कतारमा नेपाली कला प्रस्तुत गर्दै कलाकार सिंहका बाबुछोरी

दोहा । कतारको दोहामा जारी कतार अन्तर्राष्ट्रिय कला महोत्सवमा नेपालयात्रा कला प्रदर्शनीको छैटौं संस्करण ‘कतार क्यान्भास २०२३’ सुरु भएको छ ।
कला महोत्सवमा कलाकार पी सिंहका एक्रिलिक र वाटर कलरका चित्रहरूसहित मनमोहक कलाकृतिहरू राखिएको छ जसले नेपालको प्राकृतिक दृश्य, वन्यजन्तु लगायत नेपालका वास्तुशिल्पका दृष्टिले धनी प्राचीन मन्दिर र गुम्बाहरूलाई कलात्मक रूपमा चित्रण गरेको छ ।
यसअघि युके र नेपालका विविध ठाउँमा कला प्रदर्शनी गरिसकेका कलाकार सिंह आफ्ना चित्रहरूमार्फत नेपाली संस्कृतिको प्रवद्र्धन गर्न प्रतिबद्ध छन् । उनको योगदानलाई बेलायतका लागि नेपालका पूर्व राजदूत डा. दुर्गाबहादुर सुवेदीले कदर गर्दै नेपाली कला र संस्कृतिको प्रवर्द्धनमा विशेष प्रयास गरेकोमा सिंहलाई २०२० मा सम्मान गरेका थिए।
कलाकार सिंहले भने, “कतारमा आफ्नो कलाकृतिमार्फत नेपालको प्रतिनिधित्व गर्न पाउँदा म निकै हर्षित छु । पाँच दिने प्रदर्शनीमा सयौं आगन्तुकलाई नेपाली कला, संस्कृति र परिदृश्य देखाउन पाउनु साँच्चै रोमाञ्चक छ ।” उनले नेपाली कलाकृतिहरूप्रति आगन्तुकहरूको उत्साहजनक प्रतिक्रियालाई पनि टिप्पणी गरे । लन्डनको एक बैंकमा कार्यरत सफ्टवेयर इन्जिनियर सिंह आफ्नो फुर्सदको समयमा जोशका साथ कलाकारितामा उत्रन्छन् । उनले नेपालमा विकास गरेका केही सफ्टवेयर योगदानहरू अन्तर्गत ‘टाइपशाला’ टाइपिङ ट्युटर, ‘ठमेल डटकम’, ’नेपाली युनिकोड’ र ’राजमार्ग’ रोड इन्जिनियरिङ सफ्टवेयर पर्दछन् ।
महोत्सवमा सिंहकी छोरी रोस्लिन सिंहले पनि आफ्ना केही पानीको रंग र पेन्सिल कलाकृतिहरू प्रदर्शन गर्नेछिन् । बेलायतमा बायोमेडिकल इन्जिनियरिङ गर्दै गरेकी १९ वर्षीया रोस्लिनले भनिन्, ‘यस कला महोत्सवमा नेपालका मेरा केही कलाकृतिहरू प्रदर्शन गर्न पाएकोमा म निकै उत्साहित छु ।’
कार्यक्रममा कतारका लागि नेपाली राजदूत डा. नरेश विक्रम ढकालको समेत उपस्थिति रहेको थियो । उनले भने, ‘कतार कला महोत्सवमा नेपालको प्रतिनिधित्व देख्दा गर्व लागेको छ । म यो प्रयासको साँच्चै प्रशंसा गर्छु। ”

प्रतिक्रिया

सम्बन्धित सामाग्री