राष्ट्रको गौरव पत्रकारिता दिवस

_MG_0090.JPG

कुनै पनि राष्ट्रको अस्तित्व, स्वाभिमान र गौरव त्यसको आकारका आधारमा मात्र आँकलन गर्न सकिँदैन । राष्ट्रको गौरव त्यसको इतिहासको जगमा उभिएको हुन्छ । संसारका सबै प्राणीमध्ये सबैभन्दा बुद्धिमान प्राणी मानिस भएकाले सभ्यताको विकास गर्ने जिम्मेवारी पनि मानिसकै काँधमा रहिआएको छ, सृष्टिको पहिलो बिहानीदेखि नै ।
संसारका सबै भागमा रहेका समाज वा देशको इतिहास कोट्याउने हो भने कुनै न कुनै कालखण्डमा अन्धकारको युग नभोगेको मानव समाज वा देश पाउन सकिँदैन । हाम्रो देश नेपाल पनि धेरै विषयमा अतुलनीय गौरवले भरिएको देश हो । यहाँको प्राकृतिक र सांस्कृतिक सम्पदा, वीरताको गाथा, अक्षुण सार्वभौमिकता आदि अतुलनीय राष्ट्रिय गौरव हुन्, जसले नेपाल र नेपालीलाई विश्वमा चिनाएको छ र अनन्तकालसम्म चिनाइरहने छ । तर यति हुँदाहुँदै पनि नेपालको इतिहासको एक कालखण्ड भने अन्धकारमय रहन गयो । एक सय चार वर्षसम्मको त्यो कालखण्ड जहाँनीया राणा शासनकालको नामले चिनिन्छ । त्यस कालखण्डको सत्यतथ्ययुक्त प्रमाणिक विश्लेषणले अझै पूर्णता पाइसकेको छैन । त्यसैले त्यस कालखण्डमा भएका कतिपय सकारात्मक र नकारात्मक कार्य अझै पनि जनमानसको जानकारीबाट ओझेलमै रहेका छन् ।
बीसौँ शताब्दीको नामबाट पनि चिनिने त्यो कालखण्डमा संसारले पनि सकारात्मक र नकारात्मक दुवै घटनाक्रम बेहो¥यो । मुख्यतःपहिलो विश्वयुद्ध सकिएलगत्तै जसो दोस्रो विश्व युद्धकोसमेत चपेटामा पर्नु मानव सभ्यताले भोगेको सबैभन्दा ठूलो त्रासदी थियो । मानव सिर्जित ती दुई विध्वंश यदि नभई दिएको भए संसारको इतिहास मात्र होइन, आजको वर्तमान र भोलिको भविष्यसमेत बेग्लै हुने थियो ।
निरङ्कुश शासन व्यवस्था भएको अन्धकार युगमा पनि केही सकारात्मक काम भएका पाइन्छन् । तीमध्ये नेपालमा शासक वर्ग र शासित वर्गको सहकार्यबाट अखबारी पत्रकारिताको सुरुआत गरिनु एक अत्यन्तै साहसिक सकारात्मक कार्य थियो । विसं १९५८ वैशाख २४ गते साप्ताहिक समाचारपत्रका रुपमा काठमाडौँबाट ‘गोर्खापत्र’ प्रकाशित भएको घटना वास्तवमा एउटा पत्रिका प्रकाशित भएको घटना मात्र नभई देशभर व्याप्त अज्ञानताको अँध्यारोलाई केही हदमा भए पनि चिर्न र देशलाई आधुनिक सभ्यताको गोरेटोमा प्रवेश गराउन गरिएको एक साहसिक प्रयास थियो ।
विसं १९५८ अर्थात् सन् १९०१ भन्नाले २०औँ शताब्दी भरखर प्रारम्भ भएको समय हो । संसारका विभिन्न मुलुकमा फैलिएको साम्राज्यवादको कठोर साङ्लोमा विस्तारै खिया लाग्न थालेको स्पष्ट देखिन थालेको थियो । विदेशी शक्तिको मुठ्ठीभित्र परेर सार्वभौमिकता गुमाएका विभिन्न साना, ठूला मुलुकमा मुक्तिका लागि सङ्घर्षले तीव्रता पाइरहेको थियो । मुक्ति सङ्घर्षलाई अघि बढाउन क्रान्तिकारीले ज्यान हत्केलामा राखेर गरेको प्रयास र त्यसलाई दबाउन हरसम्भव हथकण्डा अपनाउने साम्राज्यवादी शक्तिको प्रयासबीचको टक्करले धेरै हिंसा र जनधनको क्षति पनि गराइरहेको थियो ।
मुक्ति सङ्घर्ष, क्रान्ति वा आन्दोलन बन्द भएका थिएनन्, कहीँ सशक्त र कहीँ सुषुप्तरुपमा जारी नै थिए । भारतमा त सन् १८५७ देखि नै अङ्ग्रेज साम्राज्यविरुद्ध विद्रोहको विगुल फुकिसकिएको थियो ‘सिपाही विद्रोह’का रुपमा । त्यो घटनाले भारतलगायत दक्षिण एशियाकै राजनीतिक वातावरणमा एउटा जोडदार हलचल ल्याइदिएको थियो र हिजोसम्म जो आफ्नो भाग्यलाई दोष दिएर अङ्ग्रेज शासनसत्तालाई नियतिका रुपमा स्वीकार गरेर निरुपाय बसिरहेका थिए, उनीहरुमा चेतनाको सञ्चार भयो र अङ्ग्रेज शासन सत्ताबाट भएका अन्याय, अत्याचारविरुद्ध सङ्गठित हुन थाले । भारतको कोलकत्ता, बनारस, दिल्ली, लखनउ आदि विभिन्न भारतीय स्थानमा रहेका नेपाली यी सबै घटनाक्रम र त्यसको प्रभावका साक्षी थिए ।
नेपाल कुनै पनि साम्राज्यवादी शक्तिको अधिनमा नपरी सार्वभौमिकता कायम राख्न सफल राष्ट्र भएकाले त्यस प्रकारको मुक्ति सङ्घर्षको इतिहास नेपालमा छैन । तर नेपालमा राजनीतिक, सामाजिक सङ्घर्षको इतिहास अर्कै प्रकृतिको छ ।
एक शताब्दीसम्म राणा शासनको अधिनमा रहेको नेपालमा त्यस कालखण्डमा थोरै राम्रा काम तर धेरै नराम्रा काम भए । आखिर शासनसत्ता जस्तो भए पनि त्यसलाई सञ्चालन गर्ने अख्तियारी पाएका पदाधिकारीका नियत, धारणा, क्षमता, इमान्दारी र इच्छाशक्तिमा नै सबैकुरा निर्भर गर्दछ । यो तथ्य राणाशासनको कालखण्डको विश्लेषण गर्दा पनि स्पष्ट हुन्छ । हिंसाको बलमा सत्ता प्राप्त गरेको र जहानियाँ शासन सुरु गरेको भनी प्रथम राणा प्रधानमन्त्री जङ्गबहादुर राणाको आलोचना गरिन्छ, जुन आलोचना स्वाभाविकै हो । तर नेपालको राष्ट्रिय स्वार्थका पक्षमा उनले गरेका केही महत्वपूर्ण र कालजयी कामलाई भने नकार्न सकिँदैन । जस्तै साँधमै बसेर साम्राज्य चलाइरहेको अङ्ग्रेज शक्तिसँग मैत्री सम्बन्ध राखेर कूटनीतिक तरिकाले नेपालको सार्वभौमिकता जोगाइराख्नु, देशको गुमेको भूभागको केही हिस्सा (बाँके, बर्दिया, कैलाली, कञ्चनपुर) फिर्ता ल्याउनु, सीमा सुरक्षालाई उच्च प्राथमिकता दिनु, युरोपको ऐतिहासिक सफल भ्रमण गरी अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठा स्थापित गर्नु, सोही भ्रमणबाट फर्कंदा हाते प्रेसलगायतका आधुनिक वस्तु नेपालमा प्रवेश गराउनु, देशमा लिखित कानुन (मुलुकी ऐन–१९१०) को परम्परा सुरु गर्नु आदि जङ्गबहादुरलाई जति गाली गरे पनि उनैलाई श्रेय नदिइ सुखै नपाइने सत्कार्य हुन् ।
यसैगरी राणा शासनकालका शासकहरुमध्ये राष्ट्रले बिर्सन नसक्ने अर्का प्रधानमन्त्री हुन् देवशम्शेर जबरा । उनी अरु राणा शासकभन्दा फरक सोचका थिए । तर सुधारवादी उदार देवशम्शेरकै शासनकाल सबैभन्दा छोटो रहनु उनका लागि मात्र होइन, देशकै लागि दुर्भाग्य थियो । करिब तीन महिनाको अवधिमा पनि देश र जनताको हितका लागि उनले गरेका महत्वपूर्ण कालजयी कामहरुमा सुव्यवस्थित र सुनिश्चित रुपमा ‘गोर्खापत्र’ साप्ताहिक अखबारको प्रकाशन प्रारम्भ गर्नुलाई लिन सकिन्छ । विसं १९५८ वैशाख ११ गते नरदेव पाण्डेलाई प्रधानमन्त्रीले ‘गोर्खापत्र’ प्रकाशित गर्न लिखित सनदमार्फत अख्तियारी दिएका थिए । त्यसकै आधारमा दुई हप्तामै अर्थात् वैशाख २४ गते गोर्खापत्रको पहिलो ऐतिहासिक अङ्क नेपाली पाठकसमक्ष पु¥याउन नरदेव सफल भए । यो नेपाली भाषामा नेपालबाट प्रकाशित पहिलो समाचारपत्र थियो ।
यसअघि विसं १९५५ साउनमा उनै नरदेव पाण्डे र मित्रको प्रयासमा काठमाडौँबाट ‘सुधासागर’ साहित्यिक मासिक प्रकाशित भएको थियो तर त्यो अखबारी पत्रिका थिएन र त्यसले निरन्तरता पनि पाउन सकेन । यही नियति विसं १९५० मै भारतको बनारसमा रहेका मोतीराम भट्ट र रामकृष्ण बर्माद्वारा प्रकाशित ‘गोर्खाभारत जीवन’ नामक साहित्यिक मासिक पत्रिकाले भोग्नु प¥यो । जे होस्, निरन्तरताको गौरव प्राप्त गर्न नसके पनि पहिलो हुनुको इतिहास भने उनीहरुको छ । ‘गोर्खाभारत जीवन’ नेपाली भाषामा प्रकाशित भएको विश्वकै पहिलो पत्रिका थियो भने ‘सुधासागर’ नेपालभूमिबाट प्रकाशित पहिलो पत्रिका हो ।
‘गोर्खाभारत जीवन’ का बारेमा धेरै तथ्य अज्ञात नै छ आजसम्म । मुख्य प्रश्न उक्त पत्रिका कति अङ्कसम्म प्रकाशित भयो ? त्यो पत्रिका नेपाल आयो कि आएन ? अल्पायुमै निधन (विसं १९५३ भदौ) भएका मोतीराम भट्टको जीवनको उत्तरार्ध काठमाडौँ भोंसीको टोलस्थित उनको जन्मघरमै बितेकोले उनले वनारसबाट काठमाडौँ फर्कंदा आफैँले निकालेका पत्रिका ‘गोर्खाभारत जीवन’का केही प्रतिहरु साथै लिएर आएको हुनुपर्ने प्रबल सम्भावनालाई नकार्न सकिन्छ र ? तर राणा शासनकालको कठोर कालखण्डमा यी प्रश्नहरु न त कसैले उठाउने आँट गरे, न त प्रजातन्त्रको उदय भएपछि पनि यस्ता विषयमा चासो राख्न कसैलाई फुर्सद भयो । फलस्वरुप अध्ययन अनुसन्धानको अभावमा हाम्रो राष्ट्रिय महत्वका कैयौँ विषय र वस्तु अँध्यारोमै विलिन हुन बाध्य भए । त्यसमध्ये ‘गोर्खाभारत जीवन’ पनि एक थियो ।
यसैगरी नेपालभित्रैबाट प्रकाशित पहिलो पत्रिका ‘सुधासागर’को नियति पनि त्यस्तै हुनगयो । यसका केही प्रतिहरु आफूसँग रहेको तर विसं १९९० को महाभूकम्पमा आफ्नो घर भत्किँदा त्यसैमा परी अन्य धेरै कागजातका साथमा ‘सुधासागर’का प्रतिहरु पनि नष्ट भएको भनी इतिहास शिरोमणि बाबुराम आचार्यले लेखेका छन् । ‘सुधासागर’का सम्पादक–प्रकाशक एवं ‘गोर्खापत्र’का तालुकवाला नरदेव पाण्डेबारे पर्याप्त अध्ययन–अनुसन्धान नभएकाले ‘सुधासागर’बारे धेरै तथ्य ओझेलमा परेका छन् ।
विसं १९५५ साउनदेखि १९५७ चैतसम्म (गोर्खापत्र प्रकाशित गर्ने जिम्मेवारी पाउनुअघिसम्म) करिब तीन वर्ष नरदेव केमा व्यस्त थिए भन्नेबारे स्पष्ट छैन । नरदेव निकै क्रियाशील थिए, त्यसैले उनी चुप लागेर बस्न सक्ने व्यक्ति थिएनन् । तसर्थ ‘गोर्खापत्र’को जिम्मेवारी पाउनुअघि उनी ‘सुधासागर’का नियमित अङ्कहरु प्रकाशित गर्न व्यस्त थिए कि भन्ने सहज अनुमान गर्न सकिन्छ । साथै ‘सुधासागर’ सफलतापूर्वक प्रकाशित गर्न सफल र अनुभवी व्यक्ति भएकै कारण प्रधानमन्त्री देवशम्शेरले नरदेवलाई नै ‘गोर्खापत्र’ को जिम्मेवारी दिएको यथार्थ सहजै बुझ्न सकिन्छ । ‘गोर्खापत्र’ साप्ताहिक प्रकाशित भएको समयकै हाराहारीमा अर्थात् सन् १९०१ मै दार्जिलिङबाट पादरी गङ्गाप्रसाद प्रधानले ‘गोर्खेखबर कागज’ प्रकाशित गरेका थिए । इसाई धर्मनिकट सो प्रकाशनको अल्पायुमै अन्त्य भयो ।
नेपाली पत्रकारिताको गर्भादान इतिहाससँग जोडिएका चार पत्रिका ‘गोर्खाभारत जीवन’, ‘सुधासागर’, ‘गोर्खापत्र’ र ‘गोर्खे खबर कागज’ मध्ये ‘गोर्खापत्र’ले मात्र दीर्घायु पाउन सक्योे फलस्वरुप यसको बेग्लै इतिहास बन्यो । जस्तोसुकै परिस्थितसँग पनि सामना गरेर करिब सवा शताब्दीको अविराम यात्रा तय गर्नु र यात्रालाई अझै नयाँ उत्साहकासाथ निरन्तरता दिन सफल रहनु नै गोरखापत्रको सबैभन्दा ठूलो उल्लेख्य पक्ष हो । तसर्थ सवा शताब्दीको सफल इतिहास बनाउन सक्षम गोर्खापत्रको जन्म भएको मिति नै नेपाली पत्रकारिताको सबैभन्दा गौरवपूर्ण मिति भएकोले आठ वर्षदेखि प्रत्येक वर्ष वैशाख २४ गतेलाई राष्ट्रिय पत्रकारिता दिवसका रुपमा मनाउन थालिएको हो ।
यति मात्र होइन, आधुनिक पत्रकारिताको एक महत्वपूर्ण पक्ष फोटो पत्रकारिताको शुभारम्भ गर्ने श्रेय पनि गोर्खापत्रले नै पाएको छ । विसं १९८४ वैशाख १३ गतेको गोर्खापत्रमा छापिएको वीरगञ्जकी एक सर्वसाधारण बालिका सूर्यमती श्रेष्ठले चर्खा चलाइरहेको फोटो नै नेपाली पत्रिकामा छापिएको पहिलो फोटो थियो । सोही ऐतिहासिक तथ्यका आधारमा वैशाख १३ गते नेपालमा फोटो पत्रकारिता दिवस मनाउने गरिएको छ ।
वैशाख २४ गते गोर्खापत्र पहिलोपटक प्रकाशित भएको मिति मात्र नभई नेपालमा दिगो पत्रकारिताको विजारोपण भएको दिन हो । भारतलगायत दक्षिण एशिया, एसिया र विश्वमै पनि विभिन्न समयमा विभिन्न स्थानबाट पत्रिका जन्मिने तर अल्पायुमै मर्नेक्रम लामो समयसम्म जारी रहेको देखिन्छ । त्यसैले शताब्दीको त कुरै छोडौं दशकसम्म पनि टिक्न नसकी इतिहास बनाउनबाट बञ्चित रहेका अनगिन्ति पत्रपत्रिकाका ज्ञात–अज्ञात नामकाबीच सवा शताब्दीको इतिहास लिएर गोरखापत्र सगौरव उभिएको छ । देशले गौरव गर्न बीरलै मात्र पाइने यस्तो असाधारण गौरवको विषयलाई नै राष्ट्रिय दिवसको विषय बनाइनु हरतरहबाट उपयुक्त कार्य हो ।
वैशाख २४ गते एउटा अखवारको जन्मदिन मात्र नभई राष्ट्रले विश्वसामु शिर ठाडो पारेर गौरव गर्न सक्ने विषयको दिवस हो । हरेक वर्ष मे ३ तारिखमा विश्व प्रेस स्वतन्त्रता दिवस पनि मनाउने गरिएको छ । तर अन्य देशमा राष्ट्रिय पत्रकारिता दिवस मनाउने गरिएको उदाहरण त्यति पाइँदैन । त्यसको मुख्य कारण राष्ट्रिय दिवस नै मनाउन सुहाउने गरी पत्रकारिताको निरन्तर इतिहास बनाएका मुलुकहरु नै अत्यन्तै न्यून मात्रामा छन् ।
हरेक देशले आफ्नो राष्ट्रिय र अन्तर्राष्ट्रिय सन्दर्भसँग सम्बन्धित विभिन्न दिवसहरु मनाउने प्रचलन आधुनिक युगमा नियमित कार्य हो । तर त्यस्ता दिवस औपचारिकतामा मात्र सीमित रहेर मनाउँदा आम जनमानसको चासोबाट टाढिन्छ । आम जनमानसको चासोबाट टाढिनु भनेको औचित्यबाटै टाढिनु हो । तसर्थ यस्ता दिवस सम्भव भएसम्म सिर्जनशीलरुपमा र आमजनतासँग प्रत्यक्ष सरोकार रहने गरी मनाउने गरेमा यसको गरिमा र प्रभावकारिता दुवै बढ्ने छ ।
राष्ट्रिय पत्रकारिता दिवस मनाउँदा पनि हामीले हाम्रो गौरवपूर्ण पत्रकारिताको इतिहासलाई अझ गौरवान्वित बनाउने रचनात्मक कार्यहरु गर्नु जरुरी हुन्छ । पत्रकारितासँग प्रत्यक्ष र परोक्ष रुपमा सरोकार राख्ने सबैले नेपाली पत्रकारिताको स्तरोन्नत्तिको लागि दृढ प्रतिज्ञा गरी ठोस कदम चाल्न सकेमा मात्र पत्रकारिता दिवस मनाउनुको अर्थ रहन्छ । आज देशका पहिलो, दोस्रो र तेस्रो अङ्ग मात्र होइन, चौथो अङ्गको नामले परिचित पत्रकारिता क्षेत्र पनि अनेकौँ चुनौतीबाट घेरिएको छ । कतिपय चुनौती समयले ल्याइदिएको छ भने कतिपय प्रविधिले, अनि कतिपय व्यक्तिका प्रवृत्तिले । पत्रकारिताको सबैभन्दा मुख्य धर्म आमजनता सामु निष्पक्षरुपमा सत्य, तथ्य प्रस्तुत गर्नु हो । त्यही धर्म पालनामा आज पत्रकारिता डग्मगाई रहेको त छैन भन्ने चिन्ता बढ्दो छ ।
पत्रकारिताको अर्को महत्वपूर्ण धर्म आमजनमानसलाई निराश हुन नदिई जस्तोसुकै विषम परिस्थितिमा पनि जनतामा आशाको दियो जगाई राख्न सक्नु हो । तर आजको पत्रकारितामा यो क्षमता क्षीण हुँदै गएको आभास हुन्छ । यो क्षमता प्राप्त गर्न पत्रकारितामा नैतिकताको प्राणवायु सञ्चार हुनु अत्यावश्यक छ । राष्ट्रिय पत्रकारिता दिवसको गौरवपूर्ण अवसरमा पत्रकारिताको धर्म र नैतिकतालाई अविचलित राख्ने प्रण गर्दै ठोस कदम चाल्नुमा नै यस दिवसको गरिमा र औचित्य निहित रहनेछ ।
(लेखक राससका पूर्व महाप्रबन्धक तथा बरिष्ठ पत्रकार हुनुहुन्छ)

प्रतिक्रिया

सम्बन्धित सामाग्री