एनआरएन युकेको एक वर्षे हरहिसाब : आम्दानी २५ हजार, खर्च ५८ हजार पाउण्ड

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले एक वर्षमा आम्दानीको दुई गुना खर्च गरेको छ ।
कोषाध्यक्ष विष्णु खरेलले आइतबार मिडियालाई उपलब्ध गराएको विवरणअनुसार गएको एक वर्षमा एनआरएनए युकेले ३२ हजार ९५५ पाउण्ड आम्दानी गरेको छ । जसमा २२ हजार पाउण्ड अन्तर्राष्ट्रिय समन्वय समितिको निर्वाचनमा उठेका उम्मेदवारहरुले ग्लोबल हेल्थ च्यारिटी डिनरमा दिएका थिए । त्यसबाहेकको आम्दानी भनेको १२ हजार ९५५ पाउण्ड मात्र हो ।
उता खर्चतर्फ भने एक वर्षको अवधिमा ५८ हजार ४७२ पाउण्ड खर्च भएको छ । जसमा अल्डरसटमा खोलिएको कार्यालयका लागि मात्र १८ हजार २८ पाउण्ड खर्च गरिएको छ । ग्लोबल हेल्थ कन्फ्रेन्स र च्यारिटीमा ११ हजार ७७ पाउण्ड ३५ पेन्स, एनआरएनए युकेको नयाँ कार्यसमितिले १०० दिन पूरा गरेकोमा ९ हजार १४ पाउण्ड, नयाँ राजदुतको स्वागतमा ३ हजार ३५ पाउण्ड, नयाँ कार्यसमितिको सपथ ग्रहणमा ३ हजार ५३५ पाउण्ड खर्च गरिएको छ ।
यसैगरी, बाढीपीडितका लागि भनेर नेपालमा सुरेन राईको व्यक्तिगत खातामा ६ हजार ११६ पाउण्ड, नेपालका नेताहरु युके आउँदा ट्याक्सी खर्चवापत १ हजार ७८० पाउण्ड, युक्रेन युद्धमा परेका नेपालीहरुलाई सहयोग गर्न एनआरएनए पोल्याण्डलाई २ हजार ६३ पाउण्ड खर्च गरिएको छ ।
यस्तै, नेपालमा पत्रकार नारायण अर्याललाई ६२१ पाउण्ड, प्रथम नौमती बाजा गुल्मीलाई १ हजार ९५० पाउण्ड र प्रोडक्सन थ्रीलाई १ हजार पाउण्ड पैसा खर्च गरिएको छ ।
कोषाध्यक्ष खरेलका अनुसार बितेको एक वर्षमा एनआरएनए युकेमा आम्दानीको पाँच गुणा बढी खर्च भएको छ । उनले कतिपय शीर्षकमा पुष्टी नै नभइकन खर्च गरिएको बताएका छन् । बाढीपीडितको नाममा नेपालमा पैसा पठाइँदा कुनै दर्तावाला संस्थाको नाममा नभई व्यक्तिको नाममा पैसा पठाउनु सन्देहास्पद रहेको बताएका छन् । बाढीपीडितलाई सहयोग हस्तान्तरण कार्यक्रममा त्यतिखेर नेपालमै रहेका एनआरएनए युकेका उपाध्यक्षहरु र कार्यसमितिका सदस्यहरुलाई समेत भाग लिन नदिइएको र सहयोग हस्तान्तरणको कुनै प्रमाणहरु कार्यसमितिमा पेश नगरिएकाले सो खर्च थप शंकास्पद बनेको उनले खुलासा गरेका छन् । ‘वास्तविक बाढीपीडितलाई सहयोग पुग्यो होला भन्ने आशा गरेका छौँ तर त्यसको हालसम्म पुष्टि भएको कुनै प्रमाण आइपुगेको छैन’, उनले भने ।
त्यसैगरी, नेपालमा पत्रकार नारायण अर्यालको नाममा पठाइएको रकमको बारेमा पनि कोषाध्यक्ष खरेलले प्रश्न उठाएका छन् । अर्यालले एनआरएनए युकेका लागि के वापत सो रकम भुक्तानी दिइएको सो बारेमा आफूलाई जानकारी नभएको र अध्यक्षको निर्देशनमा सो रकम निकासा गरेको प्रष्टिकरण उनले दिएका छन् ।
उनले बितेको एक वर्षमा एनआरएनए युकेको खर्च ‘अस्वाभाविक, अनावश्यक र सहनै नसक्ने गरी बढी भएको’ र यसका बारेमा अध्यक्षसित परामर्श गर्दा ‘कहिलेकाहीँ धम्की, वेवास्ता र बहिस्करणमा समेत परेको’ गम्भीर आरोप लगाएका छन् ।
उनले बिल भर्पाइ बिना १२ हजार ५७२ पाउण्ड निकासा गरिएको भन्दै सोको बारेमा अनुसन्धान गर्न लेखा समितिको ध्यानाकर्षण गराएका छन् ।
पुरानो समितिबाट वर्तमान कार्यसमितिले १ लाख ७६ हजार ८३३ पाउण्ड नगद र ५० हजार ६१ पाउण्ड तिर्नुपर्ने हिसाब जिम्मा लिएको उनले जानकारी दिए । तर ४४ हजार ८१६ पाउण्ड पूर्व समितिबाट पाउन बाँकी रहेको पनि उनले बताए । सो रकम नेपाल हाउसका लागि पूर्व कार्यसमितिहरुले उठाएका हुन् ।
यसअघिका एनआरएनए युके कार्यसमितिले आर्थिक घोटाला गरेको आरोप लगाउँदै बेलायतको डार्टफोर्ड अदालतमा मुद्दा दायर गर्ने वर्तमान कार्यसमितिका अध्यक्ष र नेतृत्वले चुनावका बेला आर्थिक पारदर्शिताको नारा दिएका थिए । तर अहिले जुन जोगी आए पनि कानै चिरेको झैँ गरी आफ्नै कोषाध्यक्षको प्रतिवेदनमा आर्थिक अनुशासन र मितव्ययिता नअपनाइएको स्वीकारोक्ती बाहिर आएको छ ।

पूरा रिपोर्ट तल हेर्नुहोस्

प्रतिक्रिया

सम्बन्धित सामाग्री