
विराटनगर । नक्कली छोरा बनाइ नागरिकता बनाइदिनेदुई पूर्व गोरखा सैनिकलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
पोखराका तीन युवाले पूर्व बेलायती सैनिकको नक्कली छोरा बनेर जिल्ला प्रशासन कार्यालय मोरङबाट नागरिकता लिएको खुलेको छ । बेलायतमा बसोबासका लागि जान उनीहरुले नक्कली बाबु खडा गरेर नागरिकता लिएका हुन् ।
बाबु बनेर नक्कली छोराहरूलाई नागरिकता दिलाएको आरोपमा पूर्वबेलायती सैनिक ६१ वर्षका सूर्यहाङ लिम्बु र नागरिकता दिलाउन सहजीकरण गरेको आरोपमा ६० वर्षका सूर्यबहादुर फयाङ लिम्बु पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता रञ्जनकुमार दाहालका अनुसार पोखरा उपमहानगरपालिका-१० का २१ वर्षीय रविन गुरुङ, पोखरा-१२ का १९ वर्षीय प्रशान्त मगर र पोखरा-१६ का २९ वर्षीय गणेश गुरुङले मोरङको बेलबारी नगरपालिका-११ ठेगाना र पूर्व सैनिक सुर्यहाङ लिम्बूको छोरा बनेर नागरिकता लिएका छन् ।
२४ माघ २०७८ मा नागरिकता लिएका उनीहरु फरार रहेका प्रहरीको भनाइ छ ।
प्रहरीले यो घटना अनुसन्धानका क्रममा ५ असारमा ताप्लेजुङको मैवाखोला गाउँपालिका-४ स्थायी ठेगाना भइ मोरङको लेटाङ नगरपालिका-७ मा बस्दै आएका ६१ वर्षीय सूर्यहाङ लिम्बूलाई पक्राउ गरेको थियो ।
उनको बयानका आधारमा ६ असारमा सुनसरीको धरान उपमहानगरपालिका-११ का ६० वर्षीय सूर्यबहादुर फयाङ लिम्बू पक्राउ परेका थिए । सूर्यहाङ र सूर्यबहादुर दुवै जना भूतपूर्व बेलायती सैनिक हुन् । उनीहरुको जागिरकै सिलसिलामा चिनजान भएको पाइएको प्रहरीको भनाइ छ ।
बेलायती सेनामा काम गरेका नेपालीहरुलाई बेलायत सरकारले त्यहीँ बसोबासको व्यवस्था गरेको छ । बेलायती सेनामा जागिर खान पनि पूर्व गोर्खा सैनिकका परिवारलाई सहज हुन्छ । त्यसैले सहज रुपमा बेलायत जान र जागिरका लागि विचौलियाले नक्कली बुबा खोज्दै तीन युवालाई धरान हुँदै मोरङको लेटाङसम्म ल्याएको थियो ।
नक्कली बुबा बनिदिए बापत सूर्यहाङले सुरुमा जनही पाँच लाख पाएको प्रहरीले अनुसन्धानका क्रममा पत्ता लगाएको छ । उनलाई बेलायत पुगेर जागिर सुरु गरेपछि थप ३५ लाख दिने आश्वासन दिइएको पाइएको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जनकुमार दाहालका अनुसार पोखराका तीन युवालाई नक्कली बाबु खोज्दै पोखराकै टेकबहादुर गुरुङले मोरङ ल्याएका थिए ।
सूर्यबहादुरसँग चिनजान भएका टेकबहादुर धरान आएका थिए । सूर्यबहादुरले सूर्यहाङसम्म पुर्याएका थिए । तीन जना छोरी भएका सूर्यहाङले पैसा पाउने भएपछि बुबा बनेर नागरिकता बनाइदिन राजी भएका प्रहरी स्रोतको दाबी छ ।
‘नागरिकताका लागि टेकबहादुर हुँदै सूर्यबहादुरबाट सूर्यहाङसम्म पुगेको देखिन्छ’, प्रहरी स्रोतले भन्यो, ‘पैसा पाउने भएपछि सूर्यहाङ बुबा बन्न राजी भएको देखियो ।’
प्रहरीले सूर्यहाङ र सूर्यबहादुरविरुद्ध झुटो नागरिकता बनाएको कसूरमा अनुसन्धान गरेको थियो । प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले दायर गरेको मुद्दामा जिल्ला अदालत मोरङका न्यायाधीश प्रकाश कोइरालाको इजलासले सूर्यहाङ र सूर्यबहादुरलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।
आदेशपछि दुवै जनालाई सोमबार कारागार चलान भएका छन् ।
अनलाइनखबरबाट
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा