सगरमाथा चढ्दै नायिका दीया पुन

लण्डन । नायिका दीया पुनले अप्रिल महिनामा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएकी छिन् ।
यसअघि ८ हजार १६३ मिटर अग्लो मनासलु हिमाल चढिसकेकी उनले निजी खर्चमा सगरमाथा आरोहण गर्न जान लागेको बताइन् ।
हङकङमा जन्मेर गोरखा सैनिक पिताको जागिरसँगै कहिले नेपाल, कहिले ब्रुनाइ हुँदै सन् २००० देखि बेलायतमा बसोबास गर्दै आएकी पुनको हिमाल चढ्ने रहर भने सन् २०१८ बाट शुरु भएको हो । त्यो वर्ष उनले अर्जेण्टिनाको ६ हजार ९६१ मिटर अग्लो माउण्ट अकोनकागुवा चढिन्। त्यसयता हरेक वर्ष एउटा हिमाल चढ्ने उनको योजना थियो तर कोभिड महामारीका कारण रसियाको सबैभन्दा अग्लो हिमाल इल्ब्रस र अफ्रिकाको सबैभन्दा अग्लो माउण्ट किलिमञ्जारो चढ्ने योजना भने अधूरै रह्यो ।
सन् २०२२ मा सगरमाथा चढ्ने उनको पुरानै योजना हो तर कोभिड महामारीका बेला बेलायतको कोलचेष्टर अस्पतालमा नर्सका रुपमा कार्यरत रहँदा उनले बिरामीको मात्र होइन धेरै सहकर्मीको मानसिक स्वास्थ्य स्थितिलाई नजिकबाट नियाल्न पाइन् । त्यसैले सगरमाथा आरोहण यात्रालाई उनले आफ्नो व्यक्तिगत सौख पूरा गर्न मात्र होइन नर्सहरुको मानसिक स्वास्थ्यसित पनि जोडेकी छिन् ।
उनले सगरमाथा आरोहणमार्फत तीनवटा च्यारिटीका लागि सहयोग संकलन गर्ने भएकी छिन् । जसमा बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) च्यारिटी टुगेदर, उनी कार्यरत कोलचेष्टर अस्पताल च्यारिटी र नेपालमा रहेको चिल्ड्रेन एण्ड युथ फर्स्ट रहेका छन् । ती संस्थाहरुलाई सहयोग संकलन लागि उनले गोफण्डमीमा अलग-अलग पेज पनि बनाइसकेकी छिन् ।
“कोभिडका बेलामा धेरै नर्सहरुको मानसिक स्वास्थ्यमा असर पर्यो । कतिले अर्कै पेशा रोजेको पनि देखेँ । त्यसैले सगरमाथा चढ्दा आफ्नो व्यक्तिगत इच्छा मात्र पूरा नगरेर सहकर्मीहरुका लागि केही सहयोग गरौँ भन्ने उद्देश्य राखेको हुँ” उनले भनिन् ।
सगरमाथा आरोहणको लागि नेपालमा रहेको इलाइट एक्सपीडिसन्सले आवश्यक प्रक्रियाहरु पूरा गरिसकेको उनले बताइन् । यो कीर्तिमानी आरोही निर्मल पुर्जाको कम्पनी हो ।
आफ्नो आरोहणमा लाग्ने सबै खर्च आफैँले ब्यहोर्ने उनले बताइन् । “अहिलेसम्म मेरो आरोहणमा कुनै प्रायोजक छैन । म आफैँले सबै खर्च तिर्ने योजना बनाएको छु तर यसबीचमा कोही प्रायोजक आउनुहुन्छ भने पनि स्वागत छ”, उनले भनिन् ।
हिमाल चढ्ने रहर सस्तो कहाँ छ र ? रोयल्टीमात्र हजारौँ डलर पर्छ । त्यस्तै आवश्यक उपकरण र लगाउने लुगा, जुत्ता आदिको खर्च बेग्लै । गाइड र सहयोगीलाई अलग्गै खर्च । यतिधेरै खर्च उनले कसरी जुटाइन् त ? उनलाई सोधियो । “कोरोना शुरु भएदेखि दुईवर्ष म कतै गएको छुइनँ । त्यसैले मैले कमाएको पैसा वचत भएको छ । म त्यही वचत खर्च गर्नेछु”, उनले भनिन् ।

नेपाल जाँदा बाबासित बज्यै भेट्न म्याग्दी शिख गइरहने दीयालाई गाउँघर प्यारो लाग्थ्यो । बेलायतजस्तो विकसित मुलुकमा आइपुग्दा पनि उनलाई शहरको कोलाहल होइन गाउँको शान्त जीवन नै आफ्नो लाग्छ । शायद त्यही स्वभावले होला उनलाई प्रकृति र पर्वतले तानेको । “मलाई कलेज पढ्दा ट्राभल गर्ने रहर जागेको थियो तर पढाइ र करियरलाई प्राथमिकतामा राख्दा त्यो रहर पूरा गर्न पाइनँ” उनले भनिन् ।

पढाइ सकेपछि काम शुरु भयो । घरदेखि काम, कामदेखि घरको दैनिकीले फेरि दिक्दार लाग्न पनि शुरु भयो । त्यो दिक्दारीलाई हटाउन उनी अन्नपूर्ण वेस क्याम्पको यात्रामा गइन् । त्यो यात्राले उनलाई पुनर्ताजगी मात्र दिएन अनौठो किसिमको आनन्द पनि दियो ।
यसरी आनन्दको खोजीमा उनले अर्जेण्टिनाको हिमाल र नेपालकै मनासलुकाे चुचुरो समेत टेक्न पुगिन् । हिमाल चढेपछिको आनन्दका बारेमा उनी भन्छिन्, “शुरुमा सक्दिनँ होला जस्तो लाग्छ तर शिखरमा पुगेपछि प्राप्त हुने सुख वर्णन गर्न सकिँदैन ।”
मनासलु हिमाल आरोहणका बारेमा पनि अर्कै कथा छ । सन् २०१६ मा ‘मन्त्र’ चलचित्रको छायाँकनका लागि उनी गोरखाको सामागाउँ पुगेकी थिइन् । मनासलुको काखमा रहेको त्यो गाउँ पुग्दा उनले कहिल्यै त्यो हिमाल चढिएला भनेर सोचेकी पनि थिइनन् । सुटिङ हुँदै गर्दा ‘मनासलु हिमाल चढ्न जापानी टोली आएको छ रे’ भन्ने हल्ला सुन्दा पनि उनलाई कुनै वास्ता थिएन । तर सन् २०१९ मा उनी कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्सदाइ) को टोलीमा सामेल भएर मनासलु चढेर आइन् ।
वीरविक्रम, मिस्टर झोले, ह्याप्पी डेज, दयारानी, मन्त्र लगायतका फिल्ममा अभिनय गरिसकेकी उनलाई सोधियो, “भविष्यमा पर्वतारोहणलाई पेशा बनाउने सोच पो छ कि ?” जवाफमा उनले भनिन्, “पर्वतारोहण मेरो सौख मात्र हो ।”
विश्वकै सर्वोच्च शिखर चढिसकेपछि चढ्न बाँकी के रह्यो र ? के त्यसपछि उनको पर्वतारोहणको यात्रा रोकिन्छ त ? “रोकिँदैन । सातवटै महादेशका हिमाल चढ्ने मेरो इच्छा छ। वर्षको एउटा हिमाल चढिरहन्छु”, उनले भनिन् ।
नर्सको पेशा, अभिनय र पर्वतारोहणको सौख । हालसम्म तीनवटै कुरा सन्तुलनमा चलिरहेको र तीन वटै विधालाई एकसाथ बढाउने उनको योजना छ ।

xxx

विश्वमा सबैभन्दा कोभिडग्रस्त मुलुकमध्ये एक बेलायतमा महामारीको समयमा नर्सको रुपमा सेवा गरेकी दीयालाई सोधियो, कोभिडको अनुभव कस्तो रह्यो ? उनको जवाफ थियो, “त्यतिबेला केही सूचना नै थिएन । बिरामीलाई स्याहार गर्ने नर्सहरु नै शारीरिक र मानसिक रुपमा तनावग्रस्त र थकित थिए । यस्तो त अब कहिल्यै नहोस् ।”

दीयालाई सहयोग गर्न इच्छुक महानुभावहरुले 

यदि चिल्ड्रेन एण्ड युथ फर्स्टका लागि सहयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लीक गर्नुहोस् 

यदि एनएचएस च्यारिटी टुगेदरलाई सहयोग गर्न चाहनुहुन्छ भने  यहाँ क्लीक गर्नुहोस् 

यदि कोलचेष्टर अस्पताललाई सहयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लीक गर्नुहोस् 

 

नरेश खपाङ्गीमगर

खपाङ्गीमगर वीनेपाली डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री