बेलायतको स्थानीय चुनावमा एक दर्जन नेपाली उम्मेदवार

लण्डन । बेलायतमा यही मे ५ मा सम्पन्न हुन गइरहेको स्थानीय चुनावको मैदानमा करिब एक दर्जन नेपालीहरु खडा भएका छन् ।
आगामी चार वर्षका लागि चुनिने स्थानीय निकायका प्रतिनिधिहरुका लागि उनीहरु विभिन्न काउन्सिलमा मुख्यत सत्तारुढ कञ्जरभेटिभ पार्टी र प्रमुख प्रतिपक्षी लेबोर पार्टीबाट प्रतिस्पर्धामा उत्रिएका छन् ।
प्रतिस्पर्धामा लण्डन बोरो अफ हाउन्स्लोका वर्तमान मेयर समेत रहेका विष्णुबहादुर गुरुङ पनि काउन्सिलका लागि उत्रिएका छन् । लेबर पार्टीलाई प्रतिनिधित्व गर्दै उनी लण्डनको हाउन्स्लो काउन्सिलको ह्यानवर्थ पार्क वडाबाट उम्मेदवार बनेका हुन् । उनी पूर्व गोरखा सैनिक हुन् ।

बायाँबाट क्रमश जगन्नाथ शर्मा, चित्र राना, जित रानाभाट र भीम सारु


यस्तै, लण्डनभित्रकै अर्को काउन्सिल लण्डन बोरो अफ बार्नेटका पूर्व उपमेयर लक्ष्यबहादुर गुरुङ पनि चुनावमा उठेका छन् । उनी सत्तारुढ कञ्जरभेटिभ पार्टीलाई प्रतिनिधित्व गर्दछन् । उनी एज्वेरबरी वडाबाट उम्मेदवार बनेका छन् । उनी यसअघि पनि काउन्सिलर थिए । उनी पनि पूर्व गोरखा सैनिक हुन् ।
गुरुङ उम्मेदवार रहेको काउन्सिलमै तर विपक्षी लेबर पार्टीका तर्फबाट अर्का पूर्व गोरखा सैनिक कमल गुरुङ उम्मेदवार बनेका छन् । उनी उठेको वडा पनि लक्ष्यबहादुरको भन्दा फरक छ । कमल ब्रन्टोक वडाबाट उठेका छन् ।
नेपालीहरुको उल्लेख्य बसोबास रहेको रसमुर काउन्सिलको चेरिउड वडामा श्रीमती सुमन पुन उम्मेदवार बनेकी छिन् । कञ्जरभेटिभ पार्टीकी उम्मेदवार पुन गोरखा भूतपूर्व सैनिककी श्रीमती हुन् । उनी बेलायतमा विभिन्न व्यवसायमा आवद्ध पनि छिन् । यदि निर्वाचनमा विजय हासिल गरेमा उनी बेलायतमा निर्वाचित हुने नेपाली मूलकी दोस्रो महिला काउन्सिलर हुनेछिन् । यसअघि सन् २०१५ मा स्वान्ली टाउन काउन्सिलमा लक्ष्मी गैरे काउन्सिलर भएकी थिइन् ।
दक्षिणपूर्वी लण्डनस्थित ग्रीनीच काउन्सिलमा नेपालीहरुको निकै बाक्लो बस्ती छ । सो क्षेत्रबाट लेबर पार्टीले जीत रानाभाटलाई उम्मेदवार बनाएको छ । स्थानीय नेपाली कम्युनिटी रोयल ग्रीनीच नेपाली कम्युनिटीका अध्यक्ष समेत रहेका उनी प्लमस्टिड एण्ड ग्लेण्डन वडाबाट काउन्सिलरको उम्मेदवार बनेका छन् ।
लण्डनभन्दा अलिकति बाहिर रहेको वाटफोर्ड काउन्सिलमा सञ्जय पन्त कञ्जरभेटिभ पार्टीबाट उम्मेदवार बनेका छन् । उनी होलीवेल वडाबाट उठेका छन् ।
लण्डनबाहिर नेपालीहरुको बाक्लो बस्ती रहेको क्षेत्रमध्ये वोकिङमा पूर्व गोरखा मेजर चित्रबहादुर राना चौथोपटक काउन्सिलरको उम्मेदवार बनेका छन् । राना गोल्डसवर्थ पार्क वडाबाट उठेका छन् । सन् २०१५ मा पहिलोपटक काउन्सिलर बनेका राना सन् २०१६ र २०१८ मा काउन्सिलरमा निर्वाचित भएका थिए । उनी पनि कञ्जरभेटिभ पार्टीबाटै उम्मेदवार छन् ।
नेपालीहरुको बाक्लो बसोबास रहेको अर्को क्षेत्र स्वीण्डनमा पनि ज्ञानप्रसाद गुरुङ काउन्सिलरको उम्मेदवार बनेका छन् । स्थानीय नेपाली कम्युनिटीका अध्यक्षसमेत रहेका गुरुङ कञ्जरभेटिभ पार्टीका तर्फबाट बनेका उनी पनि पूर्व गोरखा सैनिक हुन् । म्यानिङटन एण्ड वेस्टर्न वडाबाट उनी उठेका छन् ।

बायाँबाट क्रमश कमल गुरुङ, लक्ष्य गुरुङ, विष्णु गुरुङ र सुमन पुन


मिडल्याण्डमा नेपालीहरुको बाक्लो बसोबास रहेको क्षेत्र ननिटनमा पनि पूर्व गोरखा सैनिक भीम सारु काउन्सिलरको उम्मेदवार बनेका छन् । स्थानीय ब्रिटिश गोरखा भेट्रान्स एसोसिएसनका उपाध्यक्ष रहेका उनी लेबर पार्टीका तर्फबाट वेडवर्थ एण्ड ननिटल काउन्सिलको बारपुल वडाबाट उम्मेदवार बनेका छन् ।
मिडल्याण्डमै गोरखा सैनिकहरुको बसोबास रहेको क्याट्रिक क्षेत्रको कोलवर्न टाउन काउन्सिलमा डा जगन्नाथ शर्मा पुन काउन्सिलरको उम्मेदवार बनेका छन् । उनी सत्तारुढ कञ्जरभेटिभ पार्टीबाटै हिप्सबेल एण्ड कोल्बर्न वडाबाट काउन्सिलरको उम्मेदवार बनेका छन् । उनी सन् २०१३ देखि काउन्सिलर रहेका छन् भने सन् २०१४ मा उपमेयर र सन् २०१९ मा मेयर पनि भएका थिए ।
बेलायतमा नेपालीहरुको स्थायी बसोबास बढेसँगै यहाँको राजनीतिमा उनीहरुको सहभागिता बढ्दो छ । सन् २००७ मा पहिलोपटक धन गुरुङ फोल्कस्टोन काउन्सिलमा काउन्सिलर भएका थिए । यस्तै, सन् २०१६ मा स्वान्ली टाउन काउन्सिलमा शंकर गैरे पहिलोपटक मेयर बनेका थिए । सन् २०१७ मा भएको संसदीय आमचुनावमा बच्चुकैलाश कैनी डार्टफोर्ट क्षेत्रबाट संसदको उम्मेदवार बनेका थिए ।
इङल्याण्डमा पाँच प्रकारका स्थानीय निकायहरु छन् । जसमा काउण्टी काउन्सिल, डिस्ट्रिक्ट काउन्सिल, युनिटरी काउन्सिल, लण्डन बोरो काउन्सिल र मेट्रोपोलिटन काउन्सिल छन् । इङल्याण्डभित्र २५ काउण्टी काउन्सिल, १८८ डिस्ट्रिक्ट काउन्सिल, ५६ युनिटरी काउन्सिल, लण्डनभित्र ३३ वटा काउन्सिलहरु रहेका छन् । वेल्समा २२ वटा युनिटरी काउन्सिल, उत्तरी आयरल्याण्डमा ११ वटा काउन्सिल, स्कटल्याण्डमा ३२ वटा काउन्सिल छन् ।
हाल निर्वाचन भइरहेका बाहेक अन्य काउन्सिलमा पनि नेपाली मूलका काउन्सिलरहरु कार्यरत छन् । जसमा मेडिस्टोनमा दिनेश खड्का, डकोरममा गोबद्र्धन सिलवाल, फोल्कस्टोनमा नविन सिवा, रसमुरमा प्रवेश केसी, जीव बेल्बासे र नेम थापा, ब्राकनेलमा राम लिम्बु लगायत पनि काउन्सिलर पदमा बहाल छन् ।

संजय पन्त र ज्ञान प्रसाद गुरुङ

नरेश खपाङ्गीमगर

खपाङ्गीमगर वीनेपाली डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री