
लण्डन । गैरआवासीय नेपाली संघ युकेको गत महाधिवेसनबाट निर्वाचित नेतृत्वमाथि अन्तर्राष्ट्रिय समन्वय समिति (आइसिसी) को हस्तक्षेपका कारण देखिएको विभाजनको असर उम्मेदवारी दर्तामा प्रष्ट देखिएको छ ।
गत महाधिवेसनबाट निर्वाचित अध्यक्ष प्रेम गाहामगरलाई बर्खास्त गर्दै आइसिसीले तत्कालिन उपाध्यक्ष सुनिलबाबु खड्कालाई अध्यक्ष चयन गरेको थियो । खड्का नेतृत्वको कार्यसमितिले गठन गरेको निर्वाचन समितिले आगामी कार्यसमितिका लागि शनिबार उम्मेदवारको मनोनयन कार्यक्रम राखेकोमा विगतको निर्वाचनहरुको तुलनामा यसपटक निराशाजनक उम्मेदवारी परेको पाइएको छ ।
बेलायत राष्ट्रिय समिति, इङ्ल्याण्ड, वेल्स, उत्तरी आयरल्याण्ड, स्कटल्याण्ड, आइसिसीका गरी ६१ पदमा उम्मेदवारी मागिएकोमा करिब आधा पदहरुमा उम्मेदवारी नै परेन । राष्ट्रिय समितिमा तीन, इङ्गल्याण्डमा सात, वेल्समा पूरै १० वटा, उत्तरी आयरल्याण्डमा पाँच गरी २५ वटा पदमा कसैको उम्मेदवारी नै परेको छैन ।
राष्ट्रिय समितिमै अध्यक्ष, उपाध्यक्ष, उपाध्यक्ष (स्कटल्याण्ड), महासचिव, युवा संयोजक र सहकोषाध्यक्षबाहेक सबै पद निर्विरोध भएका छन् । सदस्यमा पनि तोकिएको संख्यामा उम्मेदवारी परेन । चार जना आइसिसी सदस्यका लागि भने छ जनाको उम्मेदवारी परेको छ ।
आश्चर्यको कुरा त राज्यसमितिहरुमा स्कटल्याण्डबाहेक कतै पनि पूरा उम्मेदवारी परेको छैन । वेल्स राज्य समितिको कुनै पनि पदमा उम्मेदवारी परेको छैन भने इङ्ल्याण्ड राज्य समितिमा तीन पदमा मात्र उम्मेदवारी परेको छ । उत्तरी आयरल्याण्ड राज्य समितिमा पाँच जनाको उम्मेदवारी परेको छ । नेपालीहरुको अलि कम बसोबास भएको उत्तरी आयरल्याण्डमा कम उम्मेदवारी पर्नु स्वभाविक मानिए पनि करिब एक लाख बढी नेपाली बसोबास गर्ने इङ्गल्याण्डमा तीन पदमा मात्र उम्मेदवारी पर्नु र वेल्समा कसैको उम्मेदवारी नपर्नु रहस्यमय छ ।
स्कटल्याण्डमा भने अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव र सदस्य पदमा तोकिएकोभन्दा बढी उम्मेदवारी परेको छ । कोषाध्यक्ष र सहकोषाध्यक्ष मात्र निर्विरोध भएका छन् ।
विगतका निर्वाचनहरुमा उम्मेदवारी मनोनयन कुनै चाडवाडभन्दा कम हुँदैनथ्यो । उम्मेदवारी दर्ताको दिन उम्मेदवार, प्रस्तावक, समर्थकहरुको उपस्थितिले रौनक नै अर्कै बनाइदिन्थ्यो ।
यसअघि पदका लागि तँछाडमछाड हुने भनेर चिनिएको एनआरएनए युकेमा यसपटक भने पद नै खाली रहने अवस्था बनेको छ । यो सम्भवत स्थापनाकाल यताकै पहिलो घटना हो ।
एनआरएनए युकेको स्थापनाकालदेखि सक्रिय अभियन्ताहरुको अनुभवमा सन् २००७ यताकै यो निराशाजनक उम्मेदवारी मनोनयन हो । यसबाट एनआरएनएप्रति बेलायतबासीहरुको दिक्दारी प्रष्ट झल्किन्छ ।
दुईवटा कार्यसमिति समानान्तर रुपमा क्रियाशील भएपछि खड्का नेतृत्वको कार्यसमितिले सदस्यतामा पनि उल्लेख्य विस्तार गर्न सकेन । विगतका दुई निर्वाचनहरुमा १० हजार माथि पुग्ने सदस्य संख्या ४ हजारमा खुम्चिन पुगेको छ ।
उता गाहा नेतृत्वको एनआरएनए युकेले कति सदस्य बनाउँछ र उसको मनोनयन कस्तो रहन्छ भने हेर्न बाँकी नै छ ।






नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा