प्रवासी राजनीतिक संगठनहरूको भूमिका

पृष्ठभूमि 

विसं २०४६ मा बहुदलीय ब्यबस्था पुनःस्थापित हुनु अगाडी सर्वसाधारणले राहदानी प्राप्त गर्नसमेत अत्यन्तै कठिनाई थियो । तत्कालीन पञ्चायती ब्यबस्थाको बिरोधका कृयाकलापमा संलग्नहरूले झन् प्रहरी प्रतिवेदन पाउन सम्भव नै थिएन। उक्त राजनीतिक परिवर्तनपश्चात विस्तारै अध्ययन तथा विविध अवसरका खोजीमा नेपालीहरू विदेश जाने क्रम बढ्दै हालै प्रकाशित सरकारी तथ्याङ्कअनुसार  २१ लाख नेपालीहरू विश्वभर छरिएर रहेका छन् । तर यो संख्या धेरै वढी हुन सक्ने अनुमान गरिन्छ। 

प्रवासमा राजनीतिक संगठन 

विगत तीस वर्षमा नेपालमा राजनीतिक परिवर्तनहरू भएतापनि जनताले आशा गरेका सुशासन,विकास र रोजगारीका अवसर नहुँदा सामान्य जीविकापार्जनको लागी विदेसिएका नेपालीहरू स्वदेशको राजनीतिलाई नजिकबाट नियालिरहेका हुन्छन्। प्रवासमा रहेका अधिकांश गैरआवासीय नेपालीहरू नेपालमा भएका हरेक राजनीतिक परिवर्तनमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा समावेश भएका थिए। त्यसैले स्थायी वा निश्चित अवधिका लागी प्रवासमा रहेका नेपालीहरू त्यहाँ झेलिरहनु परेका विविध समस्याहरूका वावजुद पनि नेपालको बारेमा सोच्ने, समस्या परेको समयमा यथासक्य सहयोग गर्दछन् भन्ने कुरा सन् २०१२ को भुकम्प, कोभिड महामारी, र भारतीय नाकाबन्दीका समयमा लन्डन, सिडनीदेखि न्युयोर्कसम्म भारतीय नियोगमा गैरआवासीय नेपालीहरूको बुलन्द आवाजले पुष्टी गर्दछ। मानिस एक चेतनशील प्राणी भएको नाताले आआफ्ना समान विचार र दृष्टिकोणका सन्दर्भमा विभक्त हुनु र सोही अनुरूप कृयाकलाप संचालन गर्नु स्वाभाविक हो । नेपालमा रहेका मुख्य राजनीतिक पार्टीहरू नेकपा एमाले (प्रवासी नेपाली मञ्च), नेपाली काँग्रेस (जनसम्पर्क समिति), नेकपा माओवादी (जनप्रगतिशील) संग आjद्ध भई राजनीतिक कृयाकलापहरु संचालन गर्दै आइरहेका छन्। नयाँ राजनीतिक शक्तिको रुपमा स्थापित हुने प्रयासरत राष्ट्रिय स्वतन्त्र पार्टीले समेत विभिन्न देशमा राजनीतिक संगठन गठन गर्न सुरु गरिसकेको छ।

आधुनिक प्रविधिको बिकासले भविष्यमा नेपालमा हुने आवधिक निर्वाचनदेखि हरेक परिवर्तनहरुमा गैरआवासीय नेपालीहरूको महत्वपूर्ण तथा निर्णायक भूमिका हुनेछ भन्ने कुरा स्थापित हुँदैछ। विविध कारणले विदेशमा रहेका गैरआवासीय नेपालीहरूको नेपालमा सुशासन तथा विकास हुनेछ भन्ने तीस वर्ष भन्दा बढीको धैर्यता टुट्दैछ भन्ने लक्षण देखिन थालिसकेको छन् । नेपालमा रहेका प्रमुख राजनीतिक दलहरूको बेलैमा चेत नखुलेमा उनीहरूको अधोगति रोकिने छैन।

प्रवासी संगठनहरुको भूमिका 

गैरआवासीय नेपालीहरूले पठाएको रेमिटेन्स नेपाली अर्थतन्त्रको मेरुदण्डको रुपमा स्थापित भइसकेको छ। अब यो आर्थिक रुपमा मात्रै सीमित नभई नेपाली राजनीतिलाई समेत दिशानिर्देश गर्ने हैसियतमा विकसित हुँदैछ । विगत तीस वर्षमा नेपालमा राजनीतिक परिवर्तनहरू भएतापनि जनताले आशा गरेका सुशासन, विकास र रोजगारीका अवसर नहुँदा सामान्य जीविकोपार्जनको लागी विदेसिएका नेपालीहरू स्वदेशको राजनीतिलाई नियालीरहेका हुन्छन् । यो तीस दशकको अवधिमा विश्वभर छरिएर रहेका गैरआवासीय नेपालीहरू मध्ये सयौं गैरआवासीय नेपालीहरूले हासिल गरेको वौद्धिक ज्ञान अत्यन्तै प्रशंसनीय छ। त्यसैगरी अन्य हजारौ गैरआवासीय नेपालीहरूले विविध क्षेत्रमा आर्जन गरेको ज्ञान, सीप र पुंजीबाट नेपालले अत्यधिक लाभ लिने प्रयास गर्नुको सट्टा उनीहरूलाई हतोत्साहित गरेको प्रवासमा रहेका मुख्य राजनीतिक दलका सङ्गठनहरूले समेत आआफ्ना दलका नेतृत्वलाई नेपालले गैरआवासीय नेपालीहरूवाट लिनसक्ने महत्वपूर्ण योगदानको बारेमा बुझाउन सकेको छैन । अब प्रवासमा रहेका राजनीतिक संगठनहरुले विभिन्न क्षेत्रका वौद्धिक व्यक्तित्वहरुसंग सहकार्य गरी आफ्नो नेतृत्वलाई विविध क्षेत्रमा सुझाव तथा दबाब दिनुपर्ने देखिन्छ। 

हाल प्रवासमा रहेका पहिलो पुस्ताले विद्यमान नेपाली कानून तथा संबिधानमा जे जति सुधार गरी आफ्नो तथा आफ्ना सन्तति र नेपालको हितमा स्थापित गराउन सम्भव छ त्यो भविष्यमा असम्भव हुन सक्छ। त्यसैले नेपाली पुँजी पलायन हुन नदिन, गैरआवासीय नेपालीहरूको नेपालमा लगानी बढाउन, गैरआवासीय नेपालीहरूको नेपालमा रहेको पैतृक सम्पत्तिको रक्षा गर्न जति सक्दो छिटो विभिन्न वाहानामा अल्झिएर रहेको नागरिकता विधेयकलाई पास गराउन राजनीतिक संगठनहरुले सशक्त दबाब दिनु पर्छ। साथै उक्त ऐनको कार्यान्वयनको लागी गैरआवासीय नेपाली ऐन र नियमावलीको संसोधनको लागी यथासक्य पहल गर्नुपर्छ। 

नेपाल भित्रिने रेमिटेन्सको ठूलो अंश ओगट्ने मलेसिया, दक्षिण कोरिया तथा मध्य पूर्वका देशहरूमा कार्यरत गैरआवासीय नेपालीहरूले झेलिरहनु परेका बिबिध समस्याहरु साथै नेपालमा हुने निर्वाचनमा मताधिकारको अधिकार उपलब्ध गराउनु भन्ने सम्मानित सर्वोच्च अदालतको आदेशको कार्यान्वयनको लागी समेत नेतृत्वलाई जोडदार दबाब दिनु पर्ने देखिन्छ। 

विदेशमा गैरआवासीय नेपालीहरू एकताबद्द हुँदै उनीहरूले आर्जन गरेको ज्ञान, सीप र पुँजीबाट नेपाल र नेपालीको हितमा काम गर्न सजाउ पुर्याउने उद्देश्यले बीस वर्ष अगाडी नेपाल सरकारको स्वीकृतिबाट स्थापित गैरआवासीय नेपाली संघले घोषित उद्देश्यअनुरूप काम गर्न सकिरहेको छैन । बरु गैर राजनीतिक संस्था भनिएता पनि राजनीतिक दलहरूलाई सामेल गराएर संघको अस्तित्वलाई नै संकटमा धकेलिएको छ । गैरआवासीय नेपाली संघलाई गैरराजनीतिक संस्था भनिएता पनि यसको निर्माणलाई नियाल्दा राजनीतिक संगठनहरूमा बर्चश्व जमाएका ब्यक्तिहरुकै हालीमुहाली देखिन्छ। तर बिडम्बना सबै राजनीतिक संगठनहरु भूमिगत शैलीमा संघका हरेक कृयाकलापहरुमा संलग्न हुँदै आएता पनि संघमा देखिएका बिकृतिलाई सुधारका लागी आफ्ना स्पष्ट दृष्टिकोणहरु पेस गर्न चुकिरहेका छन् । नेपालीहरुको एक मात्रै ८६ देशहरूमा संजाल निर्माण भई सकेको संघ भित्र देखिएका कमीकमजोरी र सुधारका लागी प्रवासमा रहेका सबै राजनीतिक संगठनहरुले निर्मम समीक्षा गरी आ-आफ्ना दृष्टिकोण र सुझावहरू सार्वजनिक गर्नु पर्ने देखिन्छ ।

प्रवासी राजनीतिक संगठनमा आवद्ध विदेशी नागरिकतावाहक  व्यक्तिहरूले नेतृत्वलाई रिझाएर कुनै राजनीतिक पद पाउने सम्भावना हुँदैन । जसले गर्दा स्वदेशमा कार्यरत नेताहरूभन्दा मूल राजनीतिक पार्टीका कृयाकलापहरुका बारेमा निर्मम समीक्षा गरी नेतृत्वलाई सुझाव तथा दबाव दिन सक्छन् र सक्नु पर्दछ । यसको आलावा नेतृत्वको नजिक हुन साधनको रुपमा मात्रै सङ्गठनलाई उपयोग गर्ने र सम्भावित फाइदा बटुल्ने नीति लिने नेतृत्व समग्रमा प्रवासी नेपाली, राजनीतिक संगठन तथा नेपालकै लागी हानिकारक हुनेछ। 

प्रतिक्रिया

सम्बन्धित सामाग्री