
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृहमा आज आयोजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले प्रमुखमा निर्वाचित बालेन्द्र साहलाई शपथ गराउनुभयो ।
सो लगत्तै प्रमुख साहले उपप्रमुखमा निर्वाचित सुनिता डङ्गोल, ३२ वटै वडाका वडाध्यक्ष र वडा सदस्यलाई शपथ गराउनुभएको थियो । उपप्रमुख डङ्गोलले नेपाल भाषामा शपथ लिनुभएको थियो । प्रमुख साहले पनि मुख्य निर्वाचन अधिकृतबाट शपथ लिएपछि नेपाल भाषामा शपथको व्यहोरा पढ्नुभएको थियो ।
शपथ ग्रहण समारोहमा प्रमुखमा निर्वाचित साह दौरा सुरुवाल, कोट र भादगाउँले टोपी तथा उपप्रमुख डङ्गोलले हातले बुनेको ढाकाको साडी, चोलोका साथ सहभागी हुनुभएको थियो । समारोहमा नवनिर्वाचित १६० जनप्रतिनिधिलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको थियो ।
प्रमुख साह र उपप्रमुख डङ्गोलले आजै पदवहाली गर्ने कार्यक्रम रहेको छ । सो अवसरमा मुख्य निर्वाचन अधिकृत खतिवडाले जनताले दिएको मतलाई शिरोधार्य गरेर जनताको सेवा गर्न आग्रह गर्नुभयो । गत वैशाख ३० गते सम्पन्न निर्वाचनबाट प्रमुखमा स्वतन्त्र उम्मेदवार साह र उपप्रमुखमा नेकपा (एमाले)का सुनिता डङ्गोल निर्वाचित हुनुभएको थियो । गत वैशाख ३१ गते बिहानदेखि कामपाको मतगणना सुरु गरिएको थियो ।
महानगरको अन्तिम मतपरिणाम गत शुक्रबार मात्रै सार्वजनिक भएको थियो । वडा २४ र २५ मा दलित महिला सदस्यको उम्मेदवारी नै परेन । कामपाको प्रमुख पदमा विभिन्न दल र स्वतन्त्र गरी ५६ र उपप्रमुखमा ३५ जनाको उम्मेदवारी परेको थियो । कामपाको ३२ वडामध्ये १९ वडामा नेपाली कांग्रेस र १२ वडामा एमाले विजयी भएको छ । एक वडामा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ ।
तीन लाख २४२ मतदाता रहेको कामपामा करिब एक लाख ९० हजार ९६२ मत खसेको थियो । सात हजार ६८२ मत पूर्ण बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।
ठगीबाट सचेत रहन नेपाली दूतावास लन्डनको आग्रह
बेलायतको बोर्नमथमा क्यान्सर सचेतना कार्यक्रम सम्पन्न
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
नेपालमा प्रतिनिधिसभा निर्वाचन आउन ६४ दिन बाँकी : ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची