
लन्डन । गत आइतबार वुलविचमा आयोजना गरिएको ‘अर्को मुखर्जी सांगीतिक साँझ’ बाट खर्च कटाएर झन्डै साढे चार लाख रुपियाँ बचत भएको हेल्प नेपाल नेटवर्क युकेले जनाएको छ।
दि ट्रामसेड थियटर, वुलवीचमा आइतबार आयोजित सांगीतिक साँझमा चर्चित भारतीय गायक अर्को मुखर्जीले थुप्रै पुराना नेपाली लोक–आधुनिक गीतहरु सुनाएर नेपाली दर्शकहरुलाई मन्त्र मुग्ध पारेका थिए । उनले आफ्नै मौलिक शैलीमा स्वर्गीय लोकगायक झलकमान गन्धर्वका कालजयी गीत लगायत अन्य कोसेलीहरु प्रस्तुत गरेका थिए भने दाजुभाइ ब्याण्डका गायक अमित मगरले लोकप्रिय नेपाली गीतहरु सुनाएर दर्शकलाई नचाएका थिए।
कार्यक्रमको टिकट बिक्री तथा स्पन्सरशिपबाट ४,९०८ पौण्ड आम्दानी भएको हेल्प नेपाल नेटवर्क युकेका अध्यक्ष सचिन श्रेष्ठले जानकारी दिए। उठेको रकमबाट अर्को मुखर्जीले सहयोग गरिरहेको कोलकातास्थित प्रियोनाथ मन्ना बस्ती कम्युनिटी किचेनको लागि एक हजार पौण्ड प्रदान गर्नुका साथै थियटरको भाडा लगायत कूल २,१५१ पौण्ड खर्च भएको उनले बताए। खर्च कटाएर बाँकी रहेको २,७५६ पौण्ड (झन्डै ४,४३,००० रुपियाँ) मा हेल्प नेपाल नेटवर्क युकेको कोषमा रहेको रकम थप गरेर रु पांच लाख हेल्प नेपाल बाल गृहको लागि पठाइने पनि उनले जनाए।
सन् २०१४ देखि धुलिखेलमा सञ्चालित उक्त बाल गृहमा अहिले २३ जना असहाय बालिका बसेर पठनपाठन गरिरहेका छन्। अध्यक्ष श्रेष्ठले प्रायोजक, स्वयंसेवी लगायत सम्पूर्ण दर्शकहरुलाई पनि हार्दिक धन्यवाद दिएका छन्।
“मातृभूमिको लागि महिनामा एक पौण्ड वा एक डलर” भन्ने नारा दिएर सन् १९९९ मा बेलायतबाट सो नेटवर्क (www.helpnepal.net) स्थापना गरिएको थियो। नेटवर्कले नेपालमा शिक्षा, स्वास्थ्य, आपत्कालीन मानवीय सहायता लगायतका क्षेत्रमा सहयोग पुराउँदै आएको छ। नेटवर्कले नेपालका एक सय बढी स्कुलहरुमा कक्षा कोठा निर्माण, लाइब्रेरी तथा इ-लाइब्रेरी स्थापना गर्नुका साथै सिन्धुपाल्चोक, दोलखा लगायतका जिल्लाहरुमा भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवनहरुको पुनर्निर्माणमा पनि सघाएको छ ।
(तस्बिर: कुशल श्रेष्ठ)
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा