
लन्डन । पर्यावरण (इको) साहित्यलाई प्रबर्धन गर्दै आएको विश्व नेपाली साहित्य महासंघ, दक्षिण यूकेले यस वर्ष पनि वातावरण साहित्य गोष्ठी आयोजना गर्ने भएको छ ।
विश्व वातावरण दिवसका अवसर पारेर आगामी जून ५ तारिखमा महासंघले एक दिने वातावरण साहित्य गोष्ठी कार्यक्रम आयोजना गर्न लागेको हो ।
महासंघको शुक्रबार सम्पन्न कार्य समितिको बैठकले जून ५ तारिख आइतबारका दिन सातौँ वातावरण साहित्य गोष्ठी गर्ने निर्णय गरेको अध्यक्ष विजय हितानले बताए ।
सन् २०१६ देखि यूकेमा नियमित रूपमा हुँदै आएको वातावरण गोष्ठीलाई निरन्तरता दिँदै यस वर्ष पनि इको साहित्यका बारेमा चर्चा परिचर्चासहित पर्यायवरणीय सिर्जना वाचन कार्यक्रम राखिने उनले बताए । ‘इको साहित्यलाई थप व्यापक बनाउन हामीले वातावरण साहित्य गोष्ठी गर्दैछौँ । यस वर्ष सातौँ संस्करण भर्चुअल रूपमा जुममा हुँदैछ,’ कार्यक्रम संयोजक समेत रहेका हितानले भने, ‘पर्यावरण साहित्यबारे चर्चा चल्नेछ । त्यस्तै, बेलायत र अन्य मुलुकबाट जम्मा भएका साहित्यकारहरूले इको सिर्जना सुनाउनेछन् ।’
चर्चित कवि एवम् सञ्चारकर्मी विमला तुम्खेवालाई प्रमुख अतिथिका रूपमा गोष्ठीमा निम्त्याइने उनले जनाए । त्यस्तै, पर्यावरण र नारीकेन्द्रित समालोचना पुस्तकका लेखक डा. गीता त्रिपाठी र पर्यावरण साहित्यमा विद्यावारिधि तहमा अध्ययन गर्दै गरेका हरिप्रसाद काफ्लेलाई वक्ताका रूपमा बोलाउने तयारी गरिरहेको हितानले जानकारी दिए ।
सन् १९७४ बाट मनाउन थालिएको विश्व वातावरण दिवस प्रत्येक वर्ष जून ५ मा मनाइन्छ ।
कार्यक्रमका दिन महासंघले तयार पार्दै गरेको आधा दर्जन बढी इको गीतहरूको सार्वजनिकीकरण हुने सचिव अमित थेवेले बताए । उनका अनुसार उपाध्यक्ष समेत रहेका संगीताकार थिर थापा मगरले उक्त परियोजनालाई संयोजन गरिरहको र विश्व वातावरण दिवसका दिन गीतहरू सार्वजनिक गरिने जनाए ।
त्यसैगरी, गत वर्षको जून ५ र ६ मा आयोजित दुई दिने छैटौँ वातावरण साहित्य गोष्ठीमा सहभागी सर्जकहरूमध्ये उत्कृष्ट ठहरिएका दुई जनालाई वातावरण साहित्य पुरस्कार प्रदान गरिनेछ । इको मुक्तक वाचनमा काठमाडौँकी सीता भण्डारी कणेल र संखुवासभा घर भई जापानमा रहेकी सयपत्री थुलुङ उत्कृष्ट मुक्तककार घोषित भएकी थिइन् । उनीहरूलाई जनही दस हजार रूपैयाँ र प्रमाणपत्र समेत प्रदान गरिनेछ । गत वर्ष करिब छ दर्जन बढी सर्जकहरूले इको सिर्जना वाचन गरेका थिए ।
महासंघको बैठकमा सल्लाहकारहरू विश्वासदीप तिगेला, औतारी साइँला गुरुङ, गणेश पुन, सहसचिव लाहाङ चेम्जोङ, मिडिया सचिव विश्वजीत थापाको सहभागिता रहेको थियो ।
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा