बेलायतले युक्रेनबाट विस्थापित करिब १ लाख मानिसलाई आश्रय दिने

युक्रेन छाड्नेको ताँती (Photo by Daniel MIHAILESCU / AFP) (Photo by DANIEL MIHAILESCU/AFP via Getty Images)

लण्डन । बेलायतले युक्रेनमा रसियाको आक्रमणबाट विस्थापित करिब १ लाख मानिसहरुलाई आश्रय दिने भएको छ ।

बेलायतका गृह मन्त्री प्रीति पटेलले सोमबार सो घोषणा गरेकी हुन् । उनले युक्रेनबाट विस्थापितहरुलाई बेलायत आउनका लागि अध्यागमन नियमहरुलाई खुकुलो बनाइएको पनि जानकारी दिएकी छिन् ।

उनका अनुसार बेलायतको आवासीय अधिकार पाइसकेका युक्रेनीहरुको नजिकका नातेदारहरुलाई बेलायत आउन दिइनेछ । जसमा बेलायतको आवासीय अधिकार पाएका मानिसहरुको श्रीमान/श्रीमती, अविवाहित भए दुई वर्षदेखिको पार्टनर, छोराछोरी (कम्तीमा एकजना १८ वर्ष मुनीको हुनुपर्ने), अभिभावकहरु तथा हेरचाहकर्ताहरु रहेका छन् ।

यसरी बेलायत आउन चाहनेहरुले बायोमेट्रिक र सुरक्षा जाँच भने पास गर्नुपर्ने पटेलले बताएकी छिन् । बेलायतमा अतिवादीहरु छिर्न सक्ने सूचना पाएका कारण बेलायती नागरिकहरुलाई सुरक्षित राख्न पनि यसो गर्नुपरेको उनको तर्क छ । यद्यपि सत्तारुढ कन्जरभेटिभ पार्टीकै सांसदहरुले बेलायत आउने प्रक्रिया सजिलो बनाउन दबाब दिइरहेका छन् ।

शरणार्थीसित काम गरिरहेका अभियन्ताहरुले भने बेलायतले युक्रेनको द्वन्द्वबाट प्रभावितहरुलाई आश्रय दिन अझै कठोर नीति अपनाएको आरोप लगाएका छन् ।

हालसम्म युक्रेनबाट करिब ४ लाख मानिस विस्थापित भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री