
लण्डन । गोरखाहरूको समस्याका बारेमा आज बेलायती रक्षा मन्त्रालयमा नेपाली तथा बेलायती सरकारका प्रतिनिधिहरूबीच गोरखा भूतपूर्व सैनिकहरूको समेत उपस्थितिमा भएको वार्तामा पेन्सन बारे कुरा राख्न पाएपछि गोरखाहरू खुशी देखिएका छन् ।
दुई चरणमा गरी करिब चार घण्टा चलेको वार्तापछि बेलायती रक्षा मन्त्रालयबाहिर भेला भएका गोरखाहरूलाई सम्बोधन गर्न आउँदा वार्ता टोलीका सदस्यहरू प्रशन्न मुद्रामा उपस्थित थिए ।
छोटो सम्बोधनमा वार्तामा गोरखाहरूका प्रतिनिधि मेजर रिटायर्ड जुदबहादुर गुरुङले पेन्सनका सवालमा तीनवटा कुरा आफूहरूले राखेको र बेलायती सरकारको टोलीले ती विषयहरूमा अध्ययन गर्ने आश्वासन दिएको बताए ।
‘सन् १९७५ पछिका गोरखाहरूलाई १५ वर्ष सेवा गरेवापत गोरा सहकर्मीसरह अनुपातमा (प्रोप्रोरसनेट) पेन्सन दिइनुपर्ने, २२ वर्ष सेवा गरेकाहरूलाई गोरा सहकर्मीहरूसरह पेन्सन दिनुपर्ने र १६ देखि २१ वर्ष सेवा गरेका अधिकृतहरूलाई गोरा सहकर्मीसरह पेन्सन दिइनुपर्ने विषय राखेका छौँ । बेलायती रक्षा मन्त्रालयका प्रतिनिधिहरूले यी विषयहरूमा अध्ययन गर्छौँ भनेका छन्’ गुरुङले भने ।
गेसोका उपसभापति तथा वार्ता टोलीका सदस्य धर्मबहादुर तामाङले आजसम्मको वार्तामा सन्तोषजकरूपमा विषयप्रवेश नभएको र आजबाट बल्ल गोरखाहरूको समस्याका बारेमा छलफल शुरु भएको बताए । उनले आउँदो वार्तामा बेलायती सरकारको तर्फबाट पेन्सनका बारेमा सकारात्मक जवाफ पाउने आशा व्यक्त गरे ।
वार्तामा सहभागी गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिका निर्देशक ज्ञानराज राईले ‘भाग्न खोजेका कुखुरा चोरहरू आज पासोमा परेको’ प्रतिक्रिया दिए । उनले भने, ‘आफ्नो पीडा सुनाउन पायौँ, कुरा शुरु भएको छ । हामीहरू खुशी हुनुपर्छ ।’
वेलफेयरका सवालमा भने अहिले सोल्सब्री र अल्डरसटमा मात्र रहेको वेलफेयर सेन्टर अपुग भएको भन्दै त्यसलाई विस्तार गर्ने योजना बेलायती टोलीले जानकारी दिएको थियो । गोरखा प्रतिनिधिहरूले भने गोरखाहरूसित परामर्श गरेर मात्र कुन कुन स्थानमा विस्तार गर्ने निर्णय लिन सुझाव दिएको मेजर गुरुङले बताए । उनले नेपालमा बसोबासरत गोरखाहरूले वेलफेयरमा भोग्नुपरिरहेको समस्याका बारेमा पनि वार्तामा कुरा उठाएको प्रष्ट पारे । बेलायतमै बसोबासरत वयोवृद्ध गोरखाहरूको निधन हुँदा श्रीमती वा श्रीमानलाई वेलफेयरले अनावश्यक प्रश्नहरू साेधेर तनाव दिने गरेकोमा गोरखाहरूले प्रश्न उठाएका थिए ।
आजको वार्तामा स्टेट पेन्सन र गुडविल पेमेन्टबाहेक सबै कुरामा विषय प्रवेश भएको राईले बताए । स्टेट पेन्सन र क्षतिपूर्तिका बारेमा भने आजको वार्तामा बसेको बेलायती वार्ता टोलीको विभागीय कार्यक्षेत्र भित्र नपरेकाले छलफल नभएको बताइएको छ । मेजर जुद गुरुङले भने जुन विभागले ती विषयहरू हेर्छ तिनीहरूसितै वार्तामा बस्न आफूहरू सदैव तयार रहेको बताएका थिए ।
गेसो उपसभापति धर्म तामाङले आजको वार्तामा हवाइ काण्डका बारेमा पनि कुरा उठाएको बताए । बेलायती पक्षले यस बारेमा उतिबेलै छानविन भएको तर्क गरेका थिए भने गोरखाहरूले त्यतिबेलाको छानविनमा गोरखाहरूमाथि अन्याय भएकाले पुन छानविन हुनुपर्ने माग गरेका थिए ।
वार्ताको शुरुमा बेलायतले वेलफेयरका बारेमा मात्र वार्ता गर्ने भन्दै पेन्सनका बारेमा सुन्नै चाहेको थिएन । गोरखाहरू र नेपाल सरकारका प्रतिनिधिहरूका अडानका कारण आजबाट पेन्सनको विषय पनि वार्तामा समेटिएपछि गोरखाहरूको अनुहारमा चमक देखिएको हो ।
आजको वार्तामा नेपाली सरकारको प्रतिनिधित्व लण्डन दुताबासकी उपनियोग रोशन खनालले गरेकी थिइन भने सैनिक सहचारी जर्नेल रत्नबहादुर गोदार पनि सरिक थिए ।
खनालले अर्को वार्ता जुलाई १५ भित्रै गर्न अनुरोध गरेको पनि वार्तामा सहभागी गोरखाहरूले बताए ।

दुई प्रतिवेदन पारित गर्दै नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन
सरल छविका थिए प्रशान्त तामाङ
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी