छन्। ब्यबसायको हिसाबले अर्थशास्त्री ५३ वर्षका रास्ट्रपति निर्बाचित जाभियर दुई वर्ष अगाडी मात्र आफ्नो छुट्टै पार्टी खोलेर राजनीतिमा लागेका हुन्। निर्बाचन अभियानमा उनले ठूलो करौती बोकेर सरकारका अनावश्यक अफिस, मन्त्रालय, सामाजिक सहयोग लगायत अन्य खर्च कटौती गर्ने भन्दै प्रतीकात्मक अभिव्यक्ति दिएका थिए। मानिसले आफ्ना अंग समेत बेच्न पाउनु पर्ने, अप्राकृतिक यौन सम्बन्ध वा लिङ्ग परिबर्तन गर्न नपाइने उनको धारणा रहेको छ। देशको मुद्रा पेसोलाई पूर्ण बन्देज गरेर सबैतिर डलर प्रयोग गर्न पर्ने तथा बेकामको केन्द्रीय बैंक बन्द गरिनु पर्ने उनको मुख्य नारा रहेको छ। उपदान वा पेन्सन दिएर काम गर्न सक्ने जनशक्तिलाई अल्छी बनाउन नहुने तथा अन्य सामाजिक सुविधाहरु कटौती गरेर बढी भन्दा बढी नागरिकलाई उत्पादनमूलक काममा अन्तिम समयसम्म व्यस्त राख्नु पर्ने उनको धारणा छ। जहाँ पनि अति आक्रामक ढंगले प्रश्तुत हुने माइले सार्बजनिक अंतर्बार्ताहरुमा प्रचार समेत गर्न नमिल्ने शब्दहरु पटकपटक प्रयोग गर्दछन् । रास्ट्रपतिको पदबहाल गर्नु भन्दा अगाडी नै अमेरिका पुगेर उनले ट्रम्पको खुलेर प्रशंसा गरेका छन् भने कपालको स्टायल हेर्दा बोरिस जोहन्सन जस्ता देखिने माइले मार्गेरेट थ्याचर आफूलाई मन पर्ने नेता भन्दछन् ।

आधिकारिक रुपबाट पदभार सम्भाली सकेपछि निर्बाचनको क्रममा व्यक्त गरेका प्रतिबद्धताहरुलाई के कसरी ब्यबहारिक रुपमा प्रयोग गरेर दशकौँ देखिको राजनीतिक अस्थिरताका कारण लथालिङ्ग भएको आर्थिक सामाजिक अबस्थालाई उनले आफ्नो पुस्तकमा लेखे जस्तो सकारात्मक दिशामा लगेर देशको भबिष्य उज्वल बनाउने वा नबनाउने भविष्यको गर्भमा नै छ। आशा तथा बिश्वास गरौँ फोकल्याण्ड टापुमा आफ्नो अधिपत्य जमाउने विषयमा मात्र केन्द्रित रही उनको देश र विश्वले झन् ठूलो विनाशको सामना गर्न पर्ने छैन।

अमेरिकामा ओबामाको जीतपछि एक प्रकारको परिबर्तनको संकेत देखा परे पनि अमेरिका भित्र मात्र नभई विश्वभरि नै अलि फरक ढंगको राजनीतिक परिबर्तनहरु देखा परेका छन् । फलस्वरुप अमेरिकाले ट्रम्प जस्तो व्यक्तिलाई रास्ट्रपति बनायो भने अझ पनि सत्तामा फर्कने सपना देखिरहेका छन् । बेलायतले ब्रेक्जीटमा कल्पना नगरेको परिणाम स्वीकार गर्न पर्यो। युक्रेनमा हास्य कलाकारको उग्र रास्ट्रबादी सोचलाई जनताले साथ दिएपछि संसारले नै त्यसको मार खेपिरहन परेको छ। संसारकै अति प्रजातान्त्रिक र बैयक्तिक स्वतन्त्रता भएको देश हल्याण्डमा समेत अति दक्षिणपन्थी पार्टीले बिजय हासिल गरेको छ। त्यहाँ पनि नेक्जिटको आवश्यकता छ भन्न थालिइसकिएको छ। अहिलेको विश्व राजनीतिक ट्रेन्ड सही वा गलत भन्ने प्रमाणित हुन कम्तिमा पनि एक दशक प्रतिक्षा गर्न पर्ने देखिन्छ। यथास्थितिबाट नैराश्य भएर परिबर्तनको नाममा दक्षिणपन्थी सोच भएका व्यक्तिहरु विश्वका प्रजातान्त्रिक भनिने देशहरुमा समेत निर्बाचित हुने क्रम देखिदै जानुले भविष्यमा राजनीतिक शास्त्रको सिद्धान्त पनि नयाँ ढंगले परिभाषित हुने आधारहरु तयार भएका छन्।

सुरेन्द्र नेपाल श्रेष्ठ

बेलायतमा बसोबासरत अधिवक्ता सुरेन्द्र नेपाल श्रेष्ठ विविध विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री