काठमाडौँ । सरकारले चीनसँगका व्यापारिक नाका यथाशक्य चाँडो निर्वाधनरूपमा सञ्चालन गर्न अथक प्रयास गरिरहेको बताउँदै मालबाहक सवारीसाधनको सङ्ख्या बढाउनका लागि चिनियाँ पक्षसँग कूटनीतिक प्रयत्न भइरहेको स्पष्ट गरेको छ ।
चीनसँगका व्यापारिक नाका निर्वाध ढङ्गले सञ्चालन नहुँदा मुुलुकलाई आर्थिकरूपमा अप्ठ्यारो परेको तथा निर्यात ठप्प प्रायः हुँदा जटिलता थपिएकाले समस्याको शीघ्र निकासका निम्ति सरकारले बेइजिङसँग बारम्बार अनुरोध गरेको हो ।
चीनका विदेशमन्त्री वाङ यीसँगको टेलिफोन वार्ता तथा अन्य चिनियाँ अधिकारी र नेपालका लागि चिनियाँ राजदूतलाई आफूले व्यापारिक नाकाको प्रभावकारी सञ्चालनका निम्ति अनुरोध गरेको परराष्ट्रमन्त्री डा नारायण खड्काले बताउनुभएको छ ।
छ महिनाअघि परराष्ट्र मन्त्रालयको कार्यभार सम्हाल्नुभएका मन्त्री खड्काले यो अवधिमा आफूले गरेका कामबारे जानकारी दिन पहिलोपटक आज आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा नेपालको आग्रहलाई चीनले स्वीकार गरेर व्यापारिक नाकामा उत्पन्न समस्या समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कोभिड–१९ को महामारीका कारण चीनसँगका प्रमुख व्यापारिक नाकामा केही समस्या भएको र त्यसलाई समाधान गर्न चीनले सकारात्मक जवाफ दिएको बताउँदै उहाँले भन्नुभयो, “निर्वाधरूपमा आयात/निर्यातको प्रक्रियागत तहमा सञ्चार र समन्वयका लागि दुई देशका स्थानीय अधिकारीबीच प्रत्यक्ष सम्पर्क स्थापना गरिएको छ ।”
गोर्खालगायत सीमा क्षेत्रमा खाद्यान्न आपूर्तिमा सहयोग गर्न तथा नेपाली विद्यार्थीलाई पुनः चीन फर्कने वातावरण बनाउन पनि आफूले सबै उच्चस्तरीय भेटवार्तामा चिनियाँ पक्षलाई अनुरोध गरेको मन्त्री खड्काले जानकारी दिनुभयो ।
समस्याको निकास वार्ता, शान्त कूटनीति
वर्तमान सरकारका न्यूनतम साझा कार्यक्रममा उल्लेख भएअनुसार कालापानी, लिपुलेक र लिम्पियाधुरालगायत सिमानासम्बन्धी भारतसँगका सबै समस्या वार्ताको माध्यमबाट समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । “त्यस निम्ति हामीले शान्त कूटनीति अवलम्बन गरेका छौँ,” परराष्ट्रमन्त्रीले भन्नुभयो ।
भारतसँगको घनिष्ठ एवं सहकार्यात्मक सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन आफू लागिपरेको बताउँदै उहाँले उच्चस्तरीय भ्रमणमा पनि उक्त विषयलाई प्राथमिकताका साथ नेपालले उठाइरहेको र भविष्यमा पनि त्यसलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
राजदूत नियुक्तिमा विलम्ब नहुने
सरकारले राजदूत नियुक्तिको प्रक्रिया प्रारम्भ गरेको तथा बेलायत र अमेरिकाका लागि राजदूत नियुक्त भइसकेका, बाँकी देशहरूमा पनि चाँडै नियुक्ति गरिने बताउँदै परराष्ट्रमन्त्रीले परराष्ट्र सेवाबाट कम्तीमा पचास प्रतिशत राजदूत नियुक्ति गर्ने मन्त्रालयको नीतिप्रति आफू प्रतिबद्ध रहेको स्पष्ट गर्नुभयो ।
सत्ता साझेदार राजनीतिक दलका महाधिवेशन तथा अन्य कारणले सबै देशमा एकैपटक राजदूत नियुक्तिका निम्ति सिफारिस गर्न नसकिएको पनि उहाँले बताउनुभयो । अब राजदूत नियुक्तिको सिफारिसमा विलम्ब नहुने पनि मन्त्री खड्काले बताउनुभयो ।
युक्रेन सङ्कटः शक्ति प्रयोगको प्रतिवाद
संवाद र कूटनीतिक माध्यमबाट युक्रेन सङ्कटको समाधान खोजिनुपर्ने, त्यहाँ थप तनाव नबढाउन र सबैपक्षलाई अधिकतम संयमता अपनाउन नेपालले आग्रह गरेको स्मरण गराउँदै परराष्ट्रमन्त्रीले कुनै पनि परिस्थितिमा सार्वभौमसत्ता सम्पन्न मुलुकविरुद्ध हुने शक्तिको प्रयोगको नेपालले प्रतिवाद गरेको बताउनुभयो । उहाँले कूटनीति र संवादबाट विवादको शान्तिपूर्ण समाधान हुनुपर्ने नेपालको अडान दोहो¥याउनुभयो ।
युक्रेनबाट नेपालीको उद्धार
युक्रेनबाट ५३३ जना नेपाली सुरक्षित गन्तव्यमा पुगेका जानकारी दिँदै मन्त्री खड्काले उद्धारका निम्ति युक्रेनका लागि सहप्रमाणिकृत बर्लिनस्थित नेपाली राजदूतावास र मस्कोस्थित नेपाली राजदूतावासलाई परिचालन गरिएको जानकारी दिनुभयो ।
युक्रेनबाट बाहिर निस्केकाहरूलाई भारत सरकारबाट सञ्चालित उडानमार्फत ल्याउन बर्लिनस्थित नेपाली दूतावासबाट आवश्यक समन्वय भइरहेको पनि उहाँले बताउनुभयो ।
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई
नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : के के विषयमा भयो छलफल ?
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम तयारी तीव्र
अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
प्रधानमन्त्रीको अभिव्यक्ति ‘सीमा वारपारको जग्गा भोगाधिकार’सँग सम्बन्धित छ: परराष्ट्र मन्त्रालय
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ