बीसीसी युकेले मनायो तमु ल्होछार 

लण्डन। बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले तमु (गुरुङ)हरुको महान पर्व ल्होछार मनाएको छ । शुक्रबार ३० डिसेम्बर २०२२ का दिन अल्डरसटस्थित गुम्बामा धार्मिक परम्परानुसार सो पर्व मनाइएको हो। सिक्किमका हिज इमिनेन्स टुल्कु साङ्गेयोन्तेन ग्यात्सो गुरुङको विशेष उपस्थितिमा मनाइएको उक्त ल्होछार कार्यक्रममा बीसीसी युके गुम्बाका टुल्कु जिग्मे सामतेन, खेन्पोटासी छिरिङ्गलगायत गुरुहरुले घ्यासी पूजा र आयु पूजा गरेका थिए। साथै, पूजाको अन्त्यमा सहभागी भक्तजनहरुलाई टुल्कु साङ्गेलेआयुको वाङ्ग (अभिषेक) दिएका थिए ।
तमु धिं युकेका पदाधिकारी एवं सदस्यहरुको विशेष उपस्थितिमा सम्पन्न भएको उक्त पूजामा विभिन्न व्यक्तिहरुले दुई हप्ता अघिबाट बत्ती बाल्न, छोक दान र भोजन दानका लागि भाइबर ग्रुपमार्फत आ–आफ्नो नाम दर्ता गराएका थिए ।बाघ वर्गको बिदाई र बिरालो वर्गको स्वागतार्थ आयोजना गरिएको कार्यक्रममा तमु धिं युकेले गुम्बा परिसर भित्र नयाँ लुङ्दासमेत फेरिदिएको थियो ।सो अवसरमा तमु धिं युके ११ औं कार्यसमितिका अध्यक्ष हितकाजी गुरुङ, नवनिर्वाचित १२औं कार्यसमितिका अध्यक्ष हरि गुरुङलगायत कार्य समितिका पदाधिकारी, सल्लाहकार एवं तमुहरुको बाक्लो उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा बीसीसी युकेले हालै ट्रष्टी मेम्बर बनेका नयाँ सदस्यहरुलाई स्वागत गर्दै प्रमाण पत्र प्रदान गरिएको थियो । त्यस्तै, बीसीसी युकेका कर्मचारी, र स्वयंसेवकहरुले गरेको कामको प्रसंशा गर्दै खादा लगाई धन्यवाद दिए ।
कार्यक्रममा नयाँ ल्होबाट सबैको ग्रह शान्ति होस् भन्ने उद्देश्यका घ्यासी पूजा र सम्पूर्ण मानव जातिको सुस्वास्थ्य, दीर्घायु, शान्ति, समृद्धिका लागि आयु पूजा आयोजना गरिएको थियो । साथै, बीसीसी युकेको तर्फबाट अध्यक्ष धर्म तामाङ्ग र बीसीसी युके आमाहरुको तर्फबाट आमा अध्यक्ष उर्मिला गुरुङले श्रद्धेय टुल्कु गुरूलाई मण्डला चढाएका थिए ।
बेलायतका विभिन्न स्थानबाट आएका तमुहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा सिक्किमबाट आएका टुल्कु गुरुले बौद्ध धर्ममा पञ्चशीलको महत्वबारे जानकारी गराउँदै बौद्ध धर्मले मानव जीवनमा खेल्ने भुमिकाबाट चर्चा गरेका थिए ।
कार्यक्रममा बीसीसी युकेका अध्यक्ष धर्म तामाङ्गले बीसीसी युकेले गुम्बाबाट प्रवाह गरिने विभिन्न सेवाहरुको बारेमा जानकारी गराउँदै बीसीसी युकेको अनुरोधमा सिक्किमबाट तमु ल्होछारका लागि सहभागी भैदिएकोमा आभार व्यक्त गरे । त्यस्तै, तमु धिं युकेका अध्यक्ष हितकाजी गुरुङले टुल्कु गुरुको स्वागत गर्दै तमु ल्होछारको शुभकामना मन्तब्य दिएका थिए ।
त्यस्तै,बीसीसी युकेका प्रमुख सल्लाहकार एवं ल्होछार संयोजक मेजर खुशीमान गुरुङले औपचारिक कार्यक्रमको संचालन गर्दै सिक्किमबाट आएका टुल्कु गुरुको बारेमा जानकारी गराएका थिए । साथै, उनले तमु ल्होछारका लागि भोजनदान गर्ने लगायत दानवीरहरुको नामावली प्रस्तुत गर्दै सबै दानवीरहरुलाई धन्यवाद दिएका थिए ।
बीसीसी युकेका प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङको संयोजकत्वमा सम्पन्न भएको उक्त कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि बीसीसी युकेका अध्यक्ष धर्म तामाङ्ग, आमा अध्यक्ष उर्मिला गुरुङ, बीसीसी युकेका संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, पूर्व अध्यक्ष लेप्टन नारायण प्रसाद गुरुङ र नरेश गुरुङ, संस्थापक आमा अध्यक्ष ज्ञानुमाया गुरुङ, वर्तमान उपाध्यक्ष आङ्गदावा शेर्पा, रोबिन गुरुङ, कोषाध्यक्ष मेजर हितमान गुरुङ, आमा सचिव शारदा गुरुङ, मिडिया सेक्रेटरी सविन्द्र कुमार गुरुङ, गुम्बाका धर्मगुरुहरु, सहयोगी गुरुहरु, गुम्बाका कर्मचारी, स्वयंसेवक, शुभचिन्तक, कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, सल्लाहकारहरु, ट्रष्टीजहरुलगायत आमाहरुले विशेष भूमिका खेलेका थिए ।
करिब बिहान ८ बजेदेखि बेलायतका विभिन्न स्थानबाट ल्होछारको पावन अवसरमा बत्ती बाल्ने, पूजा गर्ने, गुम्बाले आयोजना गरेको घ्यासी पूजामा सहभागी हुनका लागि भक्तजनहरु आएका थिए ।
बीसीसी युके अध्यक्ष धर्म तामाङ्गको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष रोबिन गुरुङले धन्यवाद ज्ञापन गरेका थिए । स्मरण रहोस्, करीब १ महिनाका लागि बेलायत आएका टुल्कु गुरुले शनिबार तमु धिं युकेले अल्डरसटमा आयोजना गरेको तमु ल्होछार कार्यक्रममा विशेष सहभागिता जनाउने छन् । त्यस्तै, संखुवासभा तमु समाज, बुद्धिष्ट गुम्बा रेडिङ्ग र खोसोभो गुरुङ समाजले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेछन् । साथै, बीसीसी युके लण्डन शाखा, तमु धिं युके लण्डन ईकाई, मञ्जुश्री मनीमलम तमु आमा संघ केन्ट, बुद्धिष्ट कम्युनिटी स्वीन्डन, डाइमण्ड बुद्धिष्ट सेन्टर, बागशीला बासपानी समाज, शेर्पा एशोसिएसन युकेलगायत संघसंस्थाहरुले आयोजना गर्ने ल्होछार लगायत विभिन्न पूजापाठ, ग्रहशान्ति तथा प्रवचनमा सहभागी रहने बीसीसी युकेका उपाध्यक्ष रोविन गुरुङले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री