लण्डन । लण्डनको हिलिङडन अस्पताल एनएचएस ट्रष्टले ट्रष्टमा समानता, विविधता र समावेशिताको सन्देश दिन शुक्रबार ‘नेपाल डे’ मनाएको छ ।
अस्पतालले गत नोभेम्बरदेखि हरेक महिना एक/एक समुदायका लागि विशेष दिनका रुपमा मनाउन शुरु गरेकोमा फेब्रुअरी महिना नेपालका लागि छुट्याइएको थियो । ‘नेपाल डे’का लागि अस्पतालमा हालै गठित नेपाली कर्मचारीहरुको समूहले उल्लेख्य सहयोग गरेको ट्रष्टले सामाजिक सन्जालमा बताएको छ ।
दिउँसाे १२ बजेदेखि साढे २ बजेसम्म अस्पतालमा विशेष कार्यक्रम भएको थियो । जसमा अस्पतालको क्याटरिङले मम लगायतको नेपाली खाना तयार गरेको थियो जो आधा घण्टामै सकिएको थियो । म:म: लगायतका नेपाली खाना तयार गर्नका लागि सो अस्पतालमा कार्यरत रस्मिता दर्लामीले मास्टरसेफका विजेता सन्तोष साहको कुकबुक क्याटरिङका सेफलाई प्रदान गरेकी थिइन् । त्यस्तै, अस्पतालमा कार्यरत नेपाली कर्मचारीहरुले मिनी नेपालको झल्को दिने गरी बुद्धको मूर्तिका साथै ध्वजा, तोरणहरुले उनीहरुका लागि छुट्याइएको स्थान सजाएका थिए भने नेपाली मौलिक सामग्रीहरु खुकुरी, नाङ्लो, डालो, तोङ्बा लगायतका सामग्रीहरु प्रदर्शन गरेका थिए । यसका साथै नेपालको पर्वतारोहण, पर्यटन, सँस्कृति, जनजीवन, गोरखा सैनिक सम्बन्धी समेटिएका पोष्टरहरु पनि प्रदर्शन गरेका थिए ।
अस्पतालमा कार्यरत नेपाली कर्मचारीहरु नेपालको परम्परागत पोशाकमा उपस्थित भएका थिए । कसैले दौरा सुरुवाल टोपी लगाएका थिए भने कसैले जातीय पोशाक ।
अस्पताल परिसरमा बज्ने रेडियोमा पनि एक घण्टाका लागि नेपाली गीत बजाइएको थियो ।
कार्यक्रमको शुरुवात नेपाली राष्ट्रिय गानबाट भएको थियो । प्रवासमा रहेको कार्यथलोमा छातीमा हात राखेर राष्ट्रिय गान गाइरहँदा अस्पतालमा कार्यरत नेपाली कर्मचारीहरु राष्ट्रिय भावना भावुक पनि भएका थिए । अस्पतालमा कार्यरत सर्जिकल वार्ड म्यानेजर रस्मिता दर्लामी भन्छिन्, ‘राष्ट्रिय गान गाइरहँदा देशप्रेमको भावनाले मन भावुक बनायो ।’
विदेशमा पनि नेपाललाई यसरी चिनाउन पाउँदा मातृभूमिको भावनाले हृदय भरिएर आएको उनले बताइन् । उनका साथै अस्पतालमा कार्यरत अन्य नेपाली कर्मचारीहरु पनि नेपाली भएकोमा गर्व महसुस गरेका थिए । यो कार्यक्रमको उद्देश्य पनि विभिन्न समुदायका कर्मचारीहरुलाई आफ्नो समुदायप्रति गौरव जगाउनु थियो ।
‘नेपाल डे’को प्रदर्शनीलाई अस्पतालमा कार्यरत अरु देशका कर्मचारीहरुले पनि चासो राखेका थिए । उनीहरु नेपालीहरुले सजाएको स्थलमा आएर विभिन्न जिज्ञासा राखेका थिए भने नेपाली कर्मचारीहरु उनीहरुको कौतुहलतालाई समाधान गर्न पाएकोमा हर्षित देखिन्थे ।
हिलिङडन एनएचएस ट्रष्टले ‘नेपाल डे’को तस्वीरलाई आफ्नो सामाजिक संजालमा पनि राखेको छ भने नेपाली कर्मचारीहरुको एकताका साथै स्टल र प्रस्तुति अत्यन्तै राम्रो भएको बताएका छन् ।
अस्पतालमा १०० भन्दा बढी नेपाली कर्मचारी कार्यरत छन् भने नेपाललगायत ७८ देशका कर्मचारीहरु सो अस्पतालमा कार्यरत छन् ।
नेपाल डे सफल पार्न दर्लामीका साथै मणि तामाङ, लीला भण्डारी, अंजना गुरुङलगायतका दर्जनौँ कर्मचारीहरुले सक्रियता देखाएका थिए ।
तस्वीरहरु: हिलिङडन एनएचएस ट्रष्ट
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा