
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृहमा आज आयोजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले प्रमुखमा निर्वाचित बालेन्द्र साहलाई शपथ गराउनुभयो ।
सो लगत्तै प्रमुख साहले उपप्रमुखमा निर्वाचित सुनिता डङ्गोल, ३२ वटै वडाका वडाध्यक्ष र वडा सदस्यलाई शपथ गराउनुभएको थियो । उपप्रमुख डङ्गोलले नेपाल भाषामा शपथ लिनुभएको थियो । प्रमुख साहले पनि मुख्य निर्वाचन अधिकृतबाट शपथ लिएपछि नेपाल भाषामा शपथको व्यहोरा पढ्नुभएको थियो ।
शपथ ग्रहण समारोहमा प्रमुखमा निर्वाचित साह दौरा सुरुवाल, कोट र भादगाउँले टोपी तथा उपप्रमुख डङ्गोलले हातले बुनेको ढाकाको साडी, चोलोका साथ सहभागी हुनुभएको थियो । समारोहमा नवनिर्वाचित १६० जनप्रतिनिधिलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको थियो ।
प्रमुख साह र उपप्रमुख डङ्गोलले आजै पदवहाली गर्ने कार्यक्रम रहेको छ । सो अवसरमा मुख्य निर्वाचन अधिकृत खतिवडाले जनताले दिएको मतलाई शिरोधार्य गरेर जनताको सेवा गर्न आग्रह गर्नुभयो । गत वैशाख ३० गते सम्पन्न निर्वाचनबाट प्रमुखमा स्वतन्त्र उम्मेदवार साह र उपप्रमुखमा नेकपा (एमाले)का सुनिता डङ्गोल निर्वाचित हुनुभएको थियो । गत वैशाख ३१ गते बिहानदेखि कामपाको मतगणना सुरु गरिएको थियो ।
महानगरको अन्तिम मतपरिणाम गत शुक्रबार मात्रै सार्वजनिक भएको थियो । वडा २४ र २५ मा दलित महिला सदस्यको उम्मेदवारी नै परेन । कामपाको प्रमुख पदमा विभिन्न दल र स्वतन्त्र गरी ५६ र उपप्रमुखमा ३५ जनाको उम्मेदवारी परेको थियो । कामपाको ३२ वडामध्ये १९ वडामा नेपाली कांग्रेस र १२ वडामा एमाले विजयी भएको छ । एक वडामा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ ।
तीन लाख २४२ मतदाता रहेको कामपामा करिब एक लाख ९० हजार ९६२ मत खसेको थियो । सात हजार ६८२ मत पूर्ण बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]