‘माक्खक् दाजु, च्याब्रुङको यात्रा र डोकोको कथा’

आइत खजुम डोको बुन्दै

धरान छाड्ने बेला उनले भन्दै थिए – ‘हाउ आन्से ! अब अरू भिषा लाएर विदेश जान्छन् । मसँग याङ छैन । अब लागेँ पहाडतिर ।’ आधा दशकअघि उनी ताप्लेजुङको खाम्लुङ उक्लिए । भाउजू एलिसा केदेमको जागिर मिलेछ । डिग्री गरेकी उनले उमावि तहको शिक्षकमा नाम निकालिन् । खाउदेन–२, वसन्तटारका आइत खजुमले मन बाँधेर मिवाखोला र मैवाखोला छिचोल्दै हिमाली जिल्ला रोजे ।
चौबिसेका खजुम बाल्यकालमा पान्थर पनि बसे । दक्षिणी भेगको लिम्बा, दुर्दिम्बा सबै चहारे । आमालाई कलिलो उमेरमै गुमाए । पछि मावली साइनोका कारण सदन रोड छेउको एक जना थेगिम जवेगूको घरमा लामो बसे । उनको टर्निङ प्वाइन्ट भनेकै धरानको बसाइँ रह्यो । दुई दशक धरानमा बस्दा धेरै कुराहरू आत्मसात् गर्न भ्याए । विजयपुर उमाविमा प्लस टुको अध्ययन गर्दागर्दै सङ्गीतमा भिजिसकेका थिए । उनले के मात्रै बजाएनन् । बाजा जति सबै खेलाए । बाँसुरी र मुरली फुके । गितारको स्ट्रिङ तन्काए । मादल घन्काए । हार्मोनियम रगटे । तबला ठोके । तर, एउटा कुरा छुटिरहेको थियोे । च्याब्रुङको नशा ।
५० को दशकमा धरानमा एउटा युवाहरूको गतिलो समूह बन्यो । अहिलेका गायक डिल्ली फोम्वो, नेता ताजुब फालेछुवा लिम्बु, सुरत इवाहाङ र खजुम लगायतका तन्नेरी टोलीले पहाड मधेश खाए । धरानमा के (च्याब्रुङ) र केलाङ (च्याब्रुङ नाच) लाई लोकप्रिय बनाउन धेरै समूहहरूले योगदान दिएका छन् । खासगरी, भोटेपुल, चौकीबारी, राँगा चोक (अहिले रमाइलो चोक) का भेट्रान समूहहरूले महत्वपूर्ण भूमिका खेले । पछि, धेरै कलाकार र अभियन्ताहरू थपिए । यी युवाहरूको समूह पनि च्याब्रुङको इतिहास खोज्न, नाचका प्रकारहरू सिक्न सिकाउन गाउँ गाउँ डुले ।
केलाङ पनि नाच्ने, पास्लाम, हाक्पारे, ख्याली पनि दिने । दोहोरी पनि हान्ने । आधुनिक र फिल्मी गीत पनि गाउने । कम्मर हड्डी सबै मर्काउने । बाजा सबै बजाउने । अनि, चुट्किलाहरूको भण्डार । यति भएपछि फ्यान नकमाउने सवालै उठेन । ‘हामीलाई रुचाएर मेन्छ्या (तरुनी)हरूले पातमा धरी आफ्नो नाम र नम्बर छाडेका छन्,’ समूहमा पछि मिस्सिएका देवेन्द्र थेगिमले सम्झिँदै एकपटक भनेका थिए । यो समूह साँच्चै पपुलर थियो ।
आइत खजुम धरानभन्दा बाहिर पनि टिक्न खोजे । केराबारी र दमकमा फोटो स्टुडियो खोले । चित्र पनि कोर्ने काम गरे । तर, अहँ बन्दै फापेन । फेरि, फिरे धरान । दत्तचित्त भएर च्याब्रुङको इतिवृतान्त खोज्न तल्लीन भए । माक्र्सवादी दर्शनशास्त्रका अनुयायी यिनी प्रगतिशील कम्युनिस्ट आन्दोलनमा लागे । तर, यिनले काल माक्र्सलाई सम्झेर नभई यिनको वर्णका कारण यिनलाई सबैले माक्खक(काले) भने । पछि यहीँ नाम यिनको फुङमिङ(उपनाम) भयो ।

खजुमले डोको बुन्ने प्रतियोगितामा प्रथम भएवापत पाएको प्रमाणपत्र

माक्खक दाजुले ताप्लेजुङको मैवाखोलाका साँगु, ढुङ्गेसाँगु, फाकुम्वा, मिवाखोलाका साँवा, थुक्किम्मा, तमोर खोलाका लेलेप, इखाबु, फुरुम्बु, हाङदेवा, फुङलिङ, नाङखोल्याङ जस्ता याक्थुम्बा लिम्बुका घनाबस्ती छिचोलेका छन् । त्यस्तै, यिनले सङ्खुवासभाका वाना, जलजला, चैनपुर, धनकुटाको चौबिस, तेह्रथुमको फेदाप, छथर, आठराई, पान्थरको यास्सक, पञ्चमी, आङसाराङ, याङ्नामदेखि दार्जिलिङ, सिक्किमको टिम्बुरबुङ, मालबाँसे, लिङ्चोम, कालिम्पोङको डुम्रा वस्ती, देवीथान, पाविङटारसम्म स्थलगत अध्ययन गरेका छन् ।
अध्ययनका क्रममा याक्थुङ बूढापाकाहरू, विशेषगरी च्याब्रुङका जानिफकारहरूसँग सोधीखोजी गरेका छन् । यिनको २०७१ मा ३६६ पेजको पुस्तक निस्कियो – ‘च्याब्रुङको नालीबेली’ । जसलाई धरानमा कुलपति वैरागी काइँलाले लास्सो तेत्नाले सुनपानी छर्केर लोकार्पण गरेका थिए । यिनले अरुणपूर्व लिम्बुवान क्षेत्र डुल्दा च्याब्रुङ बाजाको ताल र नाचबारे अध्ययन गर्ने र त्यसलाई शास्त्रीयकरण गरेर बुझाउने प्रयत्न गरे । ‘प्राचीनकालदेखि नाचिएका नाचहरू र तालहरूलाई बचाउन र जोगाइराख्नका लागि नियम र पद्धतिको विकास गर्नुपर्दछ,’ खजुम भन्छन् । उनले पहिलोपटक यस किताबमा याक्थुङहरूको सभ्यता ‘इम्बिरी याङथाङवा (तम्मर सभ्यता)’ भनेर उद्धृत गरे । अहिले तमोर/तम्मर सभ्यताबारे मुन्धुमी कोणबाट डिस्कोर्स सुरु भइसकेको छ । खासगरी, युमा धर्म र किरात धर्मका अनुयायीहरूबीच यसबारे बहस छ ।
याक्थुङहरूको परम्परागत बाजा च्याब्रुङबारे सम्भवतः अहिलेसम्म निस्किएको एक्लो गतिलो किताब हो खजुमको कृति । आठ वर्ष बितिसक्दा कसैले पनि साहस गरेर समीक्षा लेख्न सकेका छैनन् । पहिलो कारण, च्याब्रुङबारे मुन्धुमी, दार्शनिक र ऐतिहासिक ज्ञानको कमी भएर । दोस्रो, पुस्तकमा मुन्धुम, इतिहासको चर्चा मात्रै नभएर सङ्गीतको नोटेसनको कुरा पनि छ । खजुमले च्याब्रुङलाई ताल बाजाको वर्गमा राखेर अध्ययन गरेका छन् । केलाङलाई उनले अभिनय र अङ्गकाव्यसँग तुलना गरेका छन् । मुन्धुमअनुसार साप्री र लेम्ब्री, कान्देनहाङ र हान्देनहाङको कथा आउँछ । केघिङ तेम्बे अर्थात् पहिलोपटक च्याब्रुङ घर बनाएको प्रसङ्ग आउँछ । केघिङ÷केधिङ तेम्बे हाल ताप्लेजुङ लेलेप–१, माथि साँघु र बतासे गाउँ तल निङखुरी र तागेरा फुक्कु र केही तल तमोर खोला रहेको छ । पहिलो घर बनाउने लोक्फादेम्बा र हाङ्फादेम्बा र उनीहरूकी चेली साक्पेरीपेम्बरीहाङ्मा/खाप्पुरामेल्लहाङ्माको रोचक कथा पनि आउँछ । च्याब्रुङ चाहिँ लेकतिर हो भने साङ्गेसिङ(ढ्याग्रे सल्ला) र बेँसीतिर हो भने हङसिङ(खमारी)को रुख काटेर बनाइन्छ । के/च्याब्रुङको प्रयोग हिमलिङमा/हिमलि:लि (घरपैँचो), तेन्धाम मेखिम (विवाह), याग्राङसिङ/येगेसिङ (धार्मिक अनुष्ठान), तुङदुङगे पूजा, इपुङ/इ:त्(चौतारी), मे?लुङ फुसिङ्मा (साइमुन्द्री र वाग्दात), साँस्कृतिका कार्यक्रमहरूमा गरिँदै आएको छ ।
च्याब्रुङकै कारणले यिनी धरानमा हक्की साँस्कृतिक अभियन्ता पनि भए । भइदियो के भने च्याब्रुङ बजाउन अत्यावश्यक पर्ने सामग्रीमा गोरूको छाला परिदियो । बाजा बनाउन छाला तन्काउनुपर्ने र त्यसमा पनि एकातिर गोरू या गाइको छाला अनिवार्य भएका कारण खजुम त्यसको जोहो गर्न लागे । माओवादी जनयुद्ध चल्दै थियोे । पछि शान्ति प्रक्रियापछि धरानमा पहिलोपटक खजुम, जनकऋषि राई लगायतले गोरू काट्ने प्रचलन सुरु गरे । प्रत्येक मङ्गलबार बिहानै धरानमा गोरू काटेको सुइँको पाएपछि प्रशासनले निगरानी राख्यो । तर, खजुमले चुनौती दिँदै दिनदहाडै भानुचोकमा मोटरसाइकल र्याली गरेर गोरूको टाउको प्रदर्शन गरे । आदिवासी जनजातिको सहर धरानमा यो कुराले ठूलो चर्चा पाएसँगै तरङ्ग ल्यायो । अहिले पनि धरानमा गोरूको मासुको खपत राम्रो छ ।
४५ वर्षीय खजुम दाइ ०६५ मा स्ववियुको सभापति उम्मेदवार पनि उठेका थिए । माओवादीनिकट अखिल क्रान्तिकारीबाट टिकट पाए । धेरैले शानदार ढंगले उनको जितको अपेक्षा गरेका थिए । तर, आफ्नै समुदायका ‘भाइ टोली’ अवरुद्ध गर्न आइपुगे । लिम्बुवानसम्बद्ध विद्यार्थी सङ्गठनहरूले समानुपातिक प्रणालीमा चुनावको माग गरेर अरुणपूर्व आन्दोलन चर्काएपछि यिनको सपना तमोर खोलामा बग्यो । किरात याक्थुङ चुम्लुङबाट यिनी नीतिगत र सैद्धान्तिक कारण देखाउँदै टाढा रहे । सामाजिक र राजनीतिक जीवनलाई थाँती राखेर अधूरो अध्ययन समाते र स्नातकोत्तर पूरा गरे ।

लेखक अमित थेबे ‘मिहाङ’

तर, धरान बसाइँ गाह्रो भयो । एक जना काखे छोरा लिएर ताप्लेजुङ गए । छोरा मुन्धुमहाङलाई याक्थुङ भाषामै बोलाए । तोते लवज र रसिलो पारामा मातृभाषा बोलेको भिडियो भाइरल पनि भयो । अढाई वर्ष नपुग्दै तेल राख्ने ड्रमको च्याब्रुङ भिराएर केलाङ नचाए । सहर र प्रविधिमैत्री पुस्तालाई यो कुराले हृदयबाटै छोयो । तर, खजुमले पहाड छाड्न सकेनन् । बेलाबेला धरान ओहोरदोहोर गरी मात्रै बसे । युमा धर्म, मुन्धुम र दर्शन अनि तम्मोर सभ्यताबारे उनले खाम्लुङबाटै सबैलाई मार्गदर्शन दिइरहेका छन् ।
आइतबार भने उनको चर्चा एकपटक फेरि चुलियो । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ ताप्लेजुङले आयोजना गरेको डोको बुन्ने प्रतियोगितामा सबैलाई उछिन्दै यिनी उत्कृष्ट भए । हेर्दा सामान्य लागे पनि यो कुराले महत्वपूर्ण अर्थ राख्यो । खबर चाल पाएपछि पत्रकार एवम् नेता धीरेन्द्र रुम्दाली र खजुमबीच कुरा भएछ ।
‘डोको बुन्न आउँछ ?’, खजुमले सोधे ।
‘अहँ । खासै जान्दिनँ,’ रुम्दालीले जवाफ दिए ।
‘उसो भने लोक सीप नजान्नेले आइन्दा आदिवासी नभन्नू है ।’ खजुमले इत्रिँदै दाँतमै हाने ।
खजुमले दिनमा एउटा डोको बुन्न रहेछन् । गाउँघरमा राम्रै माग हुने रहेछ । प्लास्टिकका नाङ्लो, डोको, मान्द्रोले चोया र लोक्ताले बन्ने सामग्री विस्थापित हुन खोजेकोमा उनी चिन्तित छन् । डोको बुन्ने प्रतियोगितामा पहिलो पुरस्कार थापेपछि फोन गरेर भने, ‘म खुसी छु । बजारमा बेचेको भन्दा १७ गुणा बढी पैसा पाएँ, ठट्टा गर्न छाडेनन्, ‘बिघ्न भए तीन सय रूपे थाप्थेँ हूँला ।’ हुन पनि उनले पाँच हजार रूपैयाँ र प्रमाणपत्र लिए । अरू बेला पनि उनको हातमा पैसा हुन्न थियोे । डोको, डालो, मान्द्रो, बार बनाएवापत चाहिने सामग्री र वस्तु लिन्थे । अधिकांश समय रासनपानीसँग साट्थे र गर्जो टार्थे ।
सैनिक भवनमा पुस्तक विमोचनका बेला एउटा कुरा भनेका थिए । ‘यो किताब मेरो दशक लामो खोजको केवल २० प्रतिशत मात्रै हो । अरूचाहिँ म लेख्न बसेँ र स्रोत जुटेमा तयार पार्नेछु‘ उनले सम्झिए । यतिबेला चुम्लुङले उनकै किताबलाई स्रोत पुस्तक मानेर प्रदेश नम्बर एकको सामाजिक मन्त्रालयको वित्तीय सहयोगमा केलाङको वृत्तचित्र बनाउँदै छ । खजुम भने गाउँमै बसेका छन् । उहिले स्वर्गीय पुष्प थाम्सुहाङ याङ्नाम गाउँमै बसे र कविता लेखे । सिरिजङ्गा लिपिमा पुस्तक तयार पारे । गायक कुबेर राई इलाममै बसे र गीत गाए । कवि जसराज किराती पनि खोटाङमै बस्न रुचाए र शक्तिशाली सिर्जना गरे । यी माक्खक दाजु गाउँमै बसेर पनि साँस्कृतिक चिन्तनलाई सबैभन्दा उन्नत तहमा लगिरहेका छन् ।
हाल : यूके

प्रतिक्रिया

सम्बन्धित सामाग्री